इन्स्टाग्राममा 'फिल्टर' बहिष्कार गर्ने अभियानकर्मी भन्छिन्: हामीले फिल्टरबिनाको अनुहार देखाउनु पर्छ

    • Author, एम्मा ह्यालेट
    • Role, बीबीसी न्यूज

आफ्नो अनुहारलाई फरक देखाउने एउटा लोकप्रिय माध्यम फिल्टर भएका छन्। मानिसहरू सामाजिक सञ्जालले तय गरिदिएको सौन्दर्यको मापदण्ड अनुसार नै चल्न चाहन्छन्।

गर्लगाइडिङले हालै गरेको एउटा सर्वेक्षणले एकतिहाइ किशोरी र युवतीहरूले राम्रो देखिन फिल्टरको प्रयोग नगरी आफ्नो तस्बिर नहाल्ने देखाएको छ।

अध्ययनमा ११ देखि २१ वर्ष उमेरका १,४७३ सहभागीमध्ये ३९ प्रतिशतले अनलाइनमा जस्तै यथार्थमा आफू राम्रो देखिन नसकेकोमा चिन्तित भएको बताएका थिए।

उक्त सर्वेक्षणको परिणामबाट चिन्तित बनेकी मेकअप आर्टिस्ट तथा मोडल साशा पल्लरीले हालै फिल्टर हटा‌औँ भनेर अभियान थालेकी छन्।

उनका अनुसार इन्स्टाग्राममा मानिसहरूको 'वास्तविक त्वचा' देख्न पाउने आशामा उनले त्यसो गरेकी हुन्।

"म चाहन्न कि बालबालिका सामाजिक सञ्जालमा जे देख्छन् त्यसका कारण म राम्रो त्यति छैन भन्ने सोचेर हुर्किउन्।"

यी २८ वर्षीया मोडलले यसबारे आफ्नो इन्स्टाग्राममा एउटा भिडिओ राखिन्। त्यसमा उनलाई यति धेरै प्रतिक्रिया आयो कि उनले अभियान नै सुरु गरिन्।

"वास्तविक तस्बिरहरूको लहर नै हेर्न पाउनु साँच्चै अद्‍भूत थियो," पल्लरीले भनिन्।

उनी मानिसहरूलाई फिल्टर नगरिएका तस्बिरहरू इन्स्टाग्राममा राख्न र "उनीहरू जस्तो देखिन्छन् त्यसैको परख गर्न" भनिरहेकी छन्।

चार वर्षीया बालिकामा परेको असर

प्राथमिक विद्यालयकी एक शिक्षिका क्याटी मग्राले करिब एक वर्षअघि पल्लरीलाई सामाजिक सञ्जालमा फलो गरेकी हुन्।

लकडाउनको बेला उनले एक अभिभावकबाट उनीहरूको सन्तानको स्वभावमा आएको परिवर्तनबारे चिन्ता व्यक्त गरिएको इमेल प्राप्त गरिन्।

उक्त इमेलमा ती अभिभावकले आफ्नो चार वर्षीया छोरीले शारीरिक रूपमा कस्तो देखिन्छु भन्नेबारे चिन्ता व्यक्त गरेको उल्लेख थियो।

"मैले त्यतिबेला एकदमै गहिरो दुख महसुस गरेँ। एकजना एकदमै सानो उमेरको बच्चा शारीरिक रूपमा कस्तो देखिन्छु भन्ने कुरालाई लिएर सजग हुन थालेको छ।"

साउथ वेल्सकी २९ वर्षीया मग्राले आफ्ना विद्यार्थीले मेकअप कसरी गर्ने भन्नेसम्बन्धी भिडिओ सामाजिक सञ्जालमा हेर्ने गरेको पत्ता लगाइन्।

"मलाई लाग्यो मैले आफ्ना साना विद्यार्थीसँग आत्मविश्वासबारे कुरा गर्न सक्छु। यहीँबाट व्यक्तिगत रुपमा म यो अभियानमा लागेँ।"

ती चार वर्षीय बालिकाले मग्नालाई सोधिन् किन तपाईँ प्रत्येक दिन अनुहारमा मेकअप लगाउनुहुन्छ? यो त्यस्तो प्रश्न थियो जसको मग्राले जवाफ दिन सकिनन्।

