कोरोना भाइरस: अस्पतालको इमर्जेन्सीमा भिड, धेरैमा बहिरङ्ग सेवा शुरू भएन

पछिल्ला केही दिनयता बिरामीको चाप बढेपछि काठमाण्डूका सरकारी अस्पतालले बहिरङ्ग सेवा दिने स्थानबाट पनि आकस्मिक सेवा दिइरहेका छन्।
कोरोनाभाइरस सङ्क्रमणका कारण अधिकांश अस्पतालहरूले आकस्मिक सेवा बाहेकका सेवा बन्द गरेका छन्।
लकडाउन अवधि छ हप्ता पुग्न लाग्दा नियमित बिरामी तथा दीर्घरोगीको उपचार प्रभावित हुँदा आकस्मिक सेवामा चाप बढ्दै गएको चिकित्सकहरूको अनुमान छ।
तर कोरोनाभाइरसको जोखिमका कारण तत्काल बहिरङ्ग सेवा खोल्ने अवस्था नरहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक डा. प्रेम खड्का बताउँछन्।
डा. खड्का भन्छन्, "इमर्जेन्सीमा बिरामीको चाप बढ्दै गएपछि हामीले ओपीडीबाटै आकस्मिक सेवा दिएका छौँ।''
निजी तथा सरकारी अस्पतालहरूले कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न आवश्यक सुरक्षा बन्दोबस्ती नभएको भन्दै इमर्जेन्सी सेवालाई मात्र चलाउँदै आएका छन्।
बहिरङ्ग सेवा बन्द भएका कारण नियमित जाँचमा जानुपर्ने बिरामीहरूले समस्या खेपिरहेका बताइन्छ।
देशकै सबैभन्दा जेठो वीर अस्पतालले पनि पछिल्ला केही दिनमा बिरामीको चाप बढ्दै गएको जनाएको छ।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार दैनिकजसो टेलिफोनबाट नियमित तथा दीर्घरोगका बिरामीहरूले उपचारबारे सोध्ने गरेको तर आफूहरूले इमर्जेन्सी अवस्थामा मात्र अस्पताल आउन सल्लाह दिएको बताए।
नियमित बिरामीहरूलाई विशेषज्ञ चिकित्सकहरूले टेलिफोनबाटै परामर्श दिने व्यवस्था मिलाएको वीर अस्पतालले जनाएको छ।
डा. सेन्चुरीले भन्छन्, "लकडाउन खुकुलो हुँदा वा ओपीडी सेवा खोल्ने बित्तिकै बिरामीको चाप ह्वात्तै बढ्न सक्ने र कोरोनाभाइरस सङ्क्रमित बिरामी पहिचान गर्न समेत कठिन हुने हाम्रो चिन्ता छ।"
नेपाल मेडिकल काउन्सिलले भने सुरक्षित व्यवस्था गरेर सेवा शुरू गर्न भनेको छ।

काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारी भन्छन्, "जोखिम छ भन्दैमा आफ्नो पेशा वा सेवाबाट भाग्न मिल्दैन। त्यसैले सुरक्षित व्यवस्था अवलम्बन गरेर सेवा पूर्ण रूपमा सञ्चालन गर्नुपर्छ।"
लकडाउन खुकुलो हुँदा बित्तिकै ह्वात्तै बिरामीको चाप नबढ्ने उनको अनुमान छ।
उनी भन्छन्, ''लकडाउनकै कारण मानिसहरूको आवतजावत रोकिएकाले उपत्यका बाहिरका बिरामी कम रहेको र ठूलो सङ्ख्यामा मानिसहरू काठमाण्डूबाट बाहिरिइसकेकाले अस्पतालमा धेरै चाप हुँदैन।"
बैशाख २७, शनिवार बिहानसम्म नेपालमा १०९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ३० जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क छ।
केही दिनअघि सरकारी अनुगमन टोलीले साना तथा निजी अस्पतालहरू चिकित्सकको अभावमा बन्दप्राय: रहेको पाएको थियो।
ठूला अस्पतालहरूमा कोरोनाभाइरसको लक्षण पहिचान र जाँचका लागि 'कोभिड कक्ष' तथा सामान्य अवस्थाका बिरामीका लागि छुट्टै सेवाहरू राखिएका छन्।









