खेलकुद क्षेत्रका महिलाबारे भारतीयहरू के सोच्छन्

सय्यदा फलक

तस्बिर स्रोत, Getty Images

के खेलकुदमा महिलाहरू पुरुष जत्तिकै राम्रा छन्? बीबीसीले गरेको एउटा सर्वेक्षणमा सहभागी मानिसहरूमध्ये धेरैको उत्तर सकारात्मक पाइयो।

खेलकुद क्षेत्रका महिलाप्रति गरिने व्यवहारबारे गरिएको अध्ययनका क्रममा अधिकांश सहभागीले महिला खेलाडीले समान पारिश्रमिक पाउनुपर्ने धारणा राखे।

यद्यपि सहभागीमध्ये ४२ प्रतिशतले महिला खेलकुद पुरुष खेलकुदसरह "मनोरञ्जनात्मक" नभएको आफूहरूले महसुस गरेको बताए।

रूप र प्रजनन क्षमतालाई लिएर महिला खेलाडीबारे नकारात्मक धारणा रहेको पनि पाइएको छ।

बीबीसीले भारतका १४ वटा राज्यका १०,१८१ जना व्यक्तिबीच अध्ययन गरेको थियो।

अध्ययनले महिला र पुरुष दुवैका लागि खेलकुदको महत्त्व, सबैभन्दा बढी खेलमा सहभागी हुने राज्य र देशमा सबैभन्दा बढी चिनिने खेलाडीबारे नतिजा प्रस्तुत गरेको छ।

प्रस्तुत छ अध्ययनका केही परिणाम:

नखेल्ने एउटा देश

यो अध्ययनका अनुसार ६४ प्रतिशतजति भारतीय वयस्कहरू कुनै प्रकारको खेलकुद अथवा शारीरिक क्रियाकलापमा सहभागी हुँदैनन्।

लैङ्गिक हिसाबले हेर्दा सङ्ख्या झन् निराशाजनक देखिन्छः महिला (२९ प्रतिशत) भन्दा झन्डै डेढगुना बढी पुरुष (४२ प्रतिशत) ले खेल्ने गरेको पाइएको छ।

विभिन्न भारतीय राज्यका बीच पनि ठूलो असमानता रहेको पाइएको छ।

सबैभन्दा बढी खेलकुदमा सहभागी हुनेमा दक्षिण राज्य तमिलनाडु (५४ प्रतिशत) र पश्चिमी राज्य महाराष्ट्र (५३ प्रतिशत) छन्।

उत्तरी राज्यहरू पञ्जाब र हरियाणामा जम्मा १५ प्रतिशत जनसङ्ख्या खेलकुदमा सहभागी हुने गरेको पाइयो।

भारतका सबैभन्दा लोकप्रिय खेलाडी

सबैभन्दा चर्चित पुरुष खेलाडीको नाम लिन लगाउँदा मानिसहरूले अवकाश लिइसकेका क्रिकेटर सचिन तेन्दुलकरको नाम लिए।

आश्चर्यलाग्दो कुरा भन्नुपर्दा सर्वेक्षणमा सहभागीमध्ये ३० प्रतिशतले त एकजना खेलाडीको पनि नाम बताउन सकेनन्।

सचिन तेन्दुलकर

तस्बिर स्रोत, Getty Images

महिलाको हकमा यो सङ्ख्या झन् नराम्रो देखियो।

पचास प्रतिशत सहभागीले एउटा महिला खेलाडीको नाम पनि बताउन सकेनन्।

यद्यपि १८ प्रतिशतले चाहिँ सानिया मिर्जाको नाम लिए। मिर्जाले भारतको तर्फबाट टेबल टेनिसमा विभिन्न अन्तर्राष्टिय उपाधि जितेकी छन्।

Presentational grey line

महिला खेलाडी प्रतिको धारणा

गीता पाण्डे, बीबीसी न्यूज, दिल्ली

भारतीय पुरुषले क्रिकेट, फुटबल, भलिबल, दौड र साइक्लिङ लगायतका खेल खेल्न पाइरहँदा महिलाको हकमा धेरै विकल्प हुँदैन।

भारतमा व्याप्त लैङ्गिक भेदभावका कारण यो निर्देशितजस्तै देखिन्छ।

नभए सर्वेक्षणमा सहभागीमध्ये एकतिहाइले केही खेल महिलाका लागि उपयुक्त नभएको किन भन्थे?

त्यस्ता खेलमा उनीहरूले कुस्ती, बक्सिङ, कबड्डी र भारोत्तोलनलाई उल्लेख गरे।

यद्यपि पुरातनवादी सोचलाई भत्काउँदै भारतीय महिला खेलाडीहरू कुस्ती, बक्सिङ, कबड्डी र भारोत्तोलनमा अगाडि बढेका छन्।

ओलिम्पिक्स, कमनवेल्थ र एशियाली लगायतका खेलकुदमा पदकहरू जितेर उनीहरूले गौरवान्वित तुल्याएका छन्।

Presentational grey line

बीबीसीले भारतमा पहिलो पटक 'बीबीसी इन्डियन स्पोर्ट्सवुमन अफ द ईयर' वा वर्षकी उत्कृष्ट महिला खेलाडी छनोट गर्न पाँच खेलाडीको नाम मनोनयन गरेको छ।

धावक दुती चंद, प्यारा ब्याडमिन्टन खेलाडी मानसी जोशी, बक्सिङकी मेरी कोम, ब्याडमिन्टनकी पीभी सिन्धु र पहलमान विनेश फोगट रहेका छन्। शनिवार उत्कृष्ट खेलाडीको नाम सार्वजनिक हुनेछ।