तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: के कोभिड-१९ ले 'निष्क्रियताको महामारी' ल्याएको छ?
कोभिड-१९ को महामारी सुरू हुँदा शार रिड रमाइलो अवस्थामा थिइनन्।
उनी भर्खरै आफ्ना साथीभाइ र परिवार छाडेर वकिल बन्ने तलिमका लागि यूकेको शहरमा आएकी थिइन्।
दमको बिरामी भएकाले उनले लकडाउनको समयमा झन् घरभित्रै बस्नुपर्यो।।
“म एकदमै असाहय, एक्लो र आत्तिएको महसुस गरिरहेको थिए। मलाई बाहिर जानै मन थिएन र म नेटफ्लीक्स हेरेर बसेँ,” उनले बीबीसीसँग भनिन्।
“म दैनिक २,००० पाइला पनि हिँडिरहेको थिइन।”
पाइला गन्तीले शारीरिक व्यायामको अवस्था नाप्न मिल्ने वा नमिल्ने बारेमा व्यापक बहस रहे पनि बढी पाइला हिँड्नु राम्रो स्वास्थ्यसँग जोडिने गर्छ।
तीस वर्षकी उनी कोभिड-१९ का कारण 'निष्क्रियता महामारी'मा रहेकी व्यक्तिमध्ये एक हुन्।
हालसम्म गरिएको सबैभन्दा विस्तृत सर्वेक्षणमा फीटबीटले मार्च र जुन महिनामा ४० लाख मानिसहरूको शारीरिक गतिविधिको तथ्याङ्क अध्ययन गरेको छ।
उक्त अध्ययनले लकडाउनको अवधिमा मानिसहरूले अघिल्लो वर्षको सोही अवधिको तुलनामा औसतमा धेरै कम हिँडेका छन्।
र अझ महत्त्वपूर्ण कुरा त लकडाउन हटाइएको र खुकुलो गरिएको क्षेत्रमा पनि मानिसहरूले अघिल्लो वर्षको तुलनामा कमै शारीरिक गतिविधि गरेका छन्।
निष्क्रियताको स्वास्थ्यमा प्रभाव
सबै उमेर समूहमध्ये १८ देखि २९ वर्षका युवाहरूले सबैभन्दा कम शारीरिक व्यायाम गरेको पाइएको थियो।
“उच्च तनावले हाम्रो निद्रालाई प्रभाव पार्छ, जसले हामीलाई सुस्त र थकित बनाउँछ। त्यसले हाम्रो शारीरिक शक्तिको घटाउछ र कसरततर्फ कम आकर्षण हुने बनाउँछ,” ब्रिटिश सोसाइटी अफ लाइफस्टाइलकी क्षेत्रीय निर्देशक डा. पुनम कृष्णन भन्छिन्।
डा. कृष्णनले व्यायाम नगर्दा मानिसहरूले राम्रोसँग खानेकुराबारे निर्णय गर्न नसक्ने र त्यसका कारण शारीरिक स्वास्थ्य एवम् मनोवैज्ञानिक अवस्था पनि प्रभावित हुने बताइन्।
कैयौँ देशहरूले लकडाउनका कारण एउटा बिन्दुमा आफ्ना नागरिकको तौल वृद्धि भएको जनाएका छन्।
ब्रजिलमा देशको एउटा अग्रणी विश्वविद्यालयले गरेको अध्ययनले महामारीको समयमा १० मध्ये कम्तीमा चार जनाको तौल बढेको पाइएको छ।
इटली, फ्रान्स, यूके र इजरेल पनि लकडाउनको समयमा मानिसहरू मोटाएको जनाएका छन्।
महामारीको समयमा देखिएको निष्क्रियतालाई लक्षित गर्दै विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले उमेर समूह अनुसार आवश्यक साधारण व्यायामबारे जानकारी दिने हेल्थीएटहोम ह्यासट्याग अघि बढाएको छ।
