कोरोनाभाइरस: नेपालमा स्यानिटाइजर उत्पादन गर्ने नास्टको प्रयासमाथि प्रश्न; साबुन पानी उत्तम विकल्प

तस्बिर स्रोत, Reuters
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वैज्ञानिकहरूले हातको कीटाणु मार्ने स्यानिटाइजर उत्पादन सिकाउन ललितपुरका प्रतिनिधिहरूलाई तालिम अघि बढाइरहँदा नेपालसँग स्यानिटाइजरको गुणस्तरबारे हालसम्म कुनै मापदण्ड नबनेको नियमनको जिम्मेवारी पाएका एक अधिकारीले बीबीसीलाई बताएका छन्।
ललितपुर महानगरपालिकाको लिखित अनुरोधमा कोरोनाभाइरससँग सम्बन्धित सचेतना अभियान अन्तर्गत त्यहाँका प्रत्येक वडाका प्रतिनिधिहरूलाई स्यानिटाइजर उत्पादनबारे आइतवारबाट ६ दिने प्राविधिक तालिम दिइरहेको नास्टले जनाएको छ।
कोभिड-१९ को सङ्क्रमण देखापरेसँगै बजारमा मास्क र स्यानिटाइजर जस्ता सामग्रीको अभाव भएका विवरण आइरहेका छन्।
यस्तोमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार बजारमा सहजै पाइने र घरेलुस्तरमा नै उपलब्ध सामग्रीहरूको प्रयोग गरी कीटाणुनाशक स्यानिटाइजर बनाउन सिकाउने उद्देश्य आफ्नो तालिमले लिएको नास्टको भनाइ छ।
तर विज्ञहरूले रसायनको प्रयोग गरी सुपरीवेक्षण विना समुदाय आफैँले कोरोनाभाइरससँग जुध्न स्यानिटाइजर बनाउनुभन्दा हात धुनु उपयोगी हुने प्रतिक्रिया दिएका छन्।
नास्ट के भन्छ?
तालिममा ललितपुर उपमहानगरपालिकाका हरेक वार्डका २ जना प्रतिनिधि सहभागी रहेको र त्यसमा आफ्ना वैज्ञानिक बाहेक स्वास्थ्य अधिकारीहरू पनि उपस्थित रहेको नास्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेल बताउँछन्।
उनले तालिमले सहभागीहरूलाई बजारमा सहजै पाइने र घरेलुस्तरमा उपलब्ध सामग्रीको प्रयोग गरी स्यानिटाइजर तयार पार्न 'सम्भवत पोख्त बनाउने' बताए।

