कोरोना भाइरस: के महामारी अन्त्य भएपछि महिलाले अझ कठोर परिश्रम गर्नुपर्छ?

तस्बिर स्रोत, Getty Images
- Author, पाब्लो उचोवा
- Role, बीबीसी विश्व सेवा
सिमोन रामोस अरू सफल महिला जस्तै उच्च ओहदामा पुग्न आफूले कुनै पुरूषले भन्दा बढ्ता मेहनत गर्नुपरेको ठान्छिन्।
उनी एकजना सफल कार्यकारी र विश्वव्यापी बिमा समूहकी जोखिम व्यवस्थापक हुन्।
रामोसले पुरूषहरूको वर्चस्व रहेको उद्योगमा महिला भएर नेतृत्व तहमा पुग्नलाई प्रत्येक दिन आफू बलियो बन्न र आफूभन्दा माथि उड्न बाध्य भएको बताइन्।
उनले बीबीसीलाई भनिन्, “मेरो करिअरको सुरूवातमा नै मैले महसुस गरेकी थिए कि मैले कार्यलयबाट ढिलो निस्कनुपर्छ र मैले धेरै अध्ययन गर्नुपर्छ। मैले कुनै पनि पुरुषभन्दा तीन गुणा बढीले आफूलाई प्रमाणित गर्नुपर्छ।”
रामोस ब्रजिलको बिमा बजारमा महिला सङ्घकी सल्लाहकार हुन् र उनले उक्त विषयमा आगामी अक्टोबरमा आफ्नो पुस्तक सार्वजनिक गर्दैछिन्।
उनी आफूभन्दा कम उमेरका महिलाहरूलाई ‘स्पष्ट, दृढ निश्चय र प्रष्ट लक्ष्यहरू’ भए माथिल्लो ओहदामा पुग्न सकिने बताउँछिन्।
तर अरू विज्ञहरू जस्तै महामारीको समयमा महिलाहरूको करिअरलाई लिएर बढेको थप दबावले उनीहरूलाई पछि पार्ने पो हो कि भन्ने कुराले उनलाई चिन्तित बनाएको छ।

तस्बिर स्रोत, Getty Images
‘नयाँ अवस्था’
अभिभावकहरूले घरबाट काम गर्ने प्रयास गरिरहेको र घरमै आफ्ना छोराछोरीलाई अध्यापन गराइरहेको वा अरू आफन्तको हेरचाह गरिरहेको अवस्था अझ अप्ठेरो हुनसक्छ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का अनुसार महिलाहरूले तीन चौथाइ बेतलबी स्याहारका कामहरू सम्हाल्नुपर्ने हुन्छ।
अभिभावकहरूका लागि ब्रिटेनको सबैभन्दा ठूलो अनलाइन नेटवर्क मम्सनेटका संस्थापक जस्टिन रोबर्ट्स भन्छिन्, “महिलाहरूले अधिकांश परिवारमा बाल स्याहार र घरेलु कामको अधिकांश बोझ बोक्ने गरेको कसैबाट लुकेको छैन।”
अहिलेको अवस्थाले विशेषगरी आमाहरूलाई बढी ‘तनाव’मा पारेको छ।
सामान्य अवस्थामा जस्तो दक्षता देखाउन नसेकेका कारण पद कटौती वा रोजगारीसम्बन्धी जोखिममा पर्ने भय आमाहरूमा रहेको उनको भनाइ छ।
तर रामोस महिलाहरूले परम्परागत रूपमै कार्यलयमा काम सकेर घर फर्किएपछि ‘दोस्रो शिफ्ट’ सम्हाल्ने गरेको उल्लेख गर्छिन्।
अहिले उनले चिनेका अधिकांश महिलाहरूले एकचोटि दुई शिफ्टमा काम गरिरहेका छन् र त्यसले मानसिक स्वास्थ्यमा असर पारिरहेका कारण कतिपयले महामारीकै समयमा जागिर छाड्नेसम्म विचार गरिरहेका छन्।

तस्बिर स्रोत, Simone Ramos
कार्यस्थलको म्याद गुज्रियो
कार्यस्थलमा महिलाहरूको अवस्था सुधारका लागि विभिन्न संस्थाहरूसँग काम गरिरहेको संस्था क्याटलिस्टकी निर्देशक एलिशन जिम्मरम्यान अहिलेको व्यवस्थाको म्याद समाप्त भइसकेको र कोभिड-१९ पछि नयाँ व्यवस्थाहरू लागु गर्नु कम्पनीहरूको हितमा रहेको बताउँछिन्।
उनको कम्पनीले एसिया, क्यानडा, युरोप र अमेरिकाका १० हजार एमबीए उत्तीर्ण पुरूष र महिलाहरूको करिअर प्रगतिबारे अध्ययन गरेको थियो।
त्यस क्रममा अनुसन्धानकर्ताहरूले महिलाहरू सन्तानको आमा भएपछि कसरी लचिलो विकल्पको अभावले उनीहरूको काम प्रतिको लगावलाई असर गरेको छ भन्ने अध्ययन गरेका थिए।
त्यसबाहेक क्याटलिस्ट अध्ययनमा सहभागी पुरूषहरूको तुलनामा महिलाहरू एमबीए अध्ययनपछि पनि तल्लो ओहदामा काम गर्नेमा थिए।
पुरूषहरूले बढी घण्टा काम गरे त्यसले उनीहरूको करिअरलाई मद्दत गर्ने तर महिलालाई त्यस्तै कदमले फाइदा नपुर्याउने अध्ययनमा पाइएको थियो।
पुरूषहरूलाई कम्पनी परिवर्तन गर्ने बित्तिकै बढी तलब दिइने तर महिलाहरूलाई उनीहरूले व्यवस्थापक समक्ष आफूलाई पहिला प्रमाणित गरेपछि मात्रै तलब बढेको जस्तो देखिएको थियो।
जिम्मरमेनका अनुसार महिलाहरूले निरन्तर रूपमा आफ्नो क्षमता सुधार गर्नुपर्थ्यो भने पुरूषलाई सम्भावनाकै आधारमा बढुवा गर्ने गरिएको छ।

तस्बिर स्रोत, Getty Images
आर्थिक सङ्कटले थप अप्ठेरो बनाउँछ
एउटा नयाँ अध्ययनले ती पूर्वाग्रहरू आर्थिक सङ्कटको समयमा अझ बलियोगरी पुन: देखापर्ने देखाएको छ।
कम्पनीहरूले सङ्घर्ष गरिरहेको समयमा महिलाहरूलाई सञ्चालक समितिका निर्देशकजस्ता पदहरू पाउन गाह्रो हुने एउटा प्रकाशन हुन लागेको अध्ययनले देखाएको हो।
सन् २००३ देखि २००५ सम्मका ११ सय कम्पनीका ५० हजार सञ्चालक समितिको चुनावको विश्लेषणपछि सबै राम्रोसँग चलेको बेला महिला निर्देशक चयन गर्न सेयरधनीहरू आम रूपमा प्रसन्न हुने गरेको पाएको थियो।
तर कम्पनी सङ्कटमा गएको अवस्थामा उनीहरूले महिलालाई समर्थन फिर्ता लिने सम्भावना बढी रहेको पाइएको थियो। त्यस्ता महिलाहरूले केही वर्षपछि कम्पनीहरू छाडेका थिए।
क्यालीफोर्निया स्टेट युनिभर्सिटीकी अर्जुन मित्राका अनुसार कम्पनीहरूले महिला ‘प्रतिज्ञा’लाई महिलाको नेतृत्वबाट लाभ लिन सक्ने अवस्थामा नजरअन्दाज गरिरहेको बताए।
उनका अनुसार त्यसले महिलाहरूलाई नेतृत्वदायी भूमिका दिन फर्महरू तयार नरहेको सङ्केत दिन्छ।