तर त्यसपछिको साता उनी अनुहारमा कुनै श्रृङ्गार नगरी विद्यालय गइन्।

"साशाको अभियानले दिएको आत्मविश्वासबिना म त्यसो गर्न सक्दैन थिएँ," मग्राले भनिन्।

मग्रा त्यस्ता सयौंमध्ये एक महिला हुन् जसले साशाको अभियानमा समर्थन जनाएकी थिइन्।

अभियानको पल्लरीको इन्स्टाग्राम भिडिओलाई अहिलेसम्म झण्डै ५० हजार मानिसले हेरिसकेका छन्।

उनलाई समर्थकको सन्देशको बाढी आएको छ। तीमध्ये धेरैले आफूहरू फिल्टर प्रयोगमा कति धेरै लिप्त रहेछु भन्ने महसुस यसअघि नगरेको उल्लेख गरेका छन्।

तिनैमध्येकी एक जिया हचिङ्गस् हुन्।

"साशाले फिल्टर प्रयोग नगर्ने अभियान चलाएपछि मैले श्रृङ्गार पनि नगरेको र फिल्टर पनि प्रयोग नगरिएको तस्बिर मलाई मन पर्दैन भनेर महसुस गरेँ", हचिङ्ग्सले भनिन्।

"म सामाजिक सञ्जालमा राम्रो त्वचा, मिलेको नाक र मिलेको शरीर भएका आकर्षक महिलाहरूको तस्बिर देख्छु। मेरो अनुहारमा दाग छन्, घामले छालामा असर गर्दा बसेको पोतो छ र मेरो बच्चा पनि छ," २७ वर्षीय उनले भनिन्।

"पहिला त मलाई यो अभियानमा आफ्नो तस्बिर राख्ने आँट आएको थिएन। तर एक रात आफू आफ्नै वास्तविक अनुहारसँग डराउँछु भन्ने भावनाले उकुसमुकुस भयो।"

"मेरो १८ महिनाकी छोरी छ। म मेकअप नलगाइएको वा फिल्टर प्रयोग नगरिएको मेरो तस्बिर सामाजिक सञ्जालमा राख्न सक्दिनँ भने कसरी मैले मेरो छोरी आफू जस्तो छे जे त्यसैमा रमाओस् भन्ने अपेक्षा गर्न सक्छु?"

वास्तविक परिवर्तन

यो अभियानले तीनवटा परिवर्तन ल्याउने आशा पल्लरीले गरेकी छन्।

"श्रृङ्गारका सामानको विज्ञापन गर्दा सामाजिक सञ्जालमा प्रभाव रहेकाहरूले त्यसमा फिल्टर प्रयोग गरिएको भए त्यसबारे उल्लेख गर्नुपर्ने; इस्टाग्रामबाट अनुहारको आकार नै परिवर्तन गर्न मिल्ने त्यस्ता फिल्टरहरू हटाइनुपर्ने; र इन्स्टाग्राममा धेरै भन्दाधेरै वास्तविक अनुहार देख्न पाइने।"

"फोटोमा फिल्टर प्रयोग गरिएको धेरैजसो खुलाइएको हुँदैन। त्यसैले मानिसहरूलाई लाग्छ कि 'म किन त्यस्तै देखिन्न?'," पल्लरी भन्छिन्।

"मलाई कहिल्यै लागेको थिएन कि मेरो नाक ठूलो छ तर नाक पातलो बनाउने फिल्टर हेरेपछि लाग्यो 'सायद ठूलै हो'… त्यसले आत्मविश्वास कम भएकालाई कसरी असर गर्ला?"

पल्लरीले यसबारेमा इन्स्टाग्रामलाई पनि प्रतिक्रिया दिन भनिन्।

एउटा विज्ञप्तिमा उसले लेखेको छ: "हामी चाहन्छौं कि इफेक्टहरूको प्रयोग हाम्रो समुदायका लागि सुरक्षित र सकारात्मक अनुभव हुनेछ। त्यसैले हामी यी इफेक्टहरू इन्स्टाग्राममा प्रयोग गर्न दिन्छौं। तर हामीले यसो गर्न भनेर कतै सुझाएका छैनौँ।"

त्यसको प्रतिक्रियामा पल्लारी भन्छिन्: "अनुहार फरक देखाउने यी फिल्टरहरू कति खतरनाक छन् भन्ने कुरा अझै पनि मनन नगरिनु एकदमै लज्जाजनक विषय हो।"