कोरोना भाइरस: सङ्कटले के कोइला प्रयोगको अन्त्य गराउला?

वुजेक कोइला खानी

तस्बिर स्रोत, Reuters

    • Author, जस्टिन राउलट
    • Role, प्रमुख वातावरण संवाददाता

कोरोनाभाइरस सङ्कटले हामीले ऊर्जा उपभोग गर्ने तरिकामा कम्तीमा अहिलेका लागि परिवर्तन ल्याइदिएको छ। तर के यो विश्वव्यापी महामारीले जीवाश्म इन्धनमध्ये सबैभन्दा बढी प्रदूषण गराउने कोइलालाई सधैँका लागि अन्त्य गराउला?

कोभिड-१९ को सङ्कट हामी सबैका लागि असाधारण र डरलाग्दो समय रहेको छ। तर वातावरणीय दृष्टिकोणले यो राम्रो समय भएको देखिएको छ।

हामी सबैले अरू बेलामा भन्दा स्वच्छ हावा र सफा आकाशहरू भएको महसुस गर्न पाइरहेका छौँ।

तिनीहरू यो कुराको स्पष्ट प्रमाण हुन् कि ऊर्जा उपभोगको मामिलामा हामी फरक अभ्यासबाट गुज्रिरहेका छौँ।

करोडौँ मानिस घरभित्रै सीमित हुँदा अनपेक्षित रूपमा विद्युत्‌सहितका ऊर्जाको मागमा कमी आएको छ।

र, यसले ऊर्जा अर्थतन्त्रबारे महत्त्वपूर्ण कुरा खुलासा गरिदिएको छः कोइलामाथिको जोखिम, जुन इन्धनले आधुनिक संसारको निर्माणमा सघाएको छ।

केही औद्योगिक पर्यवेक्षकले कोरोनाभाइरस महामारीबाट कोइला फेरि पुरानो अवस्थामा फर्कन नसक्ने पनि भनिरहेका छन्। आउनुहोस् विश्वभरि थुप्रिरहेका प्रमाणलाई नियालौँ।

यो रिपोर्ट लेख्ने बेलासम्म ब्रिटेनको विद्युतीय ग्रिडले ६० दिनसम्म कोइला बाल्ने छैन त्यो भनेको जुन महिनाको १० तारिखसम्म हो।

जर्मनीस्थित एउटा कोइला ऊर्जा केन्द्र

तस्बिर स्रोत, Getty Images

दुई सय वर्षभन्दा अघि शुरू भएको औद्योगिक क्रान्तियता यति समयसम्म कोइला नबालिएको यो पहिलो अवसर हो।

मैले राष्ट्रिय ग्रिडका अधिकारीहरूसँग कुरा गर्दा उनीहरूले कोइलाबाट चल्ने जेनेरेटर तत्काल प्रयोगमा आउने जस्तो नलागेको बताए।

उद्योगहरूलाई सघाउने राष्ट्रपति डोनल्ड ट्रम्पको प्रयत्नहरूका बीच संयुक्त राज्य अमेरिकामा कोइलाबाट भन्दा नवीकरणीय स्रोतबाट बढी ऊर्जा उपभोग गरिएको छ।

त्यसविपरीत एक दशकअघि मात्र अमेरिकामा आधा जति बिजुली कोइलाबाट उत्पादन हुने गरेको थियो।

कोइला प्रयोगमा एकदमै तीव्र गतिमा बढिरहेको भारतमा समेत इन्धनको माग नाटकीय रूपमा घटेको छ।

जसबाट ३७ वर्षयता पहिलो पटक कार्बन डाइअक्साइड उत्सर्जनमा कटौतीमा मद्दत पुगेको छ।

त्यसको तात्कालिक कारण भनेको लकडाउन हो।

तर ऊर्जा अर्थविद्हरूलाई अचम्म पारिरहेको कुरा चाहिँ कसरी विद्युतको माग घट्दा कोइला प्रयोगमाथि सबभन्दा धेरै प्रभाव परिरहेको छ भन्ने नै हो।

अनि यो प्रवृत्ति विश्वव्यापी छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार द्वितीय विश्वयुद्धयताकै विश्वव्यापी कोइला खपतमा सबैभन्दा ठूलो गिरावट आएको छ।

आईईएका कार्यकारी निर्देशक फातिह बिरोलका अनुसार नवीकरणीय ऊर्जाले मात्रै पकड कायम गरिरहेको देखिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, हरित ऊर्जा?

