कोरोना भाइरस: 'संसार बदल्न कोरोनाभाइरसको सङ्कट हाम्रा लागि एउटा मौका हो'

A group of people holding hands

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इतिहासकार तथा लेखक रटगर ब्रेगमन महामारी विश्वमा राम्रो परिवर्तन ल्याउने एक मौका ठान्छन्
    • Author, इभा ओन्टीभेरोस
    • Role, बीबीसी विश्व सेवा

सन् २०२० ले विश्वलाई बदलेको कुरा हामीलाई थाहा छ।

विश्वभर कोरोनाभाइरसको सङ्क्रमण फैलिरहँदा यसले थुप्रै देशको स्वास्थ्य र सम्पत्ति ध्वस्त बनाएको छ र यसअघि कहिल्यै नदेखिएको र लामो समयदेखि रहँदै आएको जातिवादको असर, असमानता र सामाजिक अन्याय थप स्पष्ट रूपमा देखिएको छ।

थुप्रै मानिसले ब्ल्याक लाइभ्स म्याटर आन्दोलन देखि लैङ्गिक असमानताविरुद्ध र्‍यालीहरू निकालेका छन्।

के मानिसहरूले महामारीको समयलाई सुन्दर समाज निर्माण गर्ने मौकाको रुपमा प्रयोग गर्न सक्छन्?

इतिहासकार तथा सामाजिक सञ्जालमा समेत चर्चित रहेका रटगर ब्रेगमनलाई लाग्छ यो हाम्रा लागि उत्कृष्ट अवसर हो।

अर्बपतिहरूमाथि प्रश्न

इतिहास, दर्शन र अर्थशास्त्रबारे किताब लेखेका ब्रेगमनका पुस्तकहरू ३० भन्दा बढी भाषामा अनुवाद भएका छन् र विश्वभर उनलाई लाखौँ मानिसले पढ्छन्।

डाभोसमा अर्बपतिहरू भेला भएको विश्व आर्थिक मञ्चमा राखेका कुराले उनी एकाएक चर्चामा आए।

"पृथ्वीको विनास हामी कसरी गर्दैछौँ भनेर वातावरणविद्लाई सुन्नका लागि १५ सय निजी विमानहरू उडेका छन्," उनले भने।

मूर्खतापूर्ण कल्याणकारी योजनाहरूबारे बोल्न छोडेर अर्बपतिहरू कर छलीको खास मुद्दामा केन्द्रित हुनुपर्ने उनले बताएका थिए।

प्रत्येक सङ्कट एउटा निर्णायक मोड हुनसक्छ

बीबीसीसँग बोल्दै ब्रेगमनले भने, “कोरोनाभाइरसको सङ्कटले अध्याँरो बाटोतर्फ लैजाने कुरा कल्पना गर्न धेरै सजिलो छ तर इतिहासलाई हेर्दा सङ्कटको समयलाई शक्तिमा हुनेहरूले दुरुपयोग गरेका छन्।”

सेप्टेम्बर ११ को सम्झनामा गरिएको एक समारोहमा अमेरिकी झण्डाहरूबीच एक महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकामा सेप्टेम्बर ११ को जस्तो सङ्कटले परिवर्तन ल्याउने रटगरको विश्लेषण छ

तर आशावादी हुने राम्रा कारणहरू पनि छन्। केही वर्ष अघिसम्म कट्टर लाग्ने योजनाहरू अहिले विस्तारै “मूलधारतर्फ उन्मुख छन्।”

“धनीलाई धेरै कर, जलवायु परिवर्तनको समस्याका लागि नयाँ सम्झौताहरू र गरिबी उन्मुलनका लागि विश्वव्यापी रुपमा आधारभूत आम्दानी” जस्ता कुराहरू आशावादी छन्।

पाँच वर्षअघि यी कुनै पनि विषय एजेण्डा पनि हुँदैन थिए। तर अहिले त्यसबारे विश्वभरी नै नीतिनिर्माता र राजनीतिज्ञहरू कुरा गर्न थालेका छन्।

अमेरिका र विश्वभर ब्ल्याक लाइभ्स म्याटर आन्दोलन चल्नु पनि त्यही भएको ब्रेगमन बताउँछन्: "हामीलाई लाग्नसक्छ कि जातिवाद झन् खराब हुँदैछ भनेर तर हामी पहिला कहिल्यै नगरेजसरी यसबारे कुरा गर्दैछौँ।"

"जातिवाद हाम्रो इतिहासमा गहिरो गरी गडेको छ तर विश्वभर प्रदर्शनकारीहरूले विरोध गरेको देख्दा आशा गर्ने ठाउँहरू छन्: हामीले परिवर्तन गर्नसक्छौँ र गर्नैपर्छ भन्ने यसले देखाएको छ।"

समाजमा कसले अर्थ राख्छ भन्ने बोध गर्नु

ब्रेगमनका लागि महामारीका बेला देखिएको एउटा रोचक क्षण भनेको विश्वभर सरकारहरूले अत्यावश्यकीय क्षेत्रका कामदारको सूची बनाएको बेला हो।

