भारत-चीन सीमा विवादः लद्दाख घटनापछि नेपाल र भारतबीच उत्पन्न नक्सा विवादमा कस्तो असर पर्ला?

तस्बिर स्रोत, Getty Images
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
लद्दाखको सीमामा भिडन्त भएपछि विकसित घटनाक्रमका कारण भारत र चीनबीच अझै कटुता बढे नेपालमा पनि त्यसको असर पर्न सक्ने आशङ्काप्रति विज्ञहरूले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन्।
गत सोमवार राति चिनियाँ र भारतीय सैनिकबीच भिडन्त हुँदा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भारतले पुष्टि गरेको छ। चीनतर्फ पनि केही सैनिक हताहत भएको भारतको दाबी भए पनि चीनले त्यसबारे केही बोलेको छैन।
नेपालले हालै जारी गरेको नयाँ नक्सा संविधान संशोधनमार्फत् निशान छापमा समेटिएको समयमै भारत र चीनबीच तनाव चर्किँदा नेपाल र भारतबीच विद्यमान सीमा विवादबारे सम्भावित वार्ता छायामा पर्न सक्ने देखिएको केही विज्ञले बताएका छन्।
अहिले भारत र चीनबीच विकसित घटनाक्रमले एशियाका दुई क्षेत्रीय शक्तिबीच 'युद्ध नभए पनि ठूलो विश्वासको सङ्कट' सिर्जना गरेको एकथरीको भनाइ छ।
चीनले सैन्य तथा कूटनीतिक माध्यमबाट कुराकानी भइरहेको र उक्त घटना भएको स्थानमा अवस्था स्थिर रहेको दाबी गरेको छ।

'आत्मसमीक्षा'
भारतका लागि नेपाली राजदूत भइसकेका नेपाली काङ्ग्रेसका नेता दीपकुमार उपाध्यायले नेपालसँगको सम्बन्ध कम्तीमा भारतका लागि 'चीन वा पाकिस्तानजस्ता उसका परम्परागत समस्याहरूबाट' निर्देशित नहुने ठान्छन्।
उपाध्याय भन्छन्, "नेपालले पटकपटक भारतका गतिविधिमाथि असन्तुष्टि जनाउँदा पनि नसुन्नु उसको कमजोरी थियो। त्यो नेपालले लिएको नक्सा जारी गर्ने बाध्यात्मक कदमपछि उनीहरूले अहिले आत्मसमीक्षा गरेको पनि देखिन्छ।"
नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र देखिनेगरी आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि केही भारतीय उच्च अधिकारी र विज्ञले नेपाल चीनतर्फ ढल्किएको अभिव्यक्ति दिएका थिए।
अब कतै नेपालप्रतिको भारतीय दृष्टि झन् संशययुक्त त हुँदैन भन्ने प्रश्नमा उपाध्यायले त्यस्तो सम्भावना न्यून भएको बताए।
"यतिखेर विश्वासको सङ्कट उत्पन्न भएका बेला त्यसो लागेको मात्र हो। नत्र चीनतर्फ त हामीभन्दा बढी त भारतीयहरू नै ढल्केका छन्। प्रविधि, व्यापार वा कूटनीतिक संवादकै हेर्ने हो भने उनीहरूको अन्तर्क्रिया बढ्ता छ।"
अहिलेको अवस्था
पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा पनि भारत-चीनबीच विद्यमान अवस्थालाई सन् १९६२ को युद्धसँग तुलना गर्न नहुने ठान्छन्।

"उतिखेर युद्ध नै थियो भने यतिखेर झगडा मात्र हो। दुई देशले नै संवादमार्फत् अवस्था मत्थर पार्न खोजिरहेका बेला हाम्रो प्रार्थना र सद्भाव समेत शान्तिकै लागि हुनुपर्छ।"
भारतसँगको सीमा विवाद सुल्झाउने प्रयासमा पनि यस घटनालाई नै जोडेर निराश हुनुनपर्ने थापा बताउँछन्।
उनको भनाइ छ, "यी अलगअलग समस्या हुन्। एकले अर्कोलाई असर गर्छ भनेर ठान्नु ठिक हुँदैन।"
नेपाली सेनाका एकजना अवकाशप्राप्त मेजर जनरल विनोज बस्न्यात चाहिँ अहिलेको झडप 'लडाइँ हुन नदिन बरु आफ्ना अडान कायम गर्नका लागि' भएको ठान्छन्।
'चीनसँग पनि संवाद आवश्यक'
सन् १९६२ को युद्धमा झैँ पछिल्लो घटनाबाट भारतका लागि कालापानीको महत्त्व झन् बढेको बस्न्यातको ठम्याइ छ।

