कोरोना भाइरस: अमेरिकामा बन्देजहरू विरुद्ध प्रदर्शन

ओलम्पियामा प्रदर्शन

तस्बिर स्रोत, Getty Images

अमेरिकाभरि कैयन् राज्यहरूमा प्रदर्शनकारीहरू त्यहाँका गर्भनरहरूलाई कोरोनाभाइरस महामारीको डरले बन्द गरिएको अर्थतन्त्र पुन: खुला गर्न आह्वान गर्दै सडकमा उत्रिएका छन्।

एरिजोना, कोलोर्‍याडो, मन्टाना तथा वाशिङ्गटन राज्यमा आइतवार त्यस्ता प्रदर्शन भए। त्योभन्दा अगाडि अन्य आधा दर्जन राज्यहरूमा पनि प्रदर्शन भएका थिए।

प्रदर्शनकारीलाई ट्रम्पको साथ

हतार गरेर अर्थतन्त्र खोल्दा कोभिड-१९ को घातक पुनरोदय हुनसक्ने त्रासका माझ त्यस्ता प्रदर्शन चर्किएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रदर्शनप्रति आफ्नो समर्थन दर्शाएका छन्।

हाल अमेरिका विश्वभरिकै कोभिड-१९ सङ्कटको केन्द्रविन्दुमा छ।

त्यहाँ ७ लाख ३५ हजार सङ्क्रमित छन् भने करिब ४० हजारको ज्यान गइसकेको छ।

सङ्क्रमणको उच्च विन्दुमा पुगेको तथा केही क्षेत्रमा नयाँ सङ्क्रमणको वृद्धि दर घटिरहेको सङ्केत पनि आएका छन्।

अमेरिकामा प्रारम्भिक चरणमै सङ्क्रमण फैलिएको वाशिङ्गटन राज्यमा सयौँ मानिस राजधानी ‌ओलम्पियामा भेला भएर गभर्नरलाई अर्थतन्त्रमा लागेका बन्देज खुकुलो पार्न माग गरे।

प्रहरीले भेलामा २५ सय जति सामेल भएको अनुमान गरेको छ। लकडाउन लागु भएपछिको त्यो सबभन्दा ठूलो त्यस्तो जमघट भएको रोयटर्स समाचार संस्थाले जनाएको छ।

नियम उल्लंघन

कैयन् प्रदर्शनकारीले सामाजिक दूरीसम्बन्धी नियम अनि मास्क लगाउन आयोजकहरूले गरेका अपिल पनि उल्लंघन गरेका थिए।

कोलोर्‍याडोमा प्रदर्शन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, प्रदर्शनकारीहरूका सामु स्वास्थ्यकर्मी उपस्थित भएका थिए

एसोसिएटेड प्रेसका अनुसार मन्टानाको हेलेनामा आयोजित र्‍यालीमा केही सय मानिस थिए।

कोलोर्‍याडोको डेन्भरमा पनि उत्रै र्‍याली भएको थियो।

प्रदर्शनकारीहरूका गाडी सडकमा खचाखच भएपछि अस्पतालमा रहँदाकै पोशाक र मास्क लगाएका स्वास्थ्यकर्मीहरू उनीहरूको सामु उपस्थित भएका थिए।

एरिजोनामा पनि प्रदर्शनकारीहरूले सयवटा जति गाडीलाई राजधानी फिनिक्समा गोलचक्करमा घुमाएर प्रदर्शन गरेका थिए।

गभर्नरहरूको चाहना

कतिपय राज्यहरूमा गभर्नरहरूले सङ्क्रमणको दर कम हुँदै गएका सङ्केतका माझ अर्थतन्त्र खोल्नेबारे छलफल थालेका छन्।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले पहिलोपटक मार्च १९ मा राज्यभरि घरमै बस्न आदेश जारी गरेका थिए। वाशिङ्गटन तथा ओरेगन राज्यहरूले त्यही पाइला पच्छ्याए।।

प्लेकार्ड

तस्बिर स्रोत, Getty Images

न्यूयोर्कका गभर्नर एन्ड्र्यु कोमोले सो राज्यमा लागु लकडाउनलाई मे १५ सम्म लम्ब्याएका छन्।

उनले अहिले हतारिन नहुने भन्दै सावधानीको खाँचो भएको औँल्याएका छन्।

राष्ट्रपति ट्रम्पले कडा लकडाउनको विरोध गरेकाहरूलाई समर्थन गरेको देखिएको छ। उनले शुक्रवार मिनिसोटा, मिसिगन तथा भर्जिनियामा लागु आदेश धेरै कडा भएको बताएका थिए।

वाशिङ्गटन राज्यका गभर्नर जे इन्सलीले राष्ट्रपतिले प्रदर्शनकारीहरूको समर्थन गर्ने कदमलाई खतरनाक भन्दै त्यसले राज्यका कानुनलाई उल्लंघन गर्न उक्साउने बताएका छन।

"अमेरिकी राष्ट्रपतिले मानिसहरूलाई कानुन उल्लंघन गर्न उक्साएको मैले आफ्नो जीवनकालमा देखेको थिइनँ," उनले एबीसी न्यूजलाई बताए।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर