किम यो-जङ: उत्तर कोरियाकी सबैभन्दा शक्तिशाली महिला र सर्वोच्च नेताकी सम्भावित उत्तराधिकारी

Kim Yo-jong

तस्बिर स्रोत, Reuters

केही वर्षयता किम यो-जङ प्योङ्याङको अपारदर्शी सत्तामा महत्त्वपूर्ण व्यक्तिका रूपमा उदाएकी छन्।

उनी उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-अनकी कान्छी बहिनी हुन्। आफ्ना भाइबहिनीमध्ये उनलाई किमका एक मात्रै सहयोगी मानिन्छ।

किम वंशका तर्फबाट पहिलो पटक दक्षिण कोरियाको भ्रमण गर्ने सदस्य बनेपछि सन् २०१८ मा किम यो-जङ अन्तर्राष्ट्रिय स्तरमै चिनिएकी थिइन्।

उत्तर कोरिया र दक्षिण कोरियाले संयुक्त टोलीका रूपमा विन्टर ओलिम्पिक्समा प्रतिस्पर्धा गरेका बेला उनी उक्त टोलीको प्रतिनिधिमण्डल सदस्यका रूपमा त्यहाँ पुगेकी थिइन्।

त्यसपछि किम जङ-अनले दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इन, चिनियाँ राष्ट्रपति सी जिन्पिङ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट गर्दा पनि उनी उपस्थित थिइन्।

आफ्ना दाइसँगको घनिष्ठ सम्बन्ध र एप्रिल २०२० मा असामान्य रूपमा उनी सार्वजनिक कार्यक्रममा नदेखिएका बेला राजनीतिक तहमा किम यो-जङको बढ्दो भूमिकाका कारण उनी फेरि चर्चाको केन्द्रमा आइन्।

गत एप्रिलमा किम अस्थायी रूपमा सार्वजनिक कार्यक्रममा नदेखिनुले उनको स्वास्थ्य अवस्थाबारे संशय उत्पन्न भएको थियो। त्यस बेला किम यो-जङलाई सम्भावित उत्तराधिकारीमध्ये हेरिएको थियो।

सन् २०१७ को अक्टोबर महिनामा किम यो-जङको भूमिका बढाउँदै उनलाई शक्तिशाली पोलिटब्यूरोमा मनोतीत गरिएको थियो।

त्यसअघि उनी प्रचार विभागको उपनिर्देशकका रूपमा कार्यरत थिइन् र उनलाई आफ्नो काममा प्रभावशाली मानिन्थ्यो। आफ्ना दाइको सार्वजनिक छवि हेर्ने उक्त पद अहिले पनि उनले सम्हालिरहेको ठानिन्छ।

किम जङ-अन र किम यो-जङ

तस्बिर स्रोत, Getty Images

मानव अधिकार हननका विषयमा कथित सम्बन्धका कारण उनीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ।

त्यसको अर्थ अमेरिकी नागरिकहरूले उनीसँग कुनै पनि किसिमको कारोबार गर्न पाउँदैनन्।

अमेरिकामा उनको सम्पत्ति रहे त्यो रोक्का हुनेछ।

उनी कति शक्तिशाली छिन्?

उत्तर कोरियाको शक्ति संयन्त्रबारे बुझ्न निकै कठिन छ जस कारण किम यो-जङको आफ्नै राजनीतिक सम्बन्ध के कति छ भनेर अनुमान गर्न गाह्रो छ।

उनको विवाह शक्तिशाली पार्टी सचिव तथा पार्टीमा किमपछिको शीर्ष स्थानमा रहेका चोय-र्‍योङ हेअका छोरासँग भएको बताइन्छ।

किम यो-जङ

तस्बिर स्रोत, Getty Images

एनके न्यूजका ओलिभर होथम भन्छन्, "उनको उमेर झन्डै ३० वर्षको छ र उत्तर कोरियामा यो उमेर समूह खासै प्रभावशाली नरहेका कारण उनका दाइ को हुन् भन्ने कुराले उनलाई महत्त्व राख्छ।"

एनके न्यूजका अनुसार पछिल्लो समय उनले दक्षिण कोरियाविरुद्ध कैयौँ कडा सन्देश दिएकी छिन् र दुई देशबारे विषयमा जानकारी राख्ने महत्त्वपूर्ण व्यक्ति बनेकी छिन्।

जुन महिनामा किम यो-जङले दुई देशलाई विभाजन गर्ने असैनिकीकृत क्षेत्र (डीएमजी) मा सेना पठाउने चेतावनी दिएकी थिइन्।

त्यस्तो चेतावनी दिइनुमा उत्तर कोरियाको सत्ताविरुद्ध बलूनमार्फत् सीमापारि पर्चा पठाइने कार्य दक्षिण कोरियाले रोक्न नसक्नु पनि रहेको बताइन्छ।

किम यो-जङ र किम जङ-अन

तस्बिर स्रोत, KCNA

उनले उत्तर कोरियाले सीमावर्ती सहर गेसङमा दक्षिण कोरियासँग मिलेर बनाइएको दुई देशबीचको एउटा संयुक्त सम्पर्क कार्यालय ध्वस्त पार्ने चेतावनी दिएकी थिइन्।

त्यसको केही दिनपछि जुन १६ तारिखमा गेसङमा ठूलो विस्फोटन भएको आवाज सुनिएको र धुवाँ उडेको देखिएको थियो।