उनले भने, "लिम्पियाधुरा-कालापानी हिजोका दिन विवादित भूमि थियो तर नयाँ नक्सा जारी भएपछि अब त्यो दुवै देशको लागि अधीनस्थ भूमि बनेको छ।"
नेपालको जोड अबको दिनमा झन् बढी वार्तामै हुनुपर्ने बताउँदै बस्न्यात भन्छन्, "वार्ताबाट उपाय ननिकालिए सीमाको समस्या अगाडि नबढेर यथास्थिति कायम रहने देखिन्छ।"
सन् २०१५ मा भारतसँगको एउटा समझदारीमा चीनले समेत त्रिदेशीय बिन्दु लिम्पियाधुरा नमानीकन लिपुलेक मानेको तथ्यको बेइजिङसँग नेपालले उत्तर खोज्नुपर्ने पूर्वराजदूत उपाध्यायको मत छ।
बस्न्यात पनि यसमा सहमत छन्।
"यो हामी आफूलाई झन् बढी बलियो स्थितिमा लैजाने समय हो। चीनसँगको सीमा सन्धि पुनः समीक्षा गरेर तात्कालिक सीमा स्तम्भहरू हेर्नुपर्छ। जुन हाम्रो अडान बलियो बनाउने आधार हो," उनले भने।

तस्बिर स्रोत, GoN
नेपाल-भारत सीमा विवादको हालैको घटनाक्रम
- विसं २०७६ कार्तिक १६: भारतले जम्मू-कश्मीर र लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि जारी नयाँ नक्सामा लिम्पियाधुरा-कालापानी समावेश
- विसं २०७६ कार्तिक २०: कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट रहेको परराष्ट्र मन्त्रालयको विज्ञप्ति
- विसं २०७६ कार्तिक २१: भारतको विदेश मन्त्रालयले आफ्नो नयाँ नक्सामा नेपालसँगको सीमामा कुनै हेरफेर नगरेको भनाइ
- विसं २०७६ मङ्सीर ३: भारतको नयाँ नक्साबारे भारत सरकारलाई 'कूटनीतिक नोट' पठाउँदै सुगौली सन्धिअनुसार काली (महाकाली नदी) पूर्वको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएको कुरा पुन:स्मरण गराइएको नेपालको परराष्ट्र मन्त्रालयको भनाइ
- विसं २०७७ वैशाख २६: भारतका रक्षामन्त्री राजनाथ सिंहद्वारा नेपालले दाबी गरेको धार्चुला-लिपुलेक क्षेत्रमा निर्मित तिब्बतमा रहेको कैलाश मानसरोवर जोड्ने सम्पर्क सडक सञ्जालको भिडिओ कन्फरेन्समार्फत् उद्घाटन
- विसं २०७७ वैशाख २७: सडक निर्माण गर्ने एकतर्फी गतिविधि प्रधानमन्त्रीका तहमा समेत गरी दुई देशबीच भएका समझदारी विपरीत रहेको नेपालको भनाइ
- विसं २०७७ वैशाख २७: भारतको विदेश मन्त्रालयले सडक सञ्जाल उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा पर्ने भारतीय सीमा भित्रै रहेको प्रतिक्रिया
- विसं २०७७ जेठ ७: नेपालको मन्त्रिपरिषद्ले पारित गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी
- विसं २०७७ जेठ ३१: नेपालले जारी गरेको नयाँ नक्सा अनुसार निशान छाप परिमार्जन गर्ने प्रस्ताव गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित








