‍कोरोना भाइरस: ओबामाले फेरि ट्रम्पको आलोचना गरे

बाराक ओबामा र डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Getty Images

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले कोरोनाभाइरस समस्यासँग जुध्न राष्ट्रपति डोनल्ड ट्रम्पले चालेका व्यवस्थापकीय कदमको आलोचना गरेका छन्।

केही कलेज र विश्वविद्यालयका विद्यार्थीहरूको दीक्षान्त समारोहलाई अनलाइनमार्फत् सम्बोधन गर्दै ओबामाले महामारीले 'धेरै अधिकारीहरूले जिम्मेवारी निर्वाह गरे जस्तो पनि नगरेको देखाएको' बताए।

ओबामाले गएको साता एउटा छलफलमा यो 'एक निकै अराजक विपत्ति' भएको बताएको अडिओ सार्वजनिक भएको थियो।

शनिवारको सम्बोधनमा ओबामाले कोभिड-१९ ले देशको नेतृत्वको असफलता देखाएको बताए।

"यो महामारीले सबैभन्दा ठूलो कुरा अधिकारप्राप्त धेरै व्यक्तिहरूलाई के गरिरहेछौँ भन्ने थाहा भएको भ्रम तोडेको छ," उनले भने।

"तीमध्ये धेरै त अहिले जिम्मेवारी लिए जस्तो पनि गरिरहेका छैनन्।"

अमेरिकामा गएको २४ घण्टामा १,२०० जनाभन्दा बढी मानिसको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ।

अमेरिकामा हालसम्म संसारमै सबैभन्दा बढी लगभग ८९,००० जनाको मृत्यु भएको छ।

ओबामाले अमेरिकाको अश्वेत समुदायमा महामारीले पारेको असरका बारेमा पनि सम्बोधनमा कुरा उठाए।

"यो रोगले यो देशमा अश्वेत समुदायले इतिहासदेखि झेल्नुपरेको असमानता र थप बोझलाई पनि उदाङ्गो पारेको छ," उनले भने।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

अमेरिकाका मृत्यु हुने र अस्पताल भर्ना हुनेहरूमध्ये सबैभन्दा ठूलो सङ्ख्या अफ्रिकी-अमेरिकीहरूको छ।

सन् २०१७ को ज्यानुअरीमा राष्ट्पति कार्यालयबाट बिदा भएपछि ओबामाले ट्रम्पको कामको बारेमा धेरै बोलेका छैनन्।

तर हालैका दिनमा उनीहरूले एकअर्काको आलोचना गरेका छन्।

ओबामा र उनका सहयोगीहरू आफ्नो कार्यकाललाई असफल देखाउन 'आपराधिक प्रयत्नमा लागेको' ट्रम्पको आरोप छ।

ट्रम्पले गत साता ट्विटरमा लेखेका थिए, "अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो राजनीतिक अपराध।"