कोरोना भाइरस: महामारीको त्रासबाट जोगिने सहर कसरी बनाउने

तस्बिर स्रोत, EPA
विश्वभरी कोरोनाभाइरसको सङ्क्रमण सहरहरूमा तीव्र रूपमा बिस्तार भयो।
यसले भविष्यमा बनाइने सहरको योजनाबारे फरक ढङ्गले सोच्नुपर्ने देखाएको छ।
कोरोनाभाइरसको महामारीले गर्दा हाम्रो संसार घरभित्रै खुम्चिएको छ।
अमेरिकाको न्यूयोर्कस्थित द कुपर युनियनमा आर्किटेक्चरकी सहप्राध्यापक लिडिया क्यालिपोलिटीका अनुसार आधुनिक युगको सहरको कल्पना यस्तो महामारीको सामना गर्ने कुरालाई ध्यानमा राखेर बनाइएको थिएन।
उनी भन्छिन्, "सहरहरूअन्तर्राष्ट्रिय रूपमा जोडिएका थिए। दशौँ लाख मानिसहरू काम गर्थे, घुम्थे, नाच्ने-गाउने गर्थे, पिउँथे र एक अर्कालाई अङ्गालो हाल्थे। तर विश्व फेरिएको देखिएको छ।"
बढ्दो सहरीकरणसँगै समस्या

तस्बिर स्रोत, Getty Images
विश्वले २१ औं शताब्दीमा सार्स, मार्स, इबोला, बर्ड फ्लू, स्वाइन फ्लू र अहिले कोभिड-१९ बेहोरेको छ। यदि हामी महामारीको युगमा प्रवेश गरेको हो भने भोलिको सहरको स्वरूप कस्तो हुनुपर्ला, जसले गर्दा बाहिरको संसार सुनसान नहोस् र सुरक्षित तथा मानव स्वभाव मैत्री होस्।
विज्ञान पत्रकार तथा फिभर एन्ड प्यान्डेमिककी लेखक सोनिया शाह भन्छिन्, "सहरमा बस्नु आफ्नो आयु घटाउनु हो भन्ने मान्यता थियो।"
औद्योगिक क्रान्तिका दौरान सहरहरूको व्यापक बृद्धिले बाटोहरू प्रदुषित गर्ने भूमिका निर्वाह गर्यो। खासगरी लण्डन र न्यूयोर्कका स्थानहरू ती सङ्क्रमणको जोखिम बने।
सहरहरू बढ्दै गएपछि टाइफोइड र हैजाको महामारी मुख्य जनस्वास्थ्य समस्या बन्न पुगे। त्यसले ढल जस्तो नयाँ सरसफाइ प्रणालीको विकासको निम्ति प्रेरित गर्यो।

तस्बिर स्रोत, Getty Images
पछिल्ला वर्षहरूमा सहरी योजनामा स्वास्थ्यलाई महत्त्व दिने क्रम बढ्यो।
सेन्टर फर अर्बन डिजाइन एन्ड मेन्टल हेल्थकी निर्देशक लायला मक्केय भन्छिन्, "हामीले सहरी योजना बनाउँदा स्वास्थ्य केन्द्रलाई ध्यानमा राखेर बनाउनु पर्छ। त्यसको आधारमा सहरी योजनालाई मान्यता दिइनुपर्छ।"
हात धुन पाइने सहर
कुनै पनि महामारी फैलिँदा ठूला र व्यस्त सहरमा चुनौती बढी हुन्छ। राम्रो योजना बिना ठूला सहरमा सङ्क्रमण रोक्न अप्ठेरो हुन्छ। जति ठूलो र जोडिएको सहर हुन्छ त्यति नै महामारीमा चुनौती उत्ति नै बढी रहन्छ। विश्व आर्थिक मञ्चको निम्ति लेखिएको लेखमा भनिएको छ, "किनकि ठूला सहर कैयौँ देशहरूबीच व्यापार र आवागमनको केन्द्र हुन्छ। जनघनत्व बढी रहेका र जोडिएका सहरले महामारीको जोखिम बढाइदिन्छन्।"
तर सबै सहर समान रूपमा रोगको जोखिममा हुँदैनन्। महामारीका बेला मानसिक र शारीरिक स्वास्थ्यका निम्ति हरियाली निकै आवश्यक हुन्छ। नेदरल्यान्डस्थित यूएनस्टुडियोसम्बद्ध आर्किटेक्ट मरियान्थी ततारीको भनाइ छ - एक दिनमा हरियालीमा २० मिनेट बिताउँदा त्यसले वर्तमान अवस्थासँग जुध्न सहयोग पुर्याउँछ। तर जहाँ हात धुने व्यवस्था छैन त्यस्ता पार्कको कल्पना असान्दर्भिक हुन्छ। त्यसैले नयाँ हरेक सहरमा हात धुने पर्याप्त साधन उपलब्ध हुनु पर्छ।
ततारीको भन्छिन्, "हामीले नियमित रूपमा हात नधुनुको कारण सायद त्यस्तो सुविधाको कमीले पनि हुनुपर्छ।"