आफूहरूले मर्मतका लागि करिब ८० लाख अमेरिकी डलर दिएको उक्त कार्यालय ध्वस्त भएको सोलले पुष्टि गरेको छ।

किम वंश

किम जङ-अनको उत्तराधिकारी छान्ने विषयमा पारिवारिक सम्बन्ध महत्त्वपूर्ण हुनेछ।

उनका सन्तान भएको विश्वास गरिन्छ। तर उनीहरू सानै छन्।

किम यो-जङ किम वंशकै छोरी भएकाले पनि सरकारी सञ्चारमाध्यमलाई सत्ता परिवर्तनको औचित्य सिद्ध गर्न सहज हुनेछ।

तर एउटै वंश हुनुको अर्थ के पनि हुन्छ भने यदि उनी उत्तराधिकारीका रूपमा छानिइन् भने नयाँ नेताले उनलाई खतरनाक विपक्षीका रूपमा हेर्नेछन्।

किम जोङ-अन र किम यो-जङ

तस्बिर स्रोत, Getty Images

"किम परिवारबाट अर्का सदस्य देखा नपरेको अवस्थामा उनका लागि परिस्थिति सहज हुनेछ," सोलस्थित कुक्मिन विश्वविद्यालयका फ्योडोर तेर्टिट्सकी भन्छन्।

"या त उनले सर्वोच्च नेताको पद प्राप्त गर्नेछिन् वा सबै शक्ति गुमाउनेछिन्। उनले ज्यान नै गुमाउन सक्ने सम्भावना पनि रहन्छ।"

सत्तारूढ परिवारमा उनको स्थान

किम यो-जङ किम जङ-इलकी कान्छी छोरी हुन्।

किम जङ-अन, उनका दाइ किम जङ-चल र किम यो-जङ एकै आमाका सन्तान हुन्।

किम जङ-चलको राजनीतिमा त्यति धेरै रुचि नभएको बुझिन्छ।

उत्तर कोरिया

तस्बिर स्रोत, Getty Images

सन् १९८७ मा जन्मेकी उनी किम जङ-अनभन्दा चार वर्ष कान्छी छिन्। उनीहरूको स्विट्जरल्यान्डमा एकै समय शिक्षादीक्षा भएको थियो।

उनी अध्ययन गरेको विद्यालयका अनुसार उनलाई निकै धेरै स्याहार गरिन्थ्यो। एक पटक सामान्य चिसो लागेका अवस्थामा उनलाई अस्पताल नै लगिएको थियो।

प्रकाशित विवरणहरूका अनुसार किम परिवारका धेरै सदस्यले उनीसँग धेरै कुराकानी गर्ने अवसर पाएका थिएनन्।

उनी के गर्छिन्?

सन् २०१४ देखि उनको मुख्य भूमिका आफ्ना दाइको छविको रक्षा गर्नु हो। उनी पार्टीको प्रोपग्यान्डा विभागकी प्रमुख सदस्य हुन्।

सन् २०१७ मा उनलाई पार्टीको पोलिटब्यूरोको अतिरिक्त सदस्यका रूपमा अघि सारिनुले उनको बढुवा गरिएको सङ्केत गर्‍यो।

उनले आफ्ना दाइका सबै सार्वजनिक कार्यक्रमको व्यवस्थापन गर्नुका साथै राजनीतिक सल्लाहकारको समेत भूमिका निर्वाह गरेको बताइन्छ।

सन् २०१९ मा अमेरिकासँग भएको शिखर सम्मेलन फलदायी हुन नसकेपछि पोलिटब्यूरोमा उनको घटुवा भएको हुनसक्ने बुझिन्छ। सन् २०२० मा उनलाई पुरानै पदमा पुनर्स्थापित गरिएको बताइन्छ।

सन् २०१४ अघि उनी फाट्टफुट्ट मात्रै चर्चामा आउँथिन्। सन् २०११ मा उनी आफ्ना पिताको राजकीय अन्तिम संस्कार समारोहमा देखिएकी थिइन्।

सन् २०१४ मा किम यो-जङ आफ्ना दाइ र अन्य वरिष्ठ अधिकारीसँग मतदान गर्न जाँदै

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, सन् २०१४ मा किम यो-जङ आफ्ना दाइ र अन्य वरिष्ठ अधिकारीसँग मतदान गर्न जाँदै

उनी बेलाबखतमा आफ्ना दाइसँगै सरकारी सञ्चारमाध्यमले छापेका तस्बिरमा देखिन्छिन्।

तर सन् २००८ मा किम जङ-इलको स्वास्थ्य अवस्था बिग्रेदेखि नै उनका लागि नेतृत्वमा प्रमुख दायित्व निर्धारण गर्ने अवस्था बनाइएको हुन सक्ने बुझिन्छ।

किम जङ-अनबारे अनिश्चितता देखिएका बेला उनलाई सधैँ सम्भावित उत्तराधिकारीका रूपमा हेरिने गरेको छ।

एप्रिल २०२० जस्तै सन् २०१४ मा किम जङ-अन सार्वजनिक रूपमा नदेखिएपछि उनी बारे त्यस्तै किसिमको हल्ला फैलिएको थियो।

त्यस बेला केही समयपछि उनी सार्वजनिक रूपमा देखा परे र स्वास्थ्य अवस्था सामान्य देखिएको भए पनि उनले लट्ठीको सहारा लिएका थिए।