कोरोना भाइरस अर्थतन्त्र: भाइरसको प्रभावले अर्बौँ मानिस थलिने

तस्बिर स्रोत, Getty Images
- Author, दर्शिनी डेभिड
- Role, विश्व व्यापार सम्वाददाता
विश्व ब्याङ्कका प्रमुखले कोरोनाभाइरस महामारीलाई विश्व अर्थतन्त्रका निम्ति घातक धक्का भन्दै त्यसले अर्बौँ मानिसको जनजीविका प्रभावित भएको बताएका छन्।
बीबीसीसँगको अन्तर्वार्तामा डेभिड मालपासले सरकारहरूलाई वृद्धि पुनर्स्थापित गराउन नयाँ प्रणालीहरू निर्माण गर्न आह्वान गरे।
लामो र कठोर असर
भाइरसको आर्थिक असर एक दशकसम्म रहिरहनसक्ने उनले बताए।
यसअघि मे महिनामा उनले कोरोनाभाइरसका कारण ६ करोड मानिस अति गरिबीमा घचेटिने बताएका थिए।
विश्व ब्याङ्कका अनुसार अति गरिबीको वर्गमा दैनिक दुई अमेरिकी डलरभन्दा कममा निर्वाह गर्न वाध्य मानिस पर्छन्।
"महामारीको असर अनि त्यसपछि लकडाउनहरूका कारण अर्बौँ मानिसको जनजीविका बिथोलिएको छ। त्यो चिन्ताजनक छ।
"गुमेको आम्दानी जस्तो प्रत्यक्ष प्रभाव अनि स्वास्थ्य तथा सामाजिक रूपमा परेका अन्य प्रभाव निकै कठोर छन्," उनले भने।
मालपासले प्रभाव बहन गर्न नसक्ने वर्गमै सबभन्दा धेरै असर पर्ने बताए।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

समृद्धि पुनर्स्थापना कसरी?
सही योजना कार्यान्वयन गरिए जीवन तथा जीविका पुनर्स्थापित गर्न सकिनेमा आफू विश्वस्त रहेको उनले बताए।
त्यस्ता योजनामा गरिब देशहरूलाई ऋणमा राहत तथा अति जोखिममा रहेका मानिसहरूलाई सरकारहरूको सहयोग रहेको उनले बताए।

तस्बिर स्रोत, Getty Images
विश्व ब्याङ्कले सबभन्दा धेरै प्रभावित देशहरूलाई सहयोग गरिरहेको तर अझ धेरै गर्न जरुरी रहेको बताएको छ।
उसले ब्याङ्क तथा पेन्सन कोषजस्ता व्यापारिक कर्जादाताहरूलाई पनि गरिब देशलाई कर्जामा राहत दिन आग्रह गरेको छ।
ऋणका शर्तहरू स्पष्ट बनाइदिए अन्य लगानीकर्तालाई त्यस्ता अर्थतन्त्रमा स्रोत लगाउन सहज हुने पनि मालपासले बताएका छन्।
अर्थतन्त्रहरूलाई पुनर्निर्माण गर्न निजी क्षेत्र उकास्ने गरि सरकारी सहयोग हुनु पर्ने विश्व ब्याङ्कले बताएको छ।
समृद्धि पुनर्स्थापित गर्नका निम्ति पर्यटनजस्ता स्थायी रूपमै रोजगारी गुमेका हुनसक्ने क्षेत्रहरूको साटोमा रोजगारीका नयाँ अवसर सृजना हुने गरि नयाँ वातावरण बनाउनु पर्ने उनले बताए।
अन्तत: यो महासङ्कटबाट मानिसले पार पाउनेपनि मालपासले बताए।
"म आशावादी हुँ। दीर्घकालमा भन्नुपर्दा मानवको प्रकृति दह्रो छ र नवप्रवर्तन पनि हुनेछ। संसार निकै तीव्रगतिमा बदलिँदो छ। र, अहिलेजस्तो सम्पर्कसञ्जाल कहिल्यै थिएन। यसले भविष्यप्रति आशा जगाउँछ।"








