रोहिंज्याविरुद्ध घृणा फैलाउने सामग्री फेसबुकमा बाँकी

तस्बिर स्रोत, Getty Images
पछिल्लो साता रोहिंज्या मुसलमानविरोधी सयौँ सामग्रीहरू फेसबुकमा देखा परेका र तिनलाई नियन्त्रण गर्न उक्त सामाजिक सञ्जाल चुकिरहेको समाचार संस्था रोएटर्सले जनाएको छ।
म्यानमारको रोहिंज्या समूहविरुद्ध हिंसा प्रोत्साहन गर्ने सामग्री नियन्त्रण गर्ने प्रतिबद्धता फेसबुकले जनाएको भए पनि त्यस्ता सामग्रीहरू प्रेषित गर्न फेसबुकको प्रयोग भइरहेको उक्त समाचार संस्थाको अनुसन्धानले देखाएको छ।
केही सामग्रीहरू छ वर्ष पुराना भएको बताइएको छ।
फेसबुकको नियमानुसार कुनै पनि जातीय समूहमाथि 'हिंसक र अमानवीय' आक्रमण गर्न पाइँदैन।
अनुसन्धान
क्यालिफोर्नियाको बर्कले स्कूल अफ लको मानवाधिकार केन्द्र र रोएटर्सले संयुक्त रूपमा गरेको अनुसन्धानको परिणामले समस्या समाधानका लागि फेसबुकमाथि चुनौती थपिएको बताइएको छ।
यसअघि संयुक्त राज्य अमेरिका र ब्रिटेनले फेसबुकको कार्यशैलीको आलोचना गरेका थिए।

तस्बिर स्रोत, Getty Images
अनुसन्धानमा संलग्न रोएटर्सले फेसबुकमा देखिएका अधिकांश रोहिंज्या विरोधी सामग्रीहरू बर्मेली भाषामा रहेको बताएको छ।
ती सामग्रीहरूमा रोहिंज्या नागरिकलाई गोली हान्न, आगो लगाउन र सुँगुरलाई खान दिन आग्रह गरिएको छ। केहीमा मुसलमानविरोधी अश्लील तस्बिरहरू पनि छन्।
नरसंहारलाई प्रोत्साहन दिँदै एक जनाले लेखेका छन्, "हिटलरले यहुदीलाई गरे जसरी हामी उनीहरूसँग लड्नुपर्छ।"
केही सामग्रीमा रोहिंज्या समूहलाई कुकुर, औँसा र बलात्कारी भनिएको छ।
कडाइ
बर्मेली सैनिक र भिजिलान्तेहरूले आफ्नो समुदायका मानिसहरूको हत्या गरेको र धेरैलाई बलात्कार गरेको रोहिंज्याहरूले बताएका छन्।
सन् २०१७ पछि झन्डै सात लाख रोहिंज्या मुसलमानहरूले म्यानमार छोडेको बताइन्छ। तीमध्ये अधिकांश मानिसहरू बाङ्ग्लादेशको शरणार्थी शिविरमा बस्दै आएका छन्।
फेसबुकले आफ्नो एउटा विज्ञप्तिमा भनेको छ, "पहिलोपटक इन्टर्नेट प्रयोग गर्नेको सङ्ख्या धेरै भएको म्यानमारजस्तो देशमा हिंसा फैलाउने भाषण वा सामग्रीहरू भेटाउन सुरुसुरुमा समस्या भएको हो।"
उसले घृणा फैलाउने अभिव्यक्तिहरू पहिचान गर्नमा पहिला सुस्तता भएको स्वीकार गरेको छ।

तस्बिर स्रोत, Getty Images








