हङ्‌कङ सुरक्षा कानुन: विशेष राहदानी लिएर हङ्‌कङवासीहरू विदेश पलायन हुने मनस्थितिमा

हङकङ

तस्बिर स्रोत, Getty Images

चीनले हङ्‌कङमा कठोर राष्ट्रिय सुरक्षा कानुन लागु गरेपछि मनैदेखि आन्दोलित मानिसहरू त्यहाँबाट कसरी बाहिर उम्किने भन्ने ध्याउन्नमा छन्।

झन्डै ३० लाख हङ्‌कङवासीका लागि ब्रिटिश न्याश्नल ओभरसीज पासपोर्ट विदेश पलायन गर्न उपयोगी हुनसक्छ। के उनीहरू साँच्चै हङ्‌कङ छाड्लान् अनि नछाड्नेहरूको अवस्था के होला?

राम्रो भविष्यको आशा बोकेर माइकल र शेरेनाले हङ्‌कङ छाड्ने निर्णय गरेका छन्। तर जान चाहेको ब्रिटेनमा उनीहरू यसअघि कहिल्यै पुगेका छैनन्।

यी दम्पतीसँग ब्रिटिश न्याश्नल ओभरसीज अर्थात् बीएनओ पासपोर्ट छ।

सन् १९९७ मा ब्रिटेनले चीनलाई हङ्‌कङ फिर्ता दिनुअघि सूचीकृत भएका व्यक्तिलाई ब्रिटेन र युरोपको यात्रा गर्न सजिलो होओस् भनेर उक्त राहदानी दिइएको थियो।

हङ्‌कङका केही मानिसहरूले त्यो सुविधाको उपभोग गरे।

"महिनौँको आन्दोलनपछि हङकङले अहिले आफ्नो पहिचान गुमाएको छ।"

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, "महिनौँको आन्दोलनपछि हङ्‌कङले अहिले आफ्नो पहिचान गुमाएको छ"

माइकल र सेरेनाका लागि यतिखेर हङ्‌कङको जीवन परित्याग गर्न त्यति सहज छैन। तेह्र वर्षकी छोरीसहित उनीहरू राम्रै घुमेका छन्।

उनीहरू त्यहाँको ब्याङ्कमा मध्यम तहका व्यवस्थापक छन् र उनीहरूले धेरै वर्षअघि त्यहाँ एउटा फ्ल्याट किनेका थिए। त्यो छाड्नु निकै ठूलो कुरा हो।

उनीहरू भन्छन्- महिनौँको आन्दोलनपछि हङ्‌कङले अहिले आफ्नो पहिचान गुमाएको छ।

मुख्यभूमि चीनमा सुपुर्दगी गर्न सकिने व्यवस्था गरिएको कानुनका कारण भएको उक्त आन्दोलनमा सरकारले जनतालाई नसुनेको र प्रहरीले निकै कम संयम देखाएको यी दम्पतीको अनुभव छ।

उनीहरूको छोरीमा त्यसले निकै गहिरो छाप पारेको छ।

यद्यपि एउटा चिनियाँ ब्याङ्कमा काम गरेका कारण उनीहरू भने आन्दोलनमा गएनन्।

उनीहरूको कार्यालयमा आन्दोलनमा गए त्यहाँ जागिर जाने नियम बनाइएको थियो।

माइकलले भने, "राष्ट्रिय सुरक्षा कानुनका प्रावधानहरू जथाभावी छन्।"

बीएनओ पासपोर्ट हङकङका त्यस्ता बासिन्दालाई जारी गरिएको थियो जो उक्त शहर सन् १९९७ मा ब्रिटेनले चीनलाई फिर्ता दिनुअघि सुचिकृत भएका थिए।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सन् १९९७ मा ब्रिटेनले चीनलाई फिर्ता दिनुअघि सूचीकृत हङ्‌कङवासीसँग बीएनओ पासपोर्ट छ

सेरेना बेइजिङको दाबी गरे जस्तो उक्त कानुनले 'केही सीमित मानिसहरूलाई मात्र निसाना बनाउने' कुरामा विश्वस्त छैनन्।

ब्रिटेनले यतिखेर बीएनओ पासपोर्टवाहकलाई छ वर्ष आफ्नो देशमा बसेपछि नागरिकता दिन खोजेको छ।

उसको तर्क छ- नयाँ कानुन लागु गरेर चीनले ब्रिटेनसँग गरिएको संयुक्त प्रतिबद्धताको उल्लङ्घन गरेको छ।

ब्रिटेनले उक्त कानुनले हङ्‌कङको स्वायत्तता खोजेको र नागरिक अधिकारहरू कमजोर बनाएको बताएको छ।

माइकल र सेरेनाको प्रारम्भिक योजना छोरीलाई विदेश पठाउने थियो। तर अहिले परिवार नै ब्रिटेन सर्ने उनीहरूको पहिलो प्राथमिकता बनेको छ।

गत नोभेम्बर महिनामा उनीहरूले धेरैअघि म्याद नाघेको बीएनओ पासपोर्ट नवीकरण गरेका थिए।

माइकलले भने, "मलाई लागेको थियो अन्तिम विकल्पको रूपमा ब्रिटेनले बीएनओ पासपोर्ट भएकालाई नागरिकता दिनेछ। यति छिट्टै त्यस्तो होला भन्ने लागेको थिएन। तर एकाएक ठूला परिवर्तनहरू भइरहेका छन्।"

