कोरोना भाइरस: अमेरिकामा अर्थतन्त्र चलायमान बनाउने क्रममा सावधानी र सुझबुझपूर्ण उपाय अपनाउन सुझाव

अमेरिका

तस्बिर स्रोत, NOAM GALAI

अमेरिकाका सङ्क्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले कोरोनाभाइरसको सङ्क्रमण पुरानै स्तरमा नफर्कियोस् भन्नका लागि अर्थतन्त्र चलायमान बनाउने क्रममा सावधानी र सुझबुझपूर्ण उपाय अपनाउन सुझाएका छन्।

फाउचीले भविष्यमा कोरोनाभाइरसको सङ्क्रमण पुनः सक्रिय हुने विषयमा दुई मत नरहेको बताउँदै अमेरिका थप तयार भएर बस्नुपर्ने बताए।

आगामी गृष्म र शरद ऋतुबीच अमेरिकामा कोरोनाभाइरसको सङ्क्रमण देखिने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ छ।

सामाजिक दूरी कायम राख्ने कार्यले प्रभाव पारिरहेको बताउँदै आगामी दिनमा ल्याइने कुनै पनि योजना त्यसमा आधारित हुनुपर्ने उनको सुझाव छ।

उक्त पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको सङ्क्रमण फर्किए त्यो अहिलेको भन्दा सानो प्रकोप हुने र त्यसलाई रोक्ने सकिने बताएका छन्।

डोनल्ड ट्रम्प

यसैबीच, अमेरिकामा कोभिड-१९ को सङ्क्रमणबाट पहिलो मृत्यु यसै वर्षको फेब्रुअरी महिनामा भएको क्यालिफोर्निया राज्यका अधिकारीहरूले बताएका छन्।

यो वाशिङ्गटनमा आधिकारिक रूपमा पुष्टि भएको पहिलो घटनाभन्दा करिब तीन हप्ताअघि हो।

स्यान्टा क्लेरा काउन्टीका स्वास्थ्य अधिकारीका अनुसार फेब्रुअरी ६ तारिखमा भएको मृत्युलाई साधारण फ्लुको रूपमा हेरिएको थियो।

त्यसता अन्य कैयौँ घटना भएको हुन सक्ने उनको बुझाइ छ र समुदाय स्तरमा भाइरसको सङ्क्रमण हाल सोचिएभन्दा निकै पहिले फैलिन सुरु गरेको हुन सक्ने बताइएको छ।

हालसम्म अमेरिकामामा आठ लाख ३९ हजारभन्दा बढी कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको विश्वव्यापी रूपमा महामारीको अभिलेख राखिरहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस: अर्थतन्त्र जोगाउने कि जनता भन्ने द्विविधा

त्यहाँ मृत्यु हुनेहरूको सङ्ख्या ४६ हजार ५०० नाघेको छ।

त्यस्तै विश्वव्यापी रूपमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या २६ लाख नाघेको छ भने १ लाख ८३ हजार भन्दाको ज्यान गइसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले पनि कोरानाभाइरसको सङ्क्रमण लामो समयसम्म रहन सक्ने बताएका छन्।

विश्वका विभिन्न मुलुकमा लागु गरिएको लकडाउन फिर्ता लिइए कोरोनाभाइरसको सङ्क्रमण फेरि फैलिन सक्ने उनको चेतावनी छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर