कोरोनाभाइरसः कतारमा कार्यरत नेपाली श्रमिक सोध्छन्, 'खोइ त हाम्रो सरकार'

तस्बिर स्रोत, AFP
चार लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत खाडी राष्ट्र कतारमा शुक्रवारसम्म ५४९ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको त्यहाँको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।
२८ लाखभन्दा केही बढी जनसङ्ख्या रहेको कतारमा त्यसको लगभग १५ प्रतिशत मात्रै कतारीहरूले ओगट्ने र बाँकी अन्य देशबाट आएका श्रमिक रहेको बताइन्छ।
कतारको जनस्वास्थ्य मन्त्रालयले १३ हजार छ सयभन्दा बढीमा परीक्षण गरिएको भने पनि कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको राष्ट्रियता खुल्ने विवरण सार्वजनिक गरेको छैन।
त्यहाँ पछिल्लो आठ वर्षदेखि कार्यरत एक नेपाली श्रमिकले बीबीसीलाई सम्पर्क गरी सत्यतथ्य सूचना नपाएको र छटपटी भइरहेको अनुभव सुनाएका छन्।
हाम्रो अभिभावक खोइ?
सुरक्षाका कारण नाम गोप्य राख्न अनुरोध गर्दै ती श्रमिकले भने, "सुरक्षित हुनलाई सरकारले भनेका नियमहरू पालना गरिरहेको छु। तर अरू देशमा जस्तो यति जना नेपाली श्रमिकमा सङक्रमण देखिए वा यति जना उपचारपछि निको भए भनेर यहाँ केही पनि भनिएको छैन। राजदूतावासलाई सम्पर्क गर्दा पनि केही जानकारी पाउन सकिँदैन। भोलि मलाई नै सङ्क्रमण देखियो भने पनि आफ्नै राजदूतावासलाई र परिवारलाई खबर गर्न नसकिने अवस्था छ।"
"कतारमा कति नेपालीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ, कति जना क्वारन्टीनमा राखिएका छन् भन्ने हाम्रो राज्य र अभिभावकलाई नै थाहा हुँदैन भने हामीले कसको भरोसा गर्ने?।"
सुरक्षागार्डको काम गरिरहेका उनले आफू दुई सय जनाभन्दा बढी दक्षिण एशिया र अफ्रिकाका विभिन्न कामदारहरूसँग एउटै आवासमा बसिरहेको जानकारी दिए।
एक सय २० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने गाडिमा दैनिक ४५ मिनेटको यात्रा गरी आफू काम गर्ने ठाउँमा पुग्ने उनले बताए।
उनी भन्छन् "पहिला पनि दिनको २५ जना हाम्रा गाडीमा हुन्थ्यौँ। अहिले पनि हामी २५ जना नै हुन्छौँ। तर कुनै मास्क वा पञ्जाजस्ता सामग्री दिँदैन। काम गर्ने ठाउँमा साबुन पानी छ तर कोठा फर्किएपछि सबैथोक आफैँले व्यवस्था गर्नुपर्छ।"
उनले थपे, "यस्तो लापरवाही भयो, हामी काममा जान सक्दैनौँ भन्यौँ भने सुतेर बस् हामी खाना दिँदैनौँ भन्ने गर्छ। सुरक्षागार्डको काम नै खोसियो भने ज्याला पनि नआउने अवस्था हुन्छ। त्यही भएर कोही बोल्न सकिरहेका छैनन्।"

तस्बिर स्रोत, EPA
विसं २०५९ सालमा नेपाली सेनामा भर्ना भएका ती व्यक्ति द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीले अपहरण गरेपछि एक वर्ष नपुग्दै जागिर छाडेर वैदेशिक रोजगारीमा गएका थिए।
उनले त्यसयता कतारबाहेक साउदी अरेबीया र इराकमा सुरक्षागार्डका रूपमा काम गरेका छन्।
उनले कतिपय कार्यस्थलमा सुरक्षा गार्डहरूको सङ्ख्या घटाइएकाले कतिपय नेपाली कामदारहरू काम नगरि बसिरहेको बताए।

- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्

"मेरै कोठामा दुईजना साथी सुतेर बसिररहेका छन् किनभने उनीहरूले काम गर्ने ठाउँबाट कामदार घटायो। नेपालको फ्लाइट खुल्ने थाहा नभएर उनीहरू सुतेर बसिरहेका छन्।"
लकडाउन भएकाले बाहिरको अवस्था थाहा छैन
कोरोनाभाइरसको सङ्कटसँग जुझ्न कतारले आफ्नो औद्योगिक क्षेत्रको स्ट्रिट एकदेखि ३२ सम्म दुई साताका लागि 'लकडाउन'गर्ने निर्णय मार्च १७ बाट लागु गरेको थियो।
औद्योगिक क्षेत्रमा रहेका थप स्वास्थयकर्मी परिचालित गरिएको भन्दै त्यहाँको विपद् व्यवस्थापनसँग सम्बन्धित सर्वोच्च समितिकी प्रवक्ताले क्वारन्टीनमा रहेका व्यक्तिहरूको सुस्वास्थ्यका लागि कुनै कसर बाँकी नराखिने बताएकी थिइन्।
'लकडाउन' गरिएको औद्योगिक क्षेत्रमा हाल बसिरहेका एकजना नेपाली श्रमिकले आफूहरू बसेको क्षेत्र पूर्ण रूपमा बन्द भएको र एक प्रतिशतको हाराहारीमा श्रमिकहरूले भित्रै बसेर काम गरिरहेको बीबीसीलाई बताए।
उनी भन्छन् "हामी हिँडडुल गरिरहेका छैनौँ, मुख्य सडकतिर मङ्गलवार स्प्रे गरिएको थियो। नजिकैको सुपरमार्केटमा तरकारी र खानेकुराको मूल्य आकासिएको छ। घरमा बस्दा वा सामानहरू किन्न जाँदा सामाजिक दूरी कायम गर्न गाह्रो छ।"
उनले एउटै कोठामा चारजना सुतिरहेको र आफू बसेको स्थाननजिकै कोही पनि नेपाली प्रभावित भएको थाहा नपाएको उल्लेख गरे।
"यो क्षेत्रमा ठूलो सङ्ख्यामा नेपालीहरू बस्छन्। मेरो अनुमानमा ४० देखि ५० हजारभन्दा बढी हुन सक्छन्। आफू बसेको भन्दा बाहिरको ठाउँको अवस्था केही पनि थाहा छैन।"
नेपाली राजदूतावास यसो भन्छ
दोहास्थित नेपाली राजदूतावासका उपप्रमुख लक्ष्मण खनालले सन् २०२२ को विश्वकप फुटबल खेलको आयोजनासहित रणनीतिक आयोजनाहरूमा मिलेसम्म काम गर्ने कतारको सरकारले बताएको र कतिपय साना कम्पनीहरूले भने काम रोकेका आफूहरूले थाहा पाएको जानकारी दिए।
उनी भन्छन् "लकडाउन जस्तो स्थितिका कारण कतिपय साना कम्पनीले काम बन्द गरेका र त्यहाँ कार्यरत नेपालीहरू रोकिएर बस्नुभएको छ भन्ने हामीलाई जानकारी छ। तर यहाँको सरकारले लकडाउनको कारणले जान पाएन वा काम रोकियो भने पनि खाने बस्ने व्यवस्था मिलाइन्छ र ज्याला पनि उपलब्ध गराइन्छ भनेको छ।"

कतारले भनेका ५४९ जना कोरोनाभाइरस सङ्क्रमितहरूमध्ये नेपालीहरू रहे या नरहेकोबारे प्रस्ट नभएको नेपाली अधिकारीहरु बताउँछन्।
दोहास्थित नेपाली राजदूतावासका उपप्रमुख खनाल भन्छन्, "पहिल्यैबाट यहाँको सरकारले धेरै ठूलो हिस्सा सबै विदेशी भएकाले कोरोनाभाइरसको प्रकृतिका कारण व्यक्ति र उनीहरूका देशको नाम उल्लेख गर्दा अफवाह फैलन र आफूलाई पनि अप्ठेरो पर्न सक्ने भएकाले हामी सूचना गोप्य राख्छौँ भनेको थियो।"
"जटिल अवस्था नपरेसम्म हामी समुदाय वा राष्ट्रियताजस्ता विवरण दिँदैनौँ भनिएको छ। र क्वारन्टीनमा बस्दा वा उपचार गर्नुपर्ने अवस्थामा पनि आफ्नो व्यक्तिगत टेलिफोन उहाँहरूसँगै हुनाले उहाँहरूले सम्पर्क गर्न सक्ने भनिएको छ। केही पर्यो भने सम्पर्क गर्नुहोला भनेर हामीले सूचना जारी गरेका छौँ। तर हामीले अहिलेसम्म कतैबाट पनि नेपालीहरू सङ्क्रमित भएको जानकारी आएको छैन।"
यसै साता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मध्यपूर्व तथा अफ्रिकाका नेपाली नियोगहरूका प्रमुखहरूसँग कोभिड-१९ को चूनौतीबारे भिडिओ कन्फ्रेन्स गर्दै आवश्यक परे उद्दार गर्नुपर्ने अवस्थासम्मका लागि तयारी गर्न निर्देशन दिएका थिए।
हालैका वर्षमा अधिकारवादी सङ्घ संस्थाहरूले विश्वकप फुटबलसम्बन्धी रङ्गशालासहितका पूर्वाधार निर्माणमा खटिने कतारमा कार्यरत नेपालीसहितका श्रमिकहरूको अवस्था दयनीय रहेको र उनीहरूले गम्भीर मानवअधिकार उल्लङ्घन खेपिरहेका विवरणहरू सार्वजनिक गर्ने गरेका छन्।
तर आफूहरूले कानूनी रूपमा नै कामदारका अधिकार र ज्याला सुनिश्चित हुने व्यवस्था गरेको भन्दै कतारी अधिकारीहरूले त्यसलाई अस्वीकार गर्दै आएका छन्।