तस्बिर स्रोत, Getty Images
कम तलब पाउनेमा महिलालाई बढी असर
पछिल्लो आधा शताब्दीमा विश्वले लैङ्गिक समानतामा ठूलो प्रगति गरे पनि कार्यस्थलमा यी दुईबीच हुने विभेद अन्त्य हुन कम्तिमा अर्को एक शताब्दी लाग्ने वर्ल्ड इकोनोमिक फोरमको भनाइ छ।
कम आर्जन गर्ने महिलाहरूलाई कोभिड-१९ ले प्रभावित पारिरहेकै छ।
उक्त आर्थिक सङ्कटले महिलाको रोजगारीमा पुरूषको तुलनामा बढी क्षति पुर्याएको छ किनभने यसले महिलाहरूको बढी प्रतिनिधित्व रहेको आवास, खाद्यान्न, खुद्रा तथा उत्पादनमूलक क्षेत्रमा प्रभाव पारेको छ।
मध्य अमेरिकामा ५९ प्रतिशत महिलाहरू यी क्षेत्रमा कार्यरत छन् भने त्यो सङ्ख्या दक्षिणपूर्वी एसियामा ४९ प्रतिशत र दक्षिण अमेरिकामा ४५ प्रतिशत रहेको छ।
अमेरिकामा महिला बेरोजगारी पुरूषको तुलनामा उच्च रहेको छ।

तस्बिर स्रोत, Getty Images
प्यू रिसर्च सेन्टरले ३४ देशमा गरेको एउटा अध्ययनले धेरै देशहरूमा पुरूषको तुलनामा महिलालाई रोजगारीको हक कम भएको सोचाइ छ।
मानिसहरूलाई कठिन अवस्थामा पुरूषलाई बढी रोजगारीको अधिकार दिइनुपर्छ कि पर्दैन भनेर सोधिएको थियो।
भारत र ट्युनिसियामा झण्डै ८० प्रतिशतले त्यसमा सहमति जनाएका थिए भने टर्की, इन्डोनेसिया, फिलिपिन्स र नाइजेरीयामा ७० प्रतिशत बढी उक्त धारणाको पक्षमा थिए।
केन्या, दक्षिण अफ्रिका र लेबनन्मा पनि ५० प्रतिशत भन्दा बढीले सो धारणाप्रति समर्थन जनाएका थिए।

तस्बिर स्रोत, Getty Images
एक कदम अघि, एक कदम पछि
रामोसका अनुसार महामारीको समयमा जस्तो असर देखिए पनि त्यो अन्तत: हटेर जानेछ र त्यसले व्यवसायहरूले अवलम्बन गर्न थालिसकेको नयाँ वास्तविकतालाई बाटो खोलिदिनेछ।
उनका अनुसार कतिपय कम्पनीहरूले कामदारको व्यक्तिगत अवस्थालाई मानक बनाउँदै लचिलो खालको विकल्प समेत दिन थालेका छन्।
एक अर्ब डलर बराबरको विश्वव्यापी पोर्टफोलियो व्यवस्थापन गरेको सम्पत्तिसम्बन्धी कम्पनीकी प्रमुख कार्यकारी लुसियाना बारोस भन्छिन्, ‘मलाई लाग्छ हामी एक कदम पछि र दुई कदम अघि बढ्नेछौँ।”
उनका अनुसार महिलाहरू आफ्नो ‘स्वतन्त्रता र सन्तुष्टिका लागि’ करिअरको महत्वबारे बढी सचेत छन् “त्यही भएर लैङ्गिक समनताको लडाइ यही अन्त्य हुँदैन।”
उनको विश्वासमा महामारीपछिको श्रम बजारमा महिलाहरूले आफ्नो करिअरको “स्वामित्व’ लिनु महत्वपूर्ण हुनेछ र कम्पनीहरूलाई उनीहरूले साँच्चै योग्यतालाई महत्व दिन्छन् कि दिदैँनन् भनेर प्रश्न गर्नुपर्नेछ।








