नेकपा सचिवालय बैठकमा 'मन्त्रिपरिषद् पुर्नगठनबारे छलफल'

तस्बिर स्रोत, Surya Thapa/PM Secretariat
आइतवार बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठकमा मन्त्रिपरिषद् पुर्नगठनबारे नीतिगत छलफल भएको पार्टी प्रवक्ताले बताएका छन्।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने: "तर व्यक्तिहरूबारे केही कुराकानी भएको छैन। आवश्यक परेको खण्डमा प्रधानमन्त्रीसँग त्यसबारेमा पछि नै छलफल हुन्छ।"
कसरी मन्त्रिपरिषद् पुर्नगठन?
सरकारलाई अझ प्रभावकारी बनाउने गरी विभिन्न कोणबाट छलफल भएको बताए पनि प्रवक्ता श्रेष्ठले पुर्नगठन कस्तो हुने भन्ने खुलाएनन्।
यतिखेर सञ्चार, सूचना तथा प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय र शहरी विकास मन्त्रालयमा मन्त्री पद रिक्त छ।
यसअघि स्थायी कमिटीको निष्कर्ष र निर्णयहरूलाई कार्यान्वयन प्रक्रियामा लैजाने क्रममा आइतवारको बैठक बसेको बताइएको थियो।
प्रवक्ता श्रेष्ठले आइतवारको बैठकमा नीतिगत रूपमा चारवटा विषयको कार्यसूची बनाइएको बताए।
आइतवारको बैठकले मुख्य रूपमा मन्त्रिपरिषद पुर्नगठनका नीतिगत मापदण्डका विषयमा विभिन्न कोणहरूबाट सुझाव दिइएको बताइएको छ।
श्रेष्ठले भने: "मन्त्रिपरिषद्को पुर्नगठनबारे स्थायी कमिटीको निर्णय अनुसार गर्ने तय गरिएको छ।"
बाँकी कार्यसूची के छन्?
- संवैधानिक र राजनीतिक नियुक्तिका विषयमा सरकारलाई निर्णय गर्नका सजिलो पार्ने गरी आधार तयार पारिदिने
- साङ्गठनिक एकीकरणका बाँकी कामहरू पूरा गर्ने
- सङ्गठन र विभागका निर्णयहरूबारे छलफल र अनुमोदनको प्रस्ताव, स्थायी कमिटी र केन्द्रीय कमिटीका रिक्त पदपूर्ति गर्ने पार्टीका केन्द्रीय सदस्यहरूलाई आर्थिक सहयोग गर्नेबारे छलफल
प्यारिस डाँडा बैठकको अर्थ
सत्तारूढ पार्टीको वैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुँदा सरकारी स्रोतको दुरूपयोग भएको भनेर समेत आलोचना भइरहेका बेला सचिवालय बैठक प्यारिस डाँडामा बसेको हो
आज बैठक बसेको ठाउँ यसअघि तत्कालीन माओवादी केन्द्रको मुख्यालय थियो।
प्यारिस डाँडामा अहिले नेकपाका जनवर्गीय सङ्गठनहरूको कार्यालय छ भने नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा छ।
यसबारे सोध्दा प्रवक्ता श्रेष्ठ भने: "यसको कुनै अर्थ लगाउन पर्दैन। यो पनि हाम्रो कार्यालय नै हो।"
तर कतिपयले प्रचण्डले कार्यकारी अध्यक्षको रूपमा अध्यक्षता गरेको र दुई अध्यक्षबीच सम्बन्ध राम्रो भएको सङ्केत दिन समेत आजको बैठक प्यारिस डाँडामा राखिएको बताउने गरेका छन्।
बैठक भोलि समेत बस्दैछ।








