कोरोना भाइरस भारतः गुजरातमा कोभिड अस्पतालमा आगो लाग्दा आठ सङ्क्रमितको मृत्यु

भारतको गुजरात राज्यमा कोरोनाभाइरस सङ्क्रमितहरूलाई राखिएको एउटा अस्पतालमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

अहमदाबादको नवरङ्गपुर क्षेत्रमा भएको उक्त घटनामा मृतकमध्ये तीन जना महिला भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

अहमदाबादका एक वरिष्ठ अग्निशमन अधिकारीले स्थानीय श्रेय अस्पतालमा बिहान ३ बजेतिर आगो लागेको बीबीसीलाई बताएका छन्।

बिजुलीको शर्ट सर्किटका कारण आगो लागेको बताइएको छ। एक घण्टामा आगो नियन्त्रण आएको थियो।

छानबिन गर्न निर्देशन

उक्त अस्पतालबाट उद्धार गरेर कोभिड पुष्टि भएका ४० बिरामीलाई अर्को अस्पतालमा सारिएको अधिकारीहरूले बताएका छन्।

आगो नियन्त्रण र उद्धारमा संलग्न सबै कर्मचारीलाई क्वारन्टीनमा राखिएको छ।

राज्य सरकारले घटनाबारे तीन दिनभित्र अनुसन्धान गरिसक्न निर्देशन दिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति शोक व्यक्त गरेका छन्। आफूले राज्यका मुख्यमन्त्रीसँग कुरा गरेको बताएका छन्।

गुजरात मोदीको गृहराज्य हो।