तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत र चीनबीच एक अर्कालाई दोषारोपण
भारत र चीनको सिमानामा भएको हिंसक झडपबारे टिप्पणी गर्दै भारतले चिनियाँ पक्षका कारण हिंसा भएको र त्यो रोक्न सकिने थियो भनेको छ।
यो घटनाबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पत्रकारहरूको प्रश्नको जबाफ दिँदै भनेका छन्, "६ जुनमा वरिष्ठ कमाण्डरहरूबीच राम्रो कुराकानी भएको थियो र त्यसमा तनाव कम पार्ने प्रक्रियामा सहमति भएको थियो। त्यसपछि त्यहाँस्थित कमाण्डरहरूको बैठकका सिलसिलापनि चलेको थियो ताकि सो सहमतिलाई लागु गराउन सकियोस्।"
"हामीलाई आशा थियो सबै सहज हुनेछ तर चिनियाँ पक्ष यो सहमतिबाट पछि हट्यो।"
चिनियाँ पक्षले एकतर्फी रूपमा मौजुदा स्थिति बदल्न खोजेपछि १५ जुनको बेलुकी एउटा हिंसक झडप भएको उनले भनेका छन्।
"दुवै तर्फ हताहती भएका छन् जुन यदि चिनियाँ पक्षले उच्चस्तरमा बनेको सहमति पालना गरेको भए रोक्न सकिन्थ्यो," उनले भने।
चीनले लगायो भारतलाई दोष
उक्त घटनालाई लिएर चिनियाँ पक्षले भारतीय पक्षलाई दोष लगाएको छ।
चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार एकजना चिनियाँ सैन्य प्रवक्ताले भारतीय सेनाले 'वाचा तोडेर' सोमवार बेलुकी गाल्वान उपत्यकामा सिमानाको वास्तविक नियन्त्रण रेखा नाघेको अनि उक्साहटपूर्ण हमला गरेका कारण झडप र हताहती भएको मङ्गलबार बताएका छन्।
चिनियाँ जनमुक्ति सेनाको पश्चिम क्षेत्रीय कमाण्डका प्रवक्ता कर्नेल जाङ् शुइलीले गाल्वान उपत्यका क्षेत्रमा सधैँ चीनको सार्वभौमसत्ता रहेको भन्दै भारतीय सिमा फौजले दुवै देशबीच भएको सहमतिको गम्भीर उल्लंघन गरेको, सैन्य कमाण्डर तहमा भएको सहमति तोडेको तथा दुई सेनाको सम्बन्ध र दुई देशका जनताको भावनामा नोक्सानी पुर्याएको उल्लेख गरेका छन्।
उनले भारतले सबै किसिमका उक्साहटपूर्ण काम रोक्नुपर्ने र चिनियाँ पक्षसँग 'आधाबाटोमा मिल्नुपर्ने' अनि वार्तामार्फत् समस्या समाधानको सही मार्गमा फर्कनुपर्ने बताएका छन्।