मेक्सिकोमा चेतावनी
सर्वेक्षण गरिएका देशमध्ये मानिसहरू नाटकीय रूपमा कम हिँडेको देखिएको देश मेक्सिको हो।
फीटबीटको तथ्याङ्कले अघिल्लो वर्षको जून महिनाको तुलनामा यस वर्षको जूनमा ८० प्रतिशतले पाइला घटेको देखाउँछ।
मेक्सिकोमा अगष्ट ११ सम्म ५३,००० भन्दा बढीले कोरोनाभाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन्।
ज्यान गुमाउने मध्ये ७० प्रतिशत पहिल्यै नै उच्च रक्तचाप, मधुमेह वा मोटोपनबाट पीडित थिए।
बालबालिका हेर्ने राष्ट्रसङ्घीय निकाय यूनीसेफले १३ देखि ३० वर्षका ८,००० मेक्सिकनहरूमा गरेको अध्ययनमा करिब आधाले पहिलाभन्दा कम व्यायाम गरिरहेको पाएको थियो।
केटाकेटी र किशोरकिशोरीमा पहिल्यै नै मोटोपनको दर उच्च रहेको मेक्सिकोमा अब अवस्था थप खराब हुने यूनीसेफका असल आहार विज्ञले चेतावनी दिएका छन्।
पूरा लकडाउनमा नगएको जापानमा पनि सन् २०१९ को तुलनामा ११ प्रतिशत कम हिँडेको पाइएको फीटबीटको अध्ययनले देखाउँछ।
यी तथ्याङ्कले मानिसहरूले आफ्नो नियमित दैनिकी कायम गर्न सुरक्षित महसुस नगरिरहेको देखाउँछ।
भारतको मधुमेह चिन्ता
भारतमा जून महिनामा ११ प्रतिशतले पाइला घटेपछि त्यहाँ मधुमेहको महामारी देखा पर्ने हो कि भन्ने चिन्ता व्यक्त भइरहेको छ।
भारतमा लगभग सात करोड मानिसहरूमा मधुमेह रहेको ठानिन्छ र उक्त सङ्ख्या चीनपछि उच्च हो।
नयाँ दिल्लीका चिकित्सकहरूले मधुमेह भएका १०० बिरामीमध्ये ४२ प्रतिशतले व्यायाम घटाएको मात्रै नभई बढी खानेकुरा पनि खाएको पाइएको छ।
“मानिसहरू निष्क्रियता र रोगको वृद्धिदरसँग जुधिरहँदा भारतमा महामारी देखिएको थियो,” भारतीय फिटनेश ब्लगर अमन धाल भन्छन्।
“सन् २०१६ मा विश्व स्वास्थ्य सङ्गठनले ३५ प्रतिशत भारतीयहरू पर्याप्त रूपमा सक्रिय नरहेको देखाएको थियो।"
“हामी खेल हेर्ने तर आफु नखेल्ने हौँ,” उनले भने।
शारको यात्रा
वकिल बन्ने लक्ष्य राखेकी शारले भने ब्रिटेनका ‘फिटनेश गुरु’ जो विक्सको लोकप्रिय यूट्युब हेर्दै शारीरिक व्यायाम गर्न थालेकी छन्।
उनी आफ्नो घर नजिकबाट लामो यात्रामा हिँडेर जान्छिन् र त्यो अनुभवलाई इन्स्टाग्रामबाट अरूलाई पनि जानकारी दिन्छिन्।
सकारात्मक सोच अभिव्यक्त गर्ने भनाइहरू राखेर उनी अरू मानिसहरूलाई पनि प्रेरित गर्ने प्रयास गर्छिन्।
“मेरा अधिकांश साथीहरू लकडाउन भन्दै खाएर वा पिएर मात्रै बस्छन्। तर दम भएको कारण म जोखिमपूर्ण समूहमा छु, त्यही भएर मैले आफूलाई जोगाउनुपर्छ।”