यूकेको ह्वावेईका उपकरण हटाउने निर्णय निराशाजनक र गलत भएको चीनको भनाइ

Huawei

यूकेले मोबाइल फोन सेवा प्रदायकलाई प्रयोगमा रहेका ह्वावेईका सबै फाइभजी उपकरण सन् २०२७ सम्म हटाउन भनेपछि चिनियाँ राजदूतले त्यसलाई 'निराशाजनक र गलत' भनेका छन्।

अमेरिकाले ह्वावेईको उपकरणले राष्ट्रिय सुरक्षामा जोखिममा पार्ने बताउँदै प्रतिबन्ध लगाएको छ। तर ह्वावेईले पटक-पटक कुनै देशलाई हानि नगर्ने बताउँदै आएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यूकेको निर्णयको स्वागत गर्दै ह्वावेई 'असुरक्षित' भएको बताएका छन्।

"हामीले धेरै-धेरै देशहरूलाई ह्वावेई प्रयोग नगर्न विश्वास दिलाएका छौँ किनभने हामीलाई लाग्छ यो असुरक्षित सुरक्षा जोखिम हो, यो ठूलो सुरक्षा जोखिम हो," ट्रम्पले भने।

यूकेका लागि चिनियाँ राजदूतले ट्वीट गर्दै यूकेले विदेशी कम्पनीलाई निष्पक्ष व्यवसाय वातावरण दिनसक्ने विषयमा प्रश्न गरेका छन्।

"यूकेको ह्वावेईको सम्बन्धमा निराशाजनक र गलत निर्णय," उनले लेखेका छन्।

यूकेको निर्णय

यूकेका डिजिटल मामिला मन्त्री ओलीभर डाउडेनले संसद्को दुईमध्ये तल्लो सदन हाउस अफ कमन्सलाई निर्णयको जानकारी गराएका थिए।

डाउडेनका अनुसार पछिल्लो कदमका कारण यूकेमा फाइभजी प्रविधिको प्रयोग एक वर्ष ढिला हुनेछ।

"यो सहज निर्णय थिएन। तर यो यूकेका टेलिकम नेटवर्क, हाम्रो राष्ट्रिय सुरक्षा र अर्थतन्त्रका लागि अहिले र लामो समयसम्मका लागि सही छ," उनले भने।

ह्वावेईले भने उक्त कदम गलत भएको टिप्पणी गरेको छ।

ह्वावेईको प्रतिक्रिया

"यूकेमा मोबाइल बोक्ने सबैका लागि यो नराम्रो समाचार हो," उसले भनेको छ।

नयाँ प्रतिबन्ध कम्पनीको ब्रोडब्यान्ड उपकरणको प्रयोगमा पनि लागु गरिएको छ।

सेवा प्रदायकले पूर्णरूपमा फाइबर नेटवर्कमा प्रयोगका लागि ह्वावेईका नयाँ उपकरण खरिद नगरून् भन्ने यूके सरकारले चाहेको छ।

गत वर्ष ज्यानुअरी महिनामा यूकेले आफ्नो टेलिकम पूर्वाधारमा ह्वावेईको भूमिकाबारे समीक्षा गरेको थियो र त्यस बेला उक्त कम्पनीलाई वितरकका रूपमा कायम रहन दिने तर बजार हिस्सा भने नियन्त्रण गरिने निर्णय गरिएको थियो।

तर मे महिनामा अमेरिकाले ह्वावेईविरुद्ध नयाँ प्रतिबन्ध लागु गर्‍यो।