चीनले नयाँ कानुन लागु गरेपछि माइकल र सेरेनाका कथा अहिले सहरका साझा कथा बनेका छन्।

बीएनओ पासपोर्ट नहुनेहरू

यतिखेर हङ्‌कङमा झन्डै ३,५०,००० बीएनओ पासपोर्टवाहक छन्।

ब्रिटिश सरकारको अनुमानमा कुल झन्डै २९ लाख मानिससँग उक्त राहदानी छ।

सन् १९९७ पछि जन्मिएका हङ्‌कङका बासिन्दाहरू बीएनओ पासपोर्टका लागि योग्य हुँदैनन्।

अनि सहर हस्तान्तरण हुनुअघि त्यसको माग नगरेकाहरू समेत अहिले त्यो पाउनेछैनन्।

फेब्रअरी सम्ममा हङकङका ३,५०,००० मानिसहरूसँग बीएनओ पासपोर्ट छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हङ्‌कङका ३,५०,००० मानिससँग बीएनओ पासपोर्ट छ

हेलेन सहर हस्तान्तरण हुनुभन्दा केही अघि सन् १९९७ मा जन्मेकी हुन्।

तर सानै भएकाले आमाबुवाले उनका लागि बीएनओ पासपोर्टको लागि दर्ता गरेनन्। अभिभावकप्रति अहिले उनको त्यही गुनासो छ।

उनी भन्छिन्, "म जान चाहन्छु कि चाहन्नँ भन्ने थाहा छैन। तर त्यो मेरो अधिकार हो। ब्रिटेनको तुलनामा मलाई हङ्‌कङ निकै मन पर्छ। तर मैले बीएनओ पासपोर्ट लिनुपर्थ्यो।"

ब्रिटेनको प्रस्ताव कति हङ्‌कङवासीले स्वीकार्छन् भन्ने अझै स्पष्ट छैन। तर जुलाई १ मा ब्रिटेनले घोषणा गरेपछि मानिसहरूको चासो भने निकै बढेको छ।

त्यतिखेर बिदेशमन्त्री डोमिनिक राबले भनेका थिए, "हामी हङकङलाई अर्को रूपबाट हेर्दैनौँ। र हामीले त्यहाँका मानिसहरूप्रतिको ऐतिहासिक जिम्मेवारी भुल्नेछैनौँ।"

त्यसयता ब्रिटेनका परामर्शकेन्द्रमा त्यहाँ बसाइँ सर्ने विषयमा मानिसहरूले सोधखोज गर्न थालेका छन्।

हङ्‌कङमा राजनीतिक तनाव बढ्न थालेयता बीएनओ पासपोर्ट नवीकरण गर्नेको सङ्ख्या ह्वात्त्तै बढेको थियो।

सन् २०१८ मा १,७०,००० जति बीएनओ पासपोर्ट चलनचल्तीमा थिए। लगत्तै अर्को वर्ष त्यो ३,१०,००० भन्दा बढ्ता भइदियो।

हङकङ

तस्बिर स्रोत, Reuters

औपनिवेशिक कालमा हङ्‌कङलाई सधैँ निश्चित समयका लागि सापटी लिइएको स्थानका रूपमा लिइन्थ्यो।

त्यसैले त्यहाँ मानिसहरूको आप्रवासनको क्रम कुनै अस्वभाविक थिएन।

सन् १९८४ र सन् १९९७ बीचमा झन्डै २०,००० देखि ६६,००० मानिसले बर्सेनि सहर छाड्थे।

अब के होला?

पचहत्तर लाख मानिसहरू बस्ने उक्त सहरमा झन्डै आठ लाख मानिससँग ब्रिटेन, अस्ट्रेलिया, क्यानडा वा अमेरिकामो पासपोर्ट छ।

बेइजिङले ब्रिटेनको त्यस्तो योजनाप्रति 'आन्तरिक मामिलामा हस्तक्षेप' गरेको भन्दै क्रुद्ध प्रतिक्रिया जनाएको छ।

ब्रिटेनका लागि चिनियाँ राजदूत लिउ साउमिङले भनेका छन्, "आफ्नो सार्वभौमसत्ता, सुरक्षा र विकासका स्वार्थलाई बलियो पार्ने चीनको दृढ प्रतिबद्धतालाई कसैले अवमूल्यन गर्नुहुन्न।"

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

चिनियाँ दूतावासले आफ्नो विज्ञप्तिमा भनेको छ: हङ्‌कङमा बसिरहेका सबै चिनियाँ बासिन्दा चिनियाँ नागरिक हुन्।

माइकल र सेरेनाले विदेशमा नयाँ जीवन थाल्ने तयारी गरिरहँदा उनीहरूले आफ्ना १८ वर्ष पुग्न लागेका छोरालाई भने मनाउन सकेनन्।

उनीहरू बसाइँ सरेपछि उनी हजुरबुवा-हजुरआमासँग बस्नेछन्।

"मेरो छोरा हङ्‌कङ छाड्न चाहँदैन किनकि उसलाई हङ्‌कङ आफ्नो ठाउँ हो भन्ने लाग्छ," सेरेनाले भनिन्।

(केही नामहरू परिवर्तन गरिएको छ।)