कोरोना भाइरस नेपाल: जेठ २० सम्म लकडाउन बढाइयो

तस्बिर स्रोत, RSS
नेपालमा थप १५ दिन देशव्यापी लकडाउन बढ्ने भएको छ।
आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ २० गतेसम्म कायम राख्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री युवराज खतिवडाले बताए।
कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिने उद्देश्यले सरकारले गत चैत ११ देखि देशभरि अत्यावश्यकबाहेक अन्य काममा हिँडडुल र सवारीसाधन प्रयोग गर्न रोक लगाउँदै आएको छ।
त्यसपछि लकडाउनको अवधि पटकपटक थप गरिएको थियो। यसअघि १० दिन थपिएको लकडाउनकोको अवधि सोमवार मध्यरातसम्म कायम थियो।

तस्बिर स्रोत, OPM Nepal
सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय सीमा तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो।
थप निर्णय उच्चस्तरीय समितिले
सूचना तथा सञ्चार एवम् अर्थमन्त्री खतिवडाले सीमामा रहेका नेपाली नागरिकहरू र ढुवानीका साधनमा लुकीछिपी यात्रा गरिरहेका नागरिकहरू बारे पनि छलफल भएको बताए।
उनले त्यसबारे थप निर्णय कोरोना रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिले गर्ने बताए।
खतिवडाले ढुवानीका सवारीसाधन नरोकिने बताए।
त्यसबाहेक विदेशबाट फर्किएका नेपालीहरूलाई उत्पादनमूलक काममा लगाउन सकिने बारेमा पनि छलफल भएको खतिवडाको भनाइ छ।
छिमेकी देश भारतले लकडाउनको अवधि बढाएर जेठ १८ गतेसम्म पुर्याएको छ।

नेपालको अवस्था
अहिलेसम्म नेपालका सातमध्ये छवटा प्रदेशमा कोरोनाभाइरस सङ्क्रमित भेटिएका छन्।
आइतवार थप १४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि र एकजनाको सङ्क्रमणका कारण मृत्यु भएको प्रमाणित भएपछि कुल सङ्ख्या २९५ पुगेको छ।
हालसम्म ३६ जना सङ्क्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभरि १८,३५७ व्यक्ति क्वारन्टीनमा छन्।
आइतवार अपराह्णसम्म पीसीआर विधिबाट २८,१६० वटा परीक्षण गरिएको थियो।
हाल ३४६ जनालाई आइसोलेशनमा राखिएको छ।

- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा










