कोरोना भाइरस नेपाल: निजी अस्पताललाई आरडीटी परीक्षणको बाटो खुला

तस्बिर स्रोत, RSS
सरकारले निजी तथा सामुदायिक अस्पताललाई कोरोनाभाइरस सङ्क्रमणको आरडीटी विधिबाट परीक्षण गर्न अनुमति दिने निर्णय गरेसँगै सर्वसाधारणले आफूखुसी परीक्षण गराउन सक्ने भएका छन्।
हालसम्म सरकारी निकायले आवश्यक ठहर गरेका व्यक्तिको मात्रै नि:शुल्क कोभिड-१९ को परीक्षण गरिने व्यवस्था थियो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अन्तरिम निर्देशिका जारी गरेसँगै निजी तथा सामुदायिक अस्पतालमा गएर आरडीटी परीक्षण गर्नका लागि बाटो खुलेको हो।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भन्छन्, "अस्पतालहरूले सरकारसँग अनुमति लिएर परीक्षण गर्न सक्छन्।"
"त्यसका लागि उपत्यका भित्रका स्वास्थ्य संस्थाहरूले स्वास्थ्य सेवा विभाग र उपत्यका बाहिरका हकमा सम्बन्धित प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयबाट अनुमति लिनुपर्ने छ।"
सरकारको पछिल्लो कदमले परीक्षणको दायरा बढाउन सहयोग गर्दै मुलुकलाई लकडाउनको अवस्थाबाट बाहिर निकाल्न सहयोग गर्ने भन्दै एशोसियसन अफ प्राइभेट हेल्थ इन्सिटच्यूसन अफ नेपाल (अफिन)ले उक्त निर्णयको स्वागत गरेको छ।

तस्बिर स्रोत, MOHP
नागरिकलाई सुविधा
अफिनका महासचिव हेमराज दाहालले सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गर्दा पहिचान गर्न समेत सरकारलाई गाह्रो भएको अवस्थामा कसैलाई शङ्का लागे परीक्षण गराउन पाउने सुविधा उपलब्ध हुनु राम्रो कुरा रहेको बीबीसीलाई बताए।
"हामीले त पटकपटक यो परीक्षण गर्न दिनूस् भनेर पहिलेदेखि नै भन्दै आएका हौँ," उनले भने।
"कतिपयले आफैले शुल्क तिरेर ढुक्क भएर बस्न सक्छन्। शुल्क तिर्न नसक्नेहरूलाई सरकारले परीक्षण गर्ने पहल थप तीव्र बनाउन सक्छन्।"

कतिपयले आरटीडीको विश्वसनीयताका विषयमा प्रश्न उठाइरहेका बेला दाहालले भने १० देखि १५ प्रतिशत अवस्थामा बाहेक हुँदै नहुनुभन्दा ८५ प्रतिशत विश्वसनीय हुनसक्ने अवस्था रहने बताउँछन्।
दाहालले भने, "नेगेटिभ देखाएपछि पोजेटिभ हुने सम्भावना छैन भन्ने छ। पोजेटिभ देखाएकालाई पीसीआरले नेगेटिभ देखाउने सम्भावना छ भन्ने कुरा आयो।"
"सङ्क्रमित नभएकालाई त यसले गलत रिपोर्ट दिएन। त्यसकारण यसलाई आधार मान्नुपर्छ। राम्रो विश्वसनीयता भएका किट प्रयोग गरेर मनोत्रास चिर्नुपर्छ।"
सरकारले जारी गरेको निर्देशिकामा परीक्षणको शुल्क खरिद मूल्यको २० प्रतिशत नबढ्ने गरी लिन पाइने व्यवस्था गरिएको उल्लेख छ।

- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

त्यसमा आफूहरू सहमत रहेको दाहाल बताउँछन्।
"यो आम सर्वसाधारणहरूको सरोकारसँग जोडिएको विषय हो। २० प्रतिशत पनि चाहिँदैन थियो।"
"यो बेलामा परीक्षणका लागि तयार रहेको विषयमा हामीले पटकपटक पत्राचार गरेका थियौँ। खरिद मूल्यमै पनि गर्न हामी तयार नै थियौँ।"
मूल्य बाहेक सरकारले जारी गरेको कार्यविधिमा तीन देशका नौ वटा कम्पनीहरूले उत्पादन गरेका किट प्रयोग गर्न पाइने उल्लेख गरेको छ।
त्यसमा एक अमेरिका र एक क्यानडाका कम्पनी छन् भने बाँकी सबै चिनियाँ कम्पनीहरू छन्।

तस्बिर स्रोत, EPA
कमाइको आशा?
कोरोनाभाइरस सङ्क्रमणकाबीच कतिपयले निजी क्षेत्रका अस्पतालहरूले सामान्य ज्वरो आउँदा समेत उपचार नगरी फिर्ता पठाएको तर नाफा हुने गरी परीक्षण गर्न पाउने अवस्था देखिएपछि भने उनीहरू तयार देखिएको भन्दै कतिपयले आलोचना गरेका छन्।
दाहाल भन्छन्: "यो गलत कुरा हो। निजी अस्पतालहरूले बिरामी जाँच्न मानेन भन्ने कुरा निराधार हो।"
"हामीले पटकपटक विज्ञप्ति जारी गरेर उपचार गराउन भनेका छौँ।"
अर्कातर्फ मानवीय समवेदना र मनोविज्ञानसँग जोडिएको विषय हुँदा स्वास्थ्य सामग्री नहुँदा र स्वास्थ्यकर्मीहरू केही हदसम्म डराएका उनको भनाइ छ।
तर पछिल्लो समयमा व्यक्तिगत सुरक्षाका सामग्री र अन्य आवश्यक उपकरण उपलब्ध हुन थालेपछि अस्पतालहरूको वातावरण फेरिन लागेको उनको दाबी छ।








