चीन-अमेरिका शीतयुद्ध विश्वका लागि 'कोरोनाभाइरसभन्दा ठूलो खतरा'

तस्बिर स्रोत, Michael Kovac
- Author, करिश्मा भास्वानी
- Role, एशिया व्यापार संवाददाता
चीन र अमेरिकाबीच गहिरिँदै गएको शीतयुद्ध विश्वका लागि कोरोनाभाइरसभन्दा पनि ठूलो चिन्ताको विषय भएको प्रभावशाली अर्थशास्त्री जेफ्री स्याक्शले बताएका छन्।
उनले कोरोनाभाइरस महामारीपश्चात् "संसार कुनै नेतृत्वविनाको ठूलो अस्तव्यस्तताको समयतर्फ बढ्ने" बीबीसीलाई बताए।
दुई ठूला शक्ति राष्ट्रबीचको मतभेदले त्यसलाई अझ नराम्रो स्थितिमा पुर्याउने उनको ठम्याइ छ।
कोलम्बिया विश्वविद्यालयका प्राध्यापक स्याक्शले दुई देशबीच तनाव चर्किनुमा अमेरिकी प्रशासन जिम्मेवार रहेको आरोप लगाए।
बीबीसीको एशिया बिजनेस रिपोर्टका लागि अन्तर्वार्ता दिँदै उनले भने, "अमेरिका विभाजन निम्त्याउने एउटा शक्ति हो न कि सहकार्य गर्ने।"
तनाव बढ्दो
व्यापारको विषयलाई मात्र लिएर नभई अन्य कैयौँ मुद्दामा अमेरिका र चीनबीच तनाव बढिरहेका बेला अर्थशास्त्री स्याक्शका पछिल्ला टिप्पणी आएका हुन्।
केही दिनअघि मात्रै अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको सिन्जियाङमा मुस्लिमहरूमाथि दमनमा संलग्न भनिएका चिनियाँ अधिकारीहरूविरुद्ध प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गर्दै वैधानिकता प्रदान गरेका थिए।
द वाल स्ट्रीट जर्नलसँगको एउटा अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आर्थिक प्रतिस्पर्धालाई अस्थिर बनाउनका निम्ति चीनले अन्तर्राष्ट्रिय रूपमा कोरोनाभाइरस फैलाउन प्रोत्साहित गरेको हुन सक्ने बताएका थिए।
ट्रम्प प्रशासनले खासगरी चिनियाँ दूरसञ्चार कम्पनी ह्वावेई लगायत कम्पनीलाई पनि ट्रम्प प्रशासनले निशाना बनाउँदै आएको छ।
ग्राहकमाथि जासुसी गर्नका निम्ति त्यसको प्रयोग गरेको वाशिङ्गटनले बेइजिङमाथि आरोप लगाउने गरेको छ। तर ह्वावेईले जस्तै बेइजिङले पनि त्यो आरोप अस्वीकार गर्दै आएको छ।

तस्बिर स्रोत, Reuters
तर पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आफ्नो नयाँ किताबमा उल्लेख गरेअनुसार चीन र ह्वावेईप्रति ट्रम्पले लिएको कडा अडान पुनः निर्वाचित हुने एउटा रणनीति हुनसक्छ।
ह्वावेईलाई निशाना बनाउनु सुरक्षासम्बन्धी चिन्तालाई मात्रै लिएर नभएकोमा प्राध्यापक स्याक्श सहमत देखिन्छन्।
"फाइभ जीको सन्दर्भमा अमेरिका पछि पर्यो जुन नयाँ डिजिटल अर्थतन्त्रको एउटा महत्त्वपूर्ण हिस्सा हो। र, ह्वावेईले विश्व बजारमा ठूलो हिस्सा ओगटिरहेको छ।"
"मेरो विचारमा अमेरिकाले ह्वावेई विश्वका लागि एउटा खतरा हो भन्ने कुराको बहाना बनाइरहेको छ। र ह्वावेईसँग सम्बन्ध तोड्नका निम्ति उसले आफ्ना साझेदारहरूको सहयोग चाहिरहेको छ।"