यो भनेको सर्वसाधारणको स्वीकारोक्ति हो कि साँच्चै अर्थ राख्ने मानिस भनेका फोहोर उठाउनेहरू, शिक्षक र नर्स हुन्।

"हामीले कामको मूल्यबारे पुनर्विचार गर्नसक्छौँ। सन् १९८० र ९० को दशकमा युवाहरूलाई सफल हुनुको अर्थ वालस्ट्रीट जानु वा सिलिकन भ्याली जानु हुनसक्थ्यो।"

तर अहिलेका युवा पुस्ताले सोच्न सक्छन्, "सायद म अर्थ राख्ने केही काम गर्न चाहन्छु। केही योगदान पुग्ने काम गर्न सक्छु।"

उचित ज्याला र कामको सम्मान

"हामी यहाँ दुईवटा कुरा गर्दैछौँ: कामको सम्मान र त्यसबाट पाइने आम्दानी।"

स्कूटर चलाउँदै हिँडेकी चिनिया बालिका

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हामी आशावादी हुने हो सकारात्मक होइन- यी दुई भिन्न कुरा हुन्

"हालैका अनुसन्धानहरूले आधुनिक अर्थतन्त्रमा करिब २५ प्रतिशत कामदारलाई आफूले गरेको कामले कुनै अर्थ नराख्ने लाग्छ भन्ने देखाएका छन्।"

धेरैजसो अवस्थामा यी मानिसहरूले राम्रो तलब पाउँछन् र उत्कृष्ट विश्वविद्यालयमा जान्छन् तर पनि उनीहरूलाई उनीहरूको योगदानले के अर्थ राख्छ भन्ने थाहा नभएको ब्रेगमनले बताए।

"यो चाहिँ सही अर्थमा बेहोर्न नसकिने अवस्था हो। कोरोनाभाइरसले यसलाई पनि निर्णायक विन्दु बनाउने म आशा गर्छु।"

विश्व बदल्ने पुस्ता

अहिलेका युवाहरू विश्वले अहिलेसम्म देखेका मध्येकै सबैभन्दा प्रगतिशील पुस्ता हो।

रटगर ब्रेगमनको तस्बिर

तस्बिर स्रोत, DeCorrespondent

तस्बिरको क्याप्शन, परिवर्तन गर्ने मौका यही हो

"उनीहरू लोकतन्त्रका समर्थक हुन्, परिवर्तन चाहन्छन् र जलवायु परिवर्तनले निम्त्याउने सङ्कटबारे जानकार छन्। उनीहरू बढ्दो असमानताबारे पनि आक्रोशित छन्।"

ब्रेगमन भन्छन् यदि ४० वर्षमुनिका मानिसले मात्रै मतदान गर्न पाउने हो भने हामीले अहिले सत्तामा फरक प्रकृतिका विश्व नेताहरू पाउँथ्यौँ।

सम्भ्रान्त र उनीहरूको सहन नसकिने खालको व्यवहारले युवा पुस्तालाई झक्झकाइरहेको उनी बताउँछन्।

"सम्भ्रान्तहरूले नै बाँकी मानिसका लागि नियमहरू बनाउँछन् र ती नियमहरू उनीहरू स्वयंका लागि भने लागु भएको देखिँदैन।"

उनले त्यसका लागि डोमिनिक कमिङ्ग्सको उदाहरण दिए जसले युकेमा लकडाउनको नियम तोडेको स्पष्ट देखिए पनि राजीनामा दिनुपरेन।

युवालाई सन्देश

Swedish environment activist Greta Thunberg speaks at a climate protest outside the White House in Washington, DC on September 13, 2019.

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ग्रेटा थनबर्ग 'यो विश्वले देखेको सबभन्दा प्रगतिशील पुस्ता'को एक सदस्य रहेको ब्रेगमन बताउँछन्

ब्रेगमन चाहन्छन् कि युवाहरूले “सबैकुरा ठिक हुन्छ” भन्ने सन्देशलाई विश्वास गर्न हुँदैन।

उनी भन्छन्, "जलवायु परिवर्तन, विभिन्न प्रजातिहरू लोप हुने जस्ता साँच्चै चिन्तित हुनुपर्ने विषयहरू छन्। र, हामीले यसअघि नगरेका कामहरू गर्नुपर्नेछ: केही दशकभित्रै हामीले पूरै अर्थतन्त्रमा सुधार ल्याउनका लागि क्रान्ति गर्नुपर्नेछ।"

त्यसो भए तपाईँ के गर्न सक्नुहुन्छ? "मलाई लाग्छ तपाईँ परिवर्तनको सम्भाव्यताबारे आशावादी बन्न सक्नुहुन्छ। समाधानको एउटा हिस्सा बनेर काम गर्नसक्नुहुन्छ।"