कोरोना भाइरस नेपाल: 'लामो समय निको नहुने' दीर्घ कोभिड-१९ को लक्षण देखिएका एक नेपालीको अनुभूति

तस्बिर स्रोत, Reuters
- Author, संजीव गिरी
- Role, बीबीसी न्यूज नेपाली
पन्ध्र वर्षदेखि काठमाण्डू बस्दै आएका निमा राना (नाम परिवर्तन) लाई असोज ५ गते स्वास्थ्यमा समस्या देखियो।
उनले सामान्य भाइरल खोकीका रूपमा लिए र घरमै बसे तर खोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या एवम् छाती, टाउको र शरीर दुख्ने समस्या कम नभएपछि उनले असोज ९ गते पीसीआर परीक्षण गरे।
काठमाण्डूस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट पीसीआर परीक्षणको रिपोर्ट भोलिपल्ट आयो। उनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भयो।
असोज ११ गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका उनलााई असोज १९ गते भाइरसमुक्त प्रमाणित गरियो। उनी घर फर्किए।
तर उनको त्यो उत्साह धेरै दिन कायम रहेन।
"केही सहज त भएको छ तर अहिले पनि थकान, सास फेर्ने गाह्रो हुने, सुक्खा खोकी र छाती दुख्ने जस्ता समस्या कायमै छ," बीबीसीसँगको कुराकानीका क्रममा ४६ वर्षीय रानाले भने। "सुधार अत्यन्तै कम छ।"

तस्बिर स्रोत, RSS
कोरोनाभाइरस सङ्क्रमणबाट निको भएर घर फर्किसकेका बिरामीमा देखिने यस्ता किसिमका दीर्घ समस्यालाई 'लङ कोभिड' भनिने गरेको चिकित्सकहरू बताउँछन्।
सबै ठिक भए जस्तो अनुभूति भइरहेका बेला यस्तो किसिमको समस्या एकाएक आउने उनी बताउँछन्।
चिकित्सकहरूले उनलाई छिटोमा दुईदेखि तीन हप्ता र ढिलामा तीन महिनासम्ममा निको हुने बताएका छन्।
तर यकिनका साथ त्यस्तो भन्न सक्ने अवस्था नरहेको विवरण सार्वजनिक भइरहेका छन्।
समस्या कम नभएपछि पछिल्लो पटक मङ्गलवार उनले अस्पताल पुगेर छाती र रगत परीक्षण गराएका छन्।
रिपोर्टका आधारमा सबै कुरा ठिकै रहेको चिकित्सकहरूले उनलाई बताएका छन्। तर उनी बिहानबिहान आफूलाई अप्ठ्यारो हुने बताउँछन्।
बिहान आफैँ उठ्न नसक्नेदेखि अत्यन्तै थकित महसुस हुने, छाती भारी हुने र कहिलेकाहीँ सुक्खा खोकीको समस्या उनमा छ। हिँड्दा सास गढ्ने समस्या पनि छ।

तस्बिर स्रोत, Reuters
चिकित्सकहरूले उनलाई हालसम्म स्पष्टसँग भन्न सकेको कुरा 'यो कोभिडकै कारण उत्पन्न स्वास्थ्य अवस्था हो' मात्रै हो।
उनलाई नियमित रूपमा भिटामिन अनि सन्तुलित आहार खान र नियमित रूपमा व्यायाम गर्न भनिएको छ।
'आत्मबल नै सहारा'
कोभिड-१९ बाट निको भएर फेरि त्यसकै कारण सुरु भएको अन्य समस्यासँग जुझिरहेका रानाको भोगाइबाट उनले बुझेको कुरा भनेको आत्मबलको आवश्यकता नै हो।
चिकित्सकहरूका अनुसार उनमा देखिएको समस्याको स्तर मध्यम छ।
"कहिलेकाहीँ के हुने हो कसो हुने हो भन्ने डर लाग्छ। तर सबैभन्दा पहिले आत्मबल बलियो बनाउनुपर्ने रहेछ। आत्मबल कमजोर बनाउँछ यसले," उनले भने।
शिक्षण पेसामा रहेका राना पछिल्लो समय पर्यटन क्षेत्रमा सक्रिय थिए जसमा कोरोनाभाइरस महामारीको व्यापक प्रभाव परेको छ। कारोबार लगभग ठप्प छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

दुई सन्तानका पिता रानाकी पत्नी पनि महामारीका कारण रोजगारी नभएपछि बेरोजगार छिन्।
"भोलि के हुन्छ भन्ने कुरा अनिश्चित छ। तर यसले जे जस्तो असर गरे पनि म सामना गर्नका लागि मानसिक रूपमा भने तयार छु," उनले भने।
काठमाण्डूको महँगी अनि गर्नैपर्ने व्यवहार। त्यसको जोहो उनले कसरी गर्दै आएका छन् त?
राना भन्छन्: "अहिले त ज्यान जोगाऊँ भन्ने मात्रै छ। हामीसँग जे छ त्यो खर्च गरौँ, भोलिको अवस्था के होला थाहा छैन। अहिलेलाई चाहिँ आफू कसरी स्वस्थ हुने, परिवारलाई कसरी स्वस्थ राख्ने भन्ने छ।"
के भन्छन् चिकित्सक?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान एकाइ प्रमुख डा. शेरबहादुर पुन लङ कोभिडले जीवनयापनको गुणस्तरमा प्रभाव पार्ने बताउँछन्।
कोरोनाभाइरसमुक्त भएका मानिसहरूले सामान्य रूपमा जीवनयापन गर्ने अपेक्षा गरिने भए पनि लङ कोभिडका कारण धेरै किसिमका स्वास्थ्य समस्या देखिने गरेको उनी बताउँछन्।
शरीर तात्ने तर ज्वरो नहुनेदेखि सामान्य काम गर्न समेत गाह्रो हुने अवस्थासम्म मानिसहरू पुगेको पुनको भनाइ छ।
कतिपय वैज्ञानिकहरूले लङ कोभिडलाई "पोस्ट अक्यूट कोभिड-१९" पनि भन्ने गरेको उनी बताउँछन्।

तस्बिर स्रोत, EPA/STR
"मेरो बुझाइमा यो लम्बिएको कोभिड भन्न खोजिएको हो," उनले भने। "मान्छे हेर्दा सामान्य देखिन्छ। तर उ अस्वस्थ नै छ। दैनिक जीवनमा सामान्य काम गर्न अवरोध आइरहेको छ।"
यस्तो अवस्था विभिन्न मुलुकमा देखिएको उनी बताउँछन्।
"सुरुमा त पश्चिमा मुलुकहरूमा पनि चिकित्सकहरू नै अचम्ममा परेका थिए। तर पछिल्लो समय यसबारे छलफल हुन थालेको देखिन्छ," उनले भने।
नेपालमा पनि कोभिड-१९ बाट निको भएपछि समस्या लिएर आफूहरूकहाँ आइपुग्नेहरूको सङ्ख्या क्रमिक रूपमा बढिरहेको अवस्थामा यस विषयमा बहस सुरु गर्न आवश्यक भएको डा. पुनको भनाइ छ।
"यो नितान्त नयाँ विषय भएकाले धेरै कुरा स्पष्ट हुन सकेको छैन। यसबारे बेलैमा विमर्श गर्न जरुरी छ," उनले भने।
* बिरामीको गोपनीयता कायम राख्न नाम परिवर्तन गरिएको छ।