कोरोनाभाइरस महामारीभन्दा अघि पनि यो प्रवृत्ति देखिरहेको थियो। गत वर्ष कोइलाबाट हुने बिजुली उत्पादनमा विश्वव्यापी सबैभन्दा ठूलो गिरावट देखिएको थियो।

अनि मुख्य कुरा चाहिँ कोइलाभन्दा अन्य स्रोतप्रतिको बढ्दो निर्भरता जनाउने यो परिवर्तन असल नियतकासाथ अभियान चलाइरहेका वातावरणवादीहरूको कारण भइरहेको छैन - थोरै भूमिका उनीहरूको भएपनि।

अर्थशास्त्रीहरूका अनुसार महत्त्वपूर्ण विषय भनेको ऊर्जाका विभिन्न स्रोतमा हुने "खर्चको अन्तर" हो।

कुरा स्पष्ट छः एक पटक तपाईँले ऊर्जा केन्द्र निर्माण गरिसकेपछि वायु, पानी अथवा घामबाट चल्नेवालाभन्दा इन्धन चाहिनेलाई सञ्चालन गर्न महँगो पर्छ।

यसबारे सोच्नुहोस् त। बाल्नका लागि तपाईँले कोइला किनिरहनुपर्छ। तर एक पटक तपाईँले विन्ड टर्बाइन, सोलर प्यानल अथवा जलविद्युत्‌ केन्द्र खडा गरेपछि त्यसबाट निःशुल्क बिजुली उत्पादन भइरहन्छ।

त्यसमा बल पुर्‍याउने अर्को तथ्य के हो भने नयाँ कोइलाभन्दा नवीकरणीय ऊर्जा सस्तो हुन्छ। र, हरेक वर्ष त्यो अझ सस्तो हुँदै गएको छ।

यसै महिना भारतीय सरकारले चौबीसै घण्टा बिजुली आपूर्तिका लागि बोलपत्र आह्वान गरेको थियो।

ऊर्जा विश्लेषक सुनिल दाहियाका अनुसार ब्याट्रीसहितको सोलरको मूल्य कोइलाबाट उत्पादित ऊर्जाभन्दा सस्तो देखियो।

चीनस्थित एउटा कोइला ऊर्जा केन्द्र

तस्बिर स्रोत, Getty Images

यदि यो कुरा संसारमा अन्त दोहोरिन्छ भने कोइलाको अन्त्य हुन्छ।

यदि विद्युत्‌को माग बढ्ने भयो भने धेरैभन्दा धेरै देशहरूले नवीकरणीय ऊर्जामा खर्च गर्नेछन्।

तर यदि महामारीका कारण अचानक बिजुलीको मागमा कमी आयो अथवा वायु ऊर्जाबाट अपेक्षाभन्दा बढी बिजुली उत्पादन भयो भने कोइलाबाट बिजुली उत्पादन गर्ने केन्द्रहरू बन्द हुनेछन्।

धेरै देशहरूले आफ्ना विद्युतीय ग्रिडमा नवीकरणीय ऊर्जालाई प्राथमिकता दिइसकेका छन्।

ऊर्जा विश्लेषक दाहियाका अनुसार कोरोनाभाइरस महामारीका कारण भारतमा कोइला उद्योगहरू टाट पल्टिसकेका छन्।

"कोइलामा आधारित ऊर्जा केन्द्रहरूले आफ्नो क्षमताको ६० प्रतिशतभन्दा कम उत्पादन गरिरहेका छन्। आफूहरूले लिएको पैसा तिर्न सक्ने अवस्थामा तिनीहरू छैनन्," दाहियाले थपे।

यहाँ रह्यो तपाईँहरूका लागि अन्तिम विचार।

कम्पनीहरूले जस्तै सरकारहरूले पैसा कमाउनका लागि दबावको सामना गर्दैनन्। खासगरी धेरै प्रदूषण नित्याउने उद्योगहरूलाई सधैँ सहुलियत दिइरहन सरकारहरू विरलै चाहन्छन्।