कोरोना भाइरस नेपाल: विदेशमा रहेका नेपालीलाई समयमै उद्धार गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री केपी ओली

तस्बिर स्रोत, NTV

कोरोनाभाइरसका कारण लकडाउन लगाइएको ६२ औं दिनमा जनतालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीहरूलाई समयमै उद्धार गर्ने प्रतिबद्धता जनाएका छन्।

सोमवार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, "समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिनेछ।"

स्वदेश फर्काउँदा सबैलाई एकैपटक नभइ कसलाई प्राथमिकता दिने भन्ने विषयमा कार्यविधि बनिरहेको भनिएको बेला उनले यस्तो बताएका हुन्।

तीव्र गतिमा फैलिनुको कारण

पछिल्ला दिनमा भारतबाट फर्किएकाहरूमा कोरोनाभाइरसको सङ्क्रमण धेरै देखिएका विवरणहरूमाझ सोमवार प्रधानमन्त्रीले भारतबाट परीक्षण नभइकन नेपालीहरूलाई सीमाबाट पठाएको पनि बताएका छन्।

"विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरुप घर फर्किनेहरूको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने थियो, जसले महामारीलाई समुदाय स्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो," सम्बोधनमा प्रधानमन्त्रीले भने, "तर छिमेकी राष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरू नियमको पालना र परीक्षण बिना नै अनेक कष्ट झेल्दै ठूलो सङ्ख्यामा सीमा पार गरिरहनु भएको छ।"

सङ्क्रमणको परीक्षण पछिल्ला दिनमा तुलनात्मक रुपमा बढिरहेका बेला प्रधानमन्त्री ओलीले विज्ञको सल्लाह अनुसार जनसङ्ख्याको दुई प्रतिशत मानिसको कोरोनाभाइरसको परीक्षण गरिने पनि बताएका छन्।

सामाजिक सुरक्षा भत्ता कायमै

त्यस्तै क्वारन्टिनलाई व्यवस्थित गर्नका लागि स्थानीय, प्रदेश र केन्द्र स्तरमा समन्वय गरिने पनि उनले बताएका छन्।

त्यस्तै, सम्बोधनका क्रममा सामाजिक सहायता पाउँदै आएका अपाङ्गता भएका व्यक्ति र अन्य अवस्थाका व्यक्तिहरूको त्यस्तो सहायता पनि कटौती नगर्ने उनले बताए।

"योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गरिनेछ, यस प्रणालीमा आवद्ध सबै श्रमिकहरूको सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम हाललाई सरकारी कोषबाटै मिलान गरिनेछ।"

लकडाउनका बेला सरकारले लामो समयदेखि दिँदै आएको ६० वर्षमुनिका एकल महिला र 'ख' वर्गका अपाङ्गता भएका व्यक्तिले पाउने सामाजिक सुरक्षा भत्ता कटौतीलाई लिएर सरकारको आलोचना भइरहेका बेला उनले यस्तो बताएका हुन्।