कोरोना भाइरस अमेरिका: राष्ट्रपति डोनल्ड ट्रम्प भन्छन्, 'राज्यहरू सुरक्षित, क्रमिक र चरणबद्ध रूपमा खोल्न ठोस कदम'

डोनल्ड ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले केही राज्यले "सुरक्षित, क्रमिक र चरणबद्ध रूपमा" व्यापार तथा व्यवसाय पुन: सञ्चालन गर्न ठोस कदम घोषणा गरेको बताएका छन्।

अमेरिकामा कोरोनाभाइरस फैलिन नदिन लगाइएका प्रतिबन्धहरू हटाएर अर्थतन्त्र पुन: सञ्चालन गर्न निर्देशिका जारी गरेपछि उनको यस्तो भनाइ आएको हो।

शनिवार ह्वाइट हाउसमा कोभिड-१९ बारे आयोजित दैनिक ब्रीफिङका क्रममा ट्रम्पले टेक्सस र भर्मन्टले "उपयुक्त सामाजिक दूरीका सावधानीसहित" केही व्यवसायहरू सोमवारबाट पुन: खोल्न दिने बताएका छन्।

उनले फ्लोरिडा राज्यको समुद्री तट पनि पुन: खुल्न लागेको बताए।

ब्रीफिङकै क्रममा उनले भाइरसले आफ्नो उत्कर्ष पार गरेको सङ्केत देखिएको दाबी गरे।

तर स्वास्थ्यविज्ञ र केही राज्यका गभर्नरहरूले भने प्रतिबन्धहरू छिट्टै हटाउँदा त्यसले थुप्रै मानिसहरू सङ्क्रमित हुन सक्ने चेतावनी दिएका छन्।

यसैबीच राष्ट्रपति ट्रम्पले कोरोनाभाइरस रोकथाम र नियन्त्रणमा डेमोक्र्याट पार्टीका गभर्नरहरूले निर्वाह गरेको भूमिकाको आलोचना गरेका छन्।

केही गभर्नरहरू कोरोनाभाइरस रोकथामका लागि लगाइएको प्रतिबन्धप्रति आवश्यकताभन्दा बढी नै तनावमा देखिएको उनले बताए।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

विभिन्न राज्यमा विरोध प्रदर्शन

अमेरिकाका विभिन्न राज्यमा सरकारले सर्वसाधारणालाई घरमै बस्न गरेको आग्रहविरुद्ध प्रदर्शनहरू भइरहेका छन्।

प्रदर्शनकारीहरूले आफूहरू काममा फर्किन चाहेको र अहिले लगाइएको लकडाउनका नियमहरू निकै कठोर भएको बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस: अर्थतन्त्र जोगाउने कि जनता भन्ने द्विविधा

घरमै बस्नुपर्ने नियमको अन्त्य गर्ने माग गर्दै आएका ती प्रदर्शनकारीहरूको भावना पनि ट्रम्पले ब्रीफिङका क्रममा समेटेका थिए।

सबैभन्दा बढी प्रभावित न्यूयोर्क राज्यमा अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या निरन्तर रूपमा घटिरहेको छ।

विश्वभरि १८५ देशमा कोभिड-१९ बाट मानिसहरू पीडित भएका छन्। सङ्क्रमित व्यक्तिको सङ्ख्या अमेरिकामा सर्वाधिक छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म त्यहाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या सात लाख ३४,००० नाघिसकेको छ।

अमेरिकामा झन्डै ३९,००० मानिसको मृत्यु भइसकेको छ।