कोरोनाभाइरस: सार्क सक्रिय बनाउने मोदीको प्रस्ताव सस्तो प्रचारबाजी कि रणनीतिक आह्वान

तस्बिर स्रोत, AFP
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसको सङ्क्रमणसँग जुझ्न सार्क देशहरूको नेतृत्वले बलियो रणनीति अवलम्बन गर्नुपर्ने प्रस्ताव गरेपछि त्यसले हाल निष्क्रिय दक्षिण एशियाली देशहरूको सङ्गठन सार्कलाई कस्तो प्रभाव पार्ला भनेर विभिन्न टीकाटिप्पणी भइरहेका छन्।
आठ सदस्य राष्ट्र रहेको सार्क हालैका वर्षमा भारत र पाकिस्तानबीचको विवादको छायामा परेको छ।
सन् २०१४ यता सार्कको शिखर सम्मेलन पनि आयोजना हुन सकेको छैन् भने यसबीचमा भारतले भुटान-बाङ्ग्लादेश-भारत-नेपाल अर्थात् 'बीबीआईएन' नामक उपक्षेत्रीय सङ्गठनको अवधारणा अघि सारेको छ।
कतिपयले भारतको विदेश नीतिले पाकिस्तानलाई एक्ल्याउने उद्देश्य राखेको र त्यसको मारमा तीन दशकभन्दा लामो इतिहास रहेको सार्क परेको बताउने गरेका छन्।
मोदीले गरे सार्कको चर्चा
विश्व स्वास्थ्य सङ्गठनले यसै साता कोरोनाभाइरसको सङ्क्रमणलाई विश्वव्यापी महामारी घोषणा गरेपछि मोदीले सार्क कोरोनाभाइरस विरुद्धको लडाइँमा उदाहरणीय बन्न सक्ने धारणा सामाजिक सञ्जाल ट्विटरमार्फत् शुक्रवार राखे।
उनले लेखेका छन्, "म सार्कको नेतृत्वलाई कोरोनाभाइरस विरुद्धको लडाइँका लागि बलियो रणनीति तय गर्न प्रस्ताव गर्न चाहन्छु। हाम्रा नागरिकलाई कसरी सुरक्षित राख्न चाहन्छौँ भनेर हामी भिडिओ कन्फ्रेन्समार्फत् छलफल गर्न सक्छौँ। मिलेर हामी विश्वमै उदाहरण बन्न सक्छौँ र पृथ्वीलाई स्वस्थ्य बनाउन योगदान पुर्याउन सक्छौँ।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
मोदीको उक्त ट्वीटको नेपाल, माल्दिभ्स, श्रीलङ्का, बाग्लादेश, भुटान र अफगानिस्तानका नेताहरूले स्वागत गरेका विवरण आएका छन्।
कोरोनाभाइरसको विषयमा भिडिओ कन्फ्रेन्सको आह्वान गरिएको मोदीको सन्देशबारे पाकिस्तानले यो समाचार लेख्ने बेलामसम्म कुनै धारणा सार्वजनिक गरेको छैन।
सतर्कतापूर्वक स्वागत
तर विज्ञहरूले सार्कबारे मोदीको पछिल्लो भनाइलाई सतर्कतापूर्वक हेर्नुपर्ने र यसकै मात्र आधारमा दक्षिण एशियाली क्षेत्रीय सङ्गठनलाई सक्रिय बनाउन भारत इच्छुक भएको मान्न नसकिने धारणा राखेका छन्।
दक्षिण एशियाली नीति अध्ययन केन्द्रका पूर्वकार्यकारी निर्देशक प्राध्यापक श्रीधर खत्री भन्छन्, "यदि सार्कको प्रचुर सम्भाव्यतालाई ध्यान दिँदै यसलाई सक्रिय बनाउने उद्देश्यले आएको हो भने भारतीय प्रधानमन्त्रीको भनाइ स्वागतयोग्य छ। तर अस्थायी रूपमा कोरोनाभाइरसको नियन्त्रणका लागि प्रतिक्रिया जनाउन मात्रै यो सीमित हुनु हुँदैन।"
उनी थप्छन्, "कोरोनाभाइरसको विषयमा मात्रै कुरा गर्ने हो भने यसका धेरै राजनीतिक प्रभावहरू देखिन सक्छन् र छोटो समयका लागि मात्रै महत्त्व हुन सक्छ। त्यहीँ भएर दीर्घकालीन अवधारणासहित सार्कलाई सक्रिय बनाउनुपर्छ।"
जोन्स हपकिन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार दक्षिण एशियाका आठवटै देशमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको छ।
शनिवार बिहानसम्म कोरोनाभाइरसबाट भारतमा ८२ जना सङक्रमित भएका छन् भने दुई जनाको मृत्य भएको छ। पाकिस्तानमा सङ्क्रमणका घटना २० वटा फेला परेका छन्।
शुक्रवारसम्म माल्दिभ्समा आठवटा, अफगानिस्तानमा सात, बाङ्ग्लादेशमा तीन, श्रीलङ्कामा दुई, नेपाल र भुटानमा एक-एक वटा सङ्क्रमणका घटना भएको जोन्स हपकिन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ।
सन् २०१४ मा पहिलो पटक निर्वाचित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो शपथग्रहणमा सार्क देशका नेताहरूलाई निम्तो गरेका थिए।
भारतले सार्क भूउपग्रह अन्तरिक्षमा पठाउने घोषणा गर्दै त्यसबाट क्षेत्रीय रूपमा नै लाभ हुने बताएको थियो।
तर त्यसपछि भारत-पाकिस्तान सम्बन्ध चिसिएपछि सार्क लगभग निष्क्रिय बनेको छ।
अवरुद्ध सार्क
पछिल्लो पटक सन् २०१४ मा काठमाण्डूमा सार्क शिखर सम्मेलन भएको थियो। अहिले सार्कको अध्यक्षता गर्दै शिखर सम्मेलन आयोजना गर्ने जिम्मेवारी पाकिस्तानले पाएको छ।
पाकिस्तानले सार्कको १९ औँ शिखर सम्मेलन सन् २०१६ को नोभेम्बरमा इस्लामाबादमा गर्ने भनेर मिति घोषणा गरेको थियो।
तर आफ्नो एउटा सैनिक ब्यारेकमा भएका हमलामा पाकिस्तानको हात रहेको आरोप लगाउँदै भारतले उक्त सम्मेलन बहिष्कार गर्ने घोषणा गर्यो।