तस्बिर स्रोत, Reuters
'हामीले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसारको हेन्ड ड्रप उत्पादन गर्न तालिम दिने हो। हामीले बजारमा पाइने केही रसायनहरू र घरायसी प्रयोगमा हुने रक्सीलाई पनि अझ बढी प्रशोधित बनाएर बनाउन सिकाउँदैछौँ। मलाई लाग्छ उहाँहरूले पूर्ण रूपमा सही सिकिरहनुभएको छ।"
नास्टका अनुसार बजारमा पाइने रक्सी वा घरेलु उत्पादन हुने रक्सीलाई थप प्रशोधित गर्ने विधि सहभागीहरूलाई सिकाइँदैछ र त्यसमा खासै घातक नहुने रसायनहरू मिलाउँदा स्यानिटाइजर बनाउन सकिन्छ।
नास्टका प्रवक्ता ढुङ्गेलले बढी परिमाणमा प्रशोधित रक्सी र सानो परिमाणमा हाइड्रोजन पेरोक्साइड, ग्लिसरोल र डिस्टिल्ड वाटरको प्रयोग गरी स्यानिटाइजर बनाउने विधि सिकाउन लागिएको जानकारी दिए।
स्यानिटाइजर र यसको निर्माण विधिबारे जनचेतना अभिवृद्धि गर्नु, अभावको समयमा बजारमा आउनसक्ने नक्कली स्यानिटाइजरबारे जानकारी उपलब्ध गराउनु र अप्ठेरो परिस्थितिमा घरभित्रै वा समुदायको स्तरबाट स्यानिटाइजर उत्पादन गर्न सकिन्छ भन्ने सन्देश दिनु तालिमको उद्देश्य भएको उनले बताए।
विज्ञहरू चाँहि के भन्दैछन्?
नेपाल केमिकल सोसाइटीका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्र विभागका प्राध्यापक निरञ्जन पराजुली स्यानिटाइजर बनाउने प्रयास भरपर्दो नभएको बताउँछन्।
उनले भने, "स्यानिटाइजर घरेलु स्तरमा उत्पादन गर्नुअघि त्यसको मापदण्ड र गुणस्तर सुनिश्चित हुनुपर्छ र नास्ट वा महानगरपालिकाले मात्रै भनेर हुँदैन। यहाँको वैज्ञानिकहरू पनि सहमत हुनुपर्छ। हाडड्रोजन पेरोक्साइड आगोले समाउने जोखिम भएको विषालु प्रकृतिको रसायन हो। विश्व स्वास्थ्य संगठनले शून्य दशमलब एक प्रतिशत मिलाउनु भनेको छ स्यानिटाइजर बनाउँदा यो मिलेन भने त्यो पूरै अनुत्पादक हुन्छ।"
उनले जनस्वास्थ्यसँग सरोकार राख्ने कुरामा गम्भीर सावधानी अपनाएर मात्रै निर्णय लिनुपर्ने पनि उल्लेख गरे।

तस्बिर स्रोत, Getty Images
"हात धुने साबुन नै सबैभन्दा उत्तम हो किनभने देश विदेशका वैज्ञानिकहरूले त्यसमा जोड दिएका छन्। भाइरसको जुन बाहिरपट्टि प्रोटिनहुन्छ त्यसलाई साबुनले नै नष्ट गर्ने हो। स्यानिटाइजर दोस्रो विकल्प हो। रक्सीले भाइरसलाई निस्क्रिय बनाउन सक्छ तर पहिलो र सबैभन्दा भरपर्दो विकल्प साबुन नै हो।"
उनले नेपालमा शत प्रतिशत प्रशोधित रक्सी नपाइने भएकाले त्यो पनि एउटा चुनौती भएको उल्लेख गरे।
नेपालमा स्यानिटाइजरको गुणस्तर निर्धारण हुनै बाँकी
विश्वका १०० भन्दा बढी मुलुकमा कोरोनाभाइरसको सङ्क्रमण देखिएसँगै नेपाली बजारमा नयाँ नाम सहितका स्यानिटाइजरहरू देखा पर्न थालिरहेका छन्।
तर स्यानिटाइजरको गुणस्तरबारे हालसम्म मापदण्ड बन्न बाँकी रहेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बीबीसीलाई बताए।
उनले भने, "विगतमा गुणस्तर निर्धारण गरिएको थिएन तर अहिले यो एउटा महत्त्वपूर्ण विषयका रूपमा आएको छ। हामीले हप्ता दश दिनभित्रै एउटा मापदण्ड बनाउँछौँ र यसका लागि प्रकिया सुरू गरेका छौँ।"
"बजारमा विभिन्न खालको स्यानिटाइजरहरू आइरहेको छ। त्यसको गुणस्तर कस्तो हुनुपर्छ भनेर हामीले अन्तर्राष्ट्रिय अभ्यास र हाम्रा छिमेकी देशको अभ्यास हेरेर निर्णय लिन्छौँ। प्रयोगशाला परीक्षण पनि गरेर हेर्नुपर्ने हुन्छ।"
देशभित्र उत्पादित र विदेशबाट आयात गरिने सामग्रीहरूको गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी पाएको विभागले विगतमा स्यानिटाइजरका विषयमा खासै चासो नराखेको जस्तो देखिन्छ।

- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने?'रुघाखोकी लाग्दैमा आत्तिनुपर्दैन'
- नेपाल कति तयार?रोकथाममा चुनौतीका चाङ
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्