तस्बिर स्रोत, Getty Images
वेस्टमिनिस्टर विश्वविद्यालयको स्कूल अफ आर्किटेक्चर एन्ड सीटीकी जोहन वोल्टजरका अनुसार महामारीका बेला सहरमा आवश्यक सेवाको आपूर्ति, किनमेल र सामानको व्यवस्थादेखि बस्ती खालि गर्न सकिने जस्ता सुविधा आवश्यक हुन्छ। सहरको खाली स्थानको राम्रो उपयोग, सरसफाइको व्यवस्थाको विस्तार र पैदल मार्ग (फुटपाथ) को निम्ति धेरै स्थान राखेर महामारीका निम्ति लड्न सक्ने सहर बनाउन सकिन्छ।
कुनै पनि सहरमा महामारीबाट जोगिन उसले अर्को सहरप्रतिको परनिर्भरता कम गर्नुपर्छ। अहिलेको विश्वको कुनै पनि कुनाबाट कुनै पनि सामान केही घन्टा वा दिनमा पुग्न सक्छ। त्यससँगै खतरनाक भाइरस पनि पुग्छ।
आत्मनिर्भर सहर
शाह भन्छिन्, "चीनले २३ ज्यानुअरीमा वुहान सहरमा लकडाउन लागु गर्यो। तर त्यसअघि नै करिब ५० लाख मानिस त्यहाँबाट दुनियाका विभिन्न भागमा पुगिसकेका थिए।" उनीहरूबाटै संसारभरी भाइरस फैलियो। त्यसैले शाहका बिचारमा पूर्ण सम्भव नभए पनि हामीलाई आवश्यक सामान हामीले नजिककै स्थानबाट प्राप्त गर्नसक्ने अवस्था हुनुपर्छ। यदि स्थानीय स्तरमै आवश्यक सुविधा प्राप्त भएमा सार्वजनिक यातायातमाथिको निर्भरता कम हुन्छ। पैदल वा साइकलमा जान सकिन्छ। त्यसले महामारी फैलिने जोखिम कम गर्छ। मिलान स्थित आर्किटेक्ट रोबर्ट पालोम्बा यति बेला आफ्नो घरमा क्वारन्टीनमा छन्।
उनी भन्छन्, "अहिलेको सङ्कटबाट सहजै पार पाउन सकिन्न। हामीले आफ्नो सोच बदल्नु पर्छ। हामीले प्रकृतिको दुरुपयोग गरेका छौँ। महामारी उत्पन्न गरेका छौँ। नयाँ सहरबारे सोच्नुअघि रोग पहिलो पटक उत्पन्न हुनबाट रोक्ने ध्यान दिनुपर्छ।"
त्यसैले अब सम्भवत: महामारी रोक्ने सहरको कल्पना गर्न चम्किलो सहरको परिकल्पना गरिनुहुन्न। व्यवहारिक परिवर्तन आवश्यक हुन्छ। जस्तो कि हात धुने सुविधाको विस्तार र निगरानी यन्त्रको जडान जस्ता कुराहरू रहनुपर्छ।
आउँदा दिनमा सहरमा खुला स्थानको विकासमा ध्यान दिनुपर्छ। जसले मानिसहरू आपसमा ठोक्किँदै हिड्नु नपरोस्। सँगै यस्तो साधनको विकास गर्नुपर्छ जसले गर्दा आवश्यक परेका बेला मानिसलाई आफ्नो ढोकामै सामान प्राप्त हुन सकोस्।