तस्बिर स्रोत, AFP
त्यसबेला अफगानिस्तान, बाङ्ग्लादेश र भुटानले पनि सार्क शिखर सम्मेलनमा जान नसक्ने बताएपछि सार्कलाई क्रियाशील बनाउने पछिल्ला प्रयासहरूले सार्थक उपलब्धि दिएका छैनन्।
दक्षिण एशिया नीति अध्ययन केन्द्रका पूर्वकार्यकारी निर्देशक खत्री राजनीतिक मुद्दाका रूपमा भन्दा पनि दीर्घकालीन हिसाबले सबै सदस्य राष्ट्रलाई लाभ हुनेगरी सार्क अघि बढाउने प्रतिबद्धता भारतबाट आउनुपर्ने बताउँछन्।
उनी भन्छन्, "आफ्नो अनुकूल एउटा मात्रै विषयमा सार्कलाई उपयोग गर्ने र अरू बला बेवास्ता गर्ने हुन सक्दैन। सार्कलाई सबैको हितमा दीर्घकालीन रूपमा अघि बढाउने प्रतिबद्धता आयो भने मात्रै यो सक्रिय बन्न सक्छ।"
उनले पाकिस्तानको प्रभाव कम गराउन हालैका वर्षमा भारतले सार्कलाई बेवास्ता गरेको उल्लेख गर्दै सार्कलाई परिणाममुखी बनाउन पाकिस्तानलाई पनि विश्वासमा लिन सक्नुपर्ने उल्लेख गरे।
भारत-पाकिस्तान सम्बन्धको ताजा अवस्था
अघिल्लो वर्ष भारतले कश्मीरको विशेष हैसियत खारेज गर्ने निर्णय गर्दै त्यहाँ व्यापक धरपकड गरेपछि दिल्ली र इस्लामाबादबीच थप दूरी बढेका विवरणहरू आएका थिए।
मोदील सार्कको स्तरबाट कोरोनाभाइरससँग जुझ्न रणनीति तय गर्नुपर्ने धारणा राखेकै दिन जम्मु-कश्मीरका पूर्वमुख्यमन्त्री फारुक अब्दुल्लाह नजरबन्दबाट रिहा गरिएका छन्।
अमेरिकास्थित नीति अनुसन्धान संस्था ब्रुकिङ्सकी वरिष्ठ अध्येता तानवी मादन सार्कलाई सक्रिय बनाउने भारतीय धारणाले सीमित खालको उद्देश्य मात्रै बोकेको हुन सक्ने बताउँछिन्।
उनले ट्विटरमा लेखेकी छन्, "सार्क बारेको भारतको प्रस्ताव कोभिड-१९ को विशेष परिस्थितिलाई ध्यान दिएर मात्रै आएको हुन सक्छ। र, यो साम्य हुनेबित्तिकै सबैले एकअर्कालाई फेरि दोषारोपण गर्न सुरु गर्न सक्छन्। पाकिस्तानले यसबारे कस्तो धारणा राख्नेछ त्यो चाखलाग्दो हुनेछ। यदि उसले हुँदैन भन्यो भने भारतले हामीले प्रयत्न गर्यौ भन्न सक्नेछ।"


- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने?'रुघाखोकी लाग्दैमा आत्तिनुपर्दैन'
- नेपाल कति तयार?रोकथाममा चुनौतीका चाङ
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्

यसअघि कोरोनाभाइरसको केन्द्रबिन्दु रहेको वुहानबाट आफ्ना नागरिकहरूको उद्धार गर्ने क्रममा भारतले त्यहाँ रहेका छिमेकी देशका नागरिकको समेत उद्धारमा आफूले मद्दत गर्न सक्ने बताएको थियो।
तर त्यसबेला नेपालसहितका देशले आफैँ आफ्ना नागरिकलाई वुहानबाट उद्धार गरेर स्वदेश फर्काएका थिए।
तीन साताअघि अर्को क्षेत्रीय सहकार्य अवधारणा साङ्घाई सहयोग परिषद्को प्रतिरक्षा तथा सुरक्षासम्बन्धी समूहको इस्लामाबादमा भएको बैठकमा भारतले पनि सहभागिता जनाएको थियो।
पाकिस्तान पनि सदस्य रहेको साङ्घाई सहयोग परिषद्को शिखर बैठक यसै वर्षको अन्त्यमा भारतमा हुने तय भएको छ।
त्यहीँ भएर यस वर्ष भारत पाकिस्तानबीचको सम्बन्ध कसरी अघि बढ्छ भन्नेबारे पहिलाभन्दा बढी चासो रहेका छन्।








