कोरोनाभाइरस: ''मैले काटिसकेको टिकटको पैसा कसले दिन्छ?''

- Author, कमल परियार
- Role, संवाददाता, बीबीसी न्यूज नेपाली
गत सोमवारदेखि लागु हुनेगरी कतारले नेपालसहित १४ देशका नागरिकलाई आवागमनमा अस्थायी प्रतिबन्ध लगाएपछि त्यसतर्फ उड्न तयार नेपाली श्रमिकहरूले आफूहरू अन्योलमा परेको बताएका छन्।
कोरोनाभाइरस सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले कतार सरकारले मार्च ९ बाट लागु हुनेगरी प्रतिबन्ध लगाएको हो।
त्यसलगत्तै नेपाल सरकारले पनि अर्को सूचना नभएसम्म कतारका लागि जारी हुने श्रम स्वीकृति स्थगित गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
बिदामा घर आएका, श्रम स्वीकृत पाइसकेका र टिकट काटिसकेका नेपालीहरूले आफूहरू दोहोरो मर्कामा परेको बताएका छन्।
उनीहरूले टिकटमा खर्च भएको पैसा र अहिले आफूले गरिरहेको काम के हुने हो भन्नेमा चिन्ता व्यक्त गरेका छन्।
शेख सद्रे आलम, रौतहट

म मङ्गलवार राती कतार उड्न लागेको थिएँ। कोरोनाभाइरसको बारेमा त थाहा पाएको थिएँ तर कतारले नेपालीलाई समेत आवागमनमा प्रतिबन्ध लगाएको चाहिँ मलाई थाहा थिएन। यो सबैले गर्दा ऋण झन् थपिने भयो। उडान रद्द भएको यहाँ (वैदेशिक रोजगार विभागमा) आएर मात्र थाहा भयो। काठमाण्डूमा होटलमा बसेको तीन दिन भयो। खर्च पनि सबै सकियो। घर फर्किनेसमेत पैसा छैन। मैले किनेको टिकटको पैसा एअरलाइन्सले दिन्छ वा कसले दिन्छ थाहा छैन।
युवराज तामाङ, झापा

म विगत ८ वर्षदेखि कतारमा एउटा होटलमा काम गर्दै आएको छु। अहिले म छुट्टीमा घर आएको थिएँ। घरबाट बिदा भएर काठमाण्डू आएँ। वैदेशिक रोजगार विभाग मातहतको विराटनगरको कार्यालयले मलाई श्रम स्वीकृतिका लागि काठमाण्डू पठाएको हो। मार्च १० मा कतार फर्किने पहिला नै तय भइसकेकोले मैले टिकट काटिसकेको थिएँ। बेलैमा सूचना पाएको भए मैले टिकट रद्द गर्थेँ वा काठमाण्डू नै आउँदिन थिएँ। अब के गर्ने, कसलाई भन्ने, अचानक हामीलाई कतारले प्रतिबन्ध लगाएछ, घरै फर्किने त होला।
राजदीप चौधरी, उदयपुर

म एकहप्ताका लागि अपर्झट बिदा लिएर सोमवारमात्र नेपाल आएको हुँ। मेरी श्रीमती कतार गएकी थिइन् र मैले उनलाई पुर्याउनका लागि मात्र आएको हुँ। तर यहाँ आइपुगेपछी थाहा भयो कि त्यता जान प्रतिबन्ध लाग्यो भनेर। विगत १५ वर्षदेखि मैले कतारमा गरिरहेको छु। सरकारी अधिकारीहरूले श्रम स्वीकृति लिन कहिलेसम्म कुर्नुपर्ने हो थाहा छैन भन्छन्। मेरो समस्याका बारेमा मैले काम गर्ने कम्पनीलाई जानकारी त गराएँ तर कहिले सम्म फर्किन नपाउने भन्ने बारेमा अन्योल रहेकोले मेरो कामको भविश्य के हुने हो थाहा छैन।
जान आलम, कपिलवस्तु

म मेसिन अपरेटरको रूपमा कतारमा काम गर्न थालेको ६ वर्षभन्दा बढी भयो। छुट्टी सकेर म आज कतार फर्कनका लागि गाउँबाट काठमाण्डू आएको हुँ। तर यहाँ आएर थाहा भयो कि फर्किन समस्या छ। कोरोनाभाइरसको कारण कतार प्रवेश अनुमति नै रोकिएको रहेछ। काठमाण्डू आएर कति धेरै खर्च भइसक्यो अब फेरि घर फर्किनुपर्ने भयो। टिकट काटिसकेको छु, खर्च भइसकेको छ, सरकारले के सहयोग गर्ला त?
गुनासो बढ्दै
कोरोनाभाइरसका कारण नेपाली कामदारलाई समस्या नपरोस् भनेर उनीहरूकै सुरक्षाका लागि कतार सरकारले यस्तो निर्णय गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।
विभागको काठमाण्डू कार्यालयका प्रमुख तथा सहसचिव उमेश बस्नेतका अनुसार कतारबाट छुट्टीमा आएका र श्रमस्वीकृति समेत पाइसकेका नेपाली श्रमिकहरूका विभिन्न गुनासा बढ्ने क्रम जारी छ।
तर अर्को निर्णय नभएसम्म कतारका लागि श्रम स्वीकृति दिने कार्य स्थगन गरिएको उनले बताए।

सह-सचिव बस्नेतले भने, "छुट्टीको अवधि र भिसाको म्याद सकिन लागेका श्रमिकहरूको हकमा समस्या बढी हुने भएपनि स्वास्थ्यमा सम्झौता गर्ने कुरा भएन।''
कतारका लागि दैनिकजसो दुई सयजनाले श्रम स्वीकृति लिने गरेको विभागको तथ्याङ्क छ।
यसैगरी नेपालको राष्ट्रिय ध्वजावाहकले समेत यात्रु लिनका लागि मात्र कतारतर्फ उडान गरिरहेको बताइएको छ।








