नेपाल-भारत-चीन: 'भारतसँगको सम्बन्धबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीच एकरूपता देखिएन'

तस्बिर स्रोत, RSS
संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा बोल्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमवार नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक वार्ताबाटै समाधान गरिने कुरा दोहोर्याए।
राष्ट्रिय सभामा बोल्दै ज्ञवालीले भने, "विभिन्न देशहरूसँग हाम्रो अहिले पनि छलफल चलिरहेका छन्। तर एउटा मुद्दामा छलफल चले पनि बाँकी विषयहरूमा हाम्रा मित्रताहरू पूर्ववत् नै छन्।"
"हाम्रा सम्बन्धहरू पूर्ववत् नै छन्। ती सम्बन्धहरू पूर्ववत् नै रहनुपर्छ।"
पछिल्लो समय विवादित देखिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटेर राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा सार्वजनिक गरेपछि र निशानछापमा अङ्कित गर्नेगरी संसद्बाट पारित भएपछि भारत र नेपालको सम्बन्ध पूर्ववत् नरहेको भन्ने टिप्पणीहरूमाझ सोमवार परराष्ट्रमन्त्रीले संसद्मा यस्तो बताएका हुन्।
उनले सम्बोधनकै क्रममा भने, "एउटा मुद्दामा छलफल हुनसक्छ। मुद्दाहरूमा देशहरूको बीचमा मतभिन्नताहरू पनि हुन सक्छन्। कहिलेकाहीँ गम्भीर मतभिन्नताहरू पनि हुन सक्छन्। तर त्यसले समग्र एउटा सम्बन्धको आयाम कहीँ कतै प्रभावित हुनुहुँदैन।"
राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने कांग्रेसका सांसदहरूले भने परराष्ट्रमन्त्रीले दिएको उक्त अभिव्यक्ति र आइतवार प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा तालमेल नरहेको बताएका हुन्।
नेपाली कांग्रेसको तर्फबाट सांसद रहेका राधेश्याम अधिकारीले बीबीसीसँग भने, "आइतवार प्रधानमन्त्रीले आफूलाई पदबाट हटाउन खेल हुँदैछ भनेर भारतसँगको जुन प्रकारको सम्बन्ध देखाउनुभएको थियो सोमवार परराष्ट्रमन्त्रीले दिएको अभिव्यक्तिबीच ठूलो अन्तर देखिन्छ। तीनमा कुनै तालमेल छैन।"

तस्बिर स्रोत, RSS
आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा आयोजित एक कार्यक्रममा आफूलाई विगतमा जस्तै पदबाट हटाउन खोजिएको दाबी गरेका थिए।
उनले भनेका थिए, "…नक्सा छापेबापत, संविधानमा नक्सा सामेल गरेबापत यस देशका प्रधानमन्त्रीलाई कसैले हटाउँछु भन्ने सपना देखेको छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन।"
राष्ट्रिय सभामा कांग्रेसकै अर्का सांसद प्रकाश पन्थीले पनि परराष्ट्रमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको बताए।
नेपाल भारतबीच वा वा नेपाल चीनबीचको सीमालाई लिएर दिइएको अभिव्यक्ति चित्त बुझ्दो नभएको उनले बताए।
"पछिल्लो समय चीन र नेपालबीच पनि सीमा विवाद रहेको भन्ने कुरा समाचारहरूमा आइरहेको छ। ती समाचार झुटा हुन् भनेर परराष्ट्रमन्त्रीले भन्नुभयो तर कसरी झुटा हुन् भन्नुभएन," पन्थीले बीबीसीसँग भने।
"चीनसँगको सीमामा स्तम्भ किन राख्न सकिएन भन्ने प्रश्नमा पनि उहाँले चित्तबुझ्दो जवाफ दिनसक्नुभएन।"
उनले चीनसँगको सीमा विवादमात्रै नभइ भारतसँगको वार्ताबारेका पछिल्लो विवरण पनि चित्तबुझ्दो दिन नसकेको बताए।
"भारतसँग पछिल्लो संवादमा के समस्या छ भन्ने प्रश्नमा पनि समस्या छैन भन्ने जवाफ आयो तर प्रगति के भइरहेको छ भन्ने जवाफ आएन। फेरि परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले आइतवार र सोमवार दिएकै अभिव्यक्तिमा पनि एकरूपता देखिएन। स्पष्ट बहुमत भएर पनि भित्रभित्रै कमजोर हुँदै गएको ढाकछोप गर्न खोजेजस्तो देखियो," सांसद पन्थीले भने।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राष्ट्रिय सभामा बोल्दै सीमाबारे उत्तरी छिमेकी चीनसँग कुनै समस्या नरहेको बताएका थिए।
त्यस्तै उनले सगरमाथाको उचाइबारे चीनसँग सूचना आदानप्रदान भइरहेको बताएका थिए।








