कोरोना भाइरस चीनः बेइजिङनजिक सङ्क्रमण बढेपछि चार लाख मानिस लकडाउनमा

तस्बिर स्रोत, Getty Images
चीनले राजधानी बेइजिङनजिकै कोरोनाभाइरस सङ्क्रमण बढेपछि चार लाख मानिस प्रभावित हुनेगरी कडा लकडाउन गरेको छ।
यो प्रतिबन्ध खबे प्रान्तको आक्सिन क्षेत्रमा गरिएको हो।
गत वर्षको अन्त्यमा सुरु भएको कोरोनाभाइरसको महामारी संसारभरि फैलिए पनि चीनमा सङ्क्रमण कम राख्न त्यहाँको प्रशासन सफल भएको छ।
दोस्रो लहर फैलिन नदिन त्यहाँका स्वास्थ्य अधिकारीहरू थोरै सङ्क्रमणलाई पनि गम्भीरतापूर्वक लिइरहेका छन्।
खबेमा के हुँदैछ?
आइतवार अधिकारीहरूले आक्सिन क्षेत्र पूर्ण रूपमा नियन्त्रणमा रखिने बताएका थिए।
अत्यावश्यक सेवाका कर्मचारीहरू मात्रै घरबाट निस्किन पाउँछन् भने एउटा घरबाट एक जनामात्रै दिनमा एक पटक अत्यावश्यक किनमेल गर्न बाहिर जान पाउँछन्।
कुनै पनि घर वा समुदाय वा गाउँमा बाहिरको मान्छेको प्रवेश निषेध गरिएको छ र त्यो नियम पालना नगर्नेलाई प्रहरीले कारबाही गर्ने बताइएको छ।
आक्सिन बेइजिङबाट १५० किलोमिटर दक्षिणमा रहेको छ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार त्यहाँ गएको दुई हप्तामा १८ जनामा सङ्क्रमण फेला परेको थियो।
आक्सिनमा चीनका ठूला सहरी क्षेत्रमा जस्तो जनघनत्व उच्च नभएकोले त्यहाँको सङ्क्रमण नफैलिने कुरामा अधिकारीहरू सकारात्मक रहेको बताइएको छ।
बेइजिङको अवस्था के छ?
चीनमा हालैका दिनहरूमा नयाँ सङ्क्रमणको सङ्ख्या निकै कम छ।
गएको २४ घण्टामा बेइजिङमा १४ नयाँ सङ्क्रमण भएको थियो। जुनको मध्यदेखि यता त्यहाँको कुल सङ्क्रमित सङ्ख्या ३११ छ।
बेइजिङमा गएको जुनको मध्यतिर सङ्क्रमण देखिएपछि चीनले तुरुन्तै केही क्षेत्रलाई लकडाउन गर्दै व्यापक रूपमा परीक्षण गरेको थियो।
त्यसअघि त्यहाँ ५७ दिनसम्म नयाँ सङ्क्रमण देखिएको थिएन।
चीनमा हालसम्म सङ्क्रमित कुल सङ्ख्या लगभग ८५ हजार छ।










