कोरोनाभाइरस: चीनका नेपालीको प्रश्न, 'यस्तो बेला देश र देशवासीले साथ नदिए कसले दिन्छ?'

कोरोनाभाइरस

तस्बिर स्रोत, Reuters

सरकारले चीनबाट नेपालीहरू ल्याई क्वारन्टीनमा राख्ने तयारी गरेको भए पनि स्थानीय स्तरमा कोरोनाभाइरस सङ्क्रमणबारे पर्याप्त सूचना प्रवाह हुन नसकेको देखिएको छ।

नेपाली विद्यार्थीहरूलाई उद्धार गरेर नेपालका चार स्थानमा दुई हप्ता निगरानीमा राख्ने सरकारको तयारी छ।

तर भक्तपुरको खरिपाटीका स्थानीय बासिन्दाहरू भने नजिकै नेपाल विद्युत्‌ प्राधिकरणको तालिम केन्द्रमा उनीहरूलाई राख्ने कुराको विरोध गरिरहेका छन्।

चीनमा रहेका नेपाली विद्यार्थीहरूले भने विरोधले आफूहरू निकै 'निराश, चिन्तित र भावुक बनाएको' भन्दै आफूलाई कोरोनाभाइरसको सङ्क्रमण नभएको बताइरहेका छन्।

किन स्थानीय बासिन्दाहरूले यसको विरोध गरिरहेका छन् र चीनका नेपाली के भन्छन् त?

बीबीसी न्यूज नेपालीले चीनको प्रभावित क्षेत्र हुबेमा रहेका एक नेपाली विद्यार्थी र खरिपाटीमा आन्दोलनरत स्थानीय बासिन्दासँग कुराकानी गरेको छ।

'हामी मानव बम होइनौँ'

मेरो नाम अमित श्रीवास्तव हो। म चीनको हुबे यूनिभर्सिटी अफ मेडिसिनमा 'इन्टर्नल मेडिसिन'मा स्नातकोत्तर गर्दैछु।

म वुहान सहरबाट द्रुत गतिको रेलमा दुई घण्टा लाग्ने स्थानमा बस्छु।

कोरोनाभाइरस

तस्बिर स्रोत, Ameet Srivastab

हामी यहाँ अहिले क्वारन्टीनमा छौँ। तर नेपालमा कोरोनाभाइरसबारे गलत कुराहरू फैलिरहेका छन्।

त्यही कारणले होला भक्तपुरमा विरोध भएको हामीले समाचार पढिरहेका छौँ।

म आफैँ पनि चिकित्सक हुँ। यहाँ अस्पतालमै काम गर्नुपर्छ।

कोरोनाभाइरस हावाबाट सर्ने रोग होइन। यो श्वासप्रश्वासजन्य रोग भए पनि हावामा भाइरस गएपछि त्यो अर्को व्यक्तिसम्म पुग्दैन।

खासमा यो सर्ने भनेको बिरामीको खकार, थुक, र्‍याल र रगतबाट हो।

कसैले खोकी लागेको बेला हात मुखमा लगेको छ र त्यही हातले समातेको वस्तु अर्को व्यक्तिले पनि समात्यो भने भाइरस सर्न सक्छ।

हावाबाट फैलिने भएको भए त यहाँ हामी कोठामा बसे पनि रोगी भइसक्थ्यौँ नि।

नेपालमा विशेषगरी भक्तपुरका मानिसहरूले हामी बिरामी भएर त्यहाँ आउँदै गरेका होइनौँ भन्ने बुझ्नुभएको छैन। हामी स्वस्थ रूपमै आउने हौँ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, वुहानबाट उद्धार गर्न सरकारसँग गुहार

कसैलाई सङ्क्रमण भएको रहेछ भने नसरोस् भनेर १४ दिनको समय राखिएको हो।

नेपाल आउँदा हामीलाई चीनले स्वास्थ्य जाँच गराएर मात्र पठाउँछ। बिरामी भेटिए त नेपाल जान दिँदैन।

अहिले चीनका विभिन्न स्थानमा यो फैलिसकेको छ। तर त्यहाँबाट नेपालमा पर्यटकहरू गइरहेका छन्।

खासमा त उनीहरूबाट पो डराउनु पर्ने हो सरकार। हामीसँग किन डराइरहेको छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दुमा गुन्जियो एकताको गीत

हामी 'मानव बम' होइनौँ, न त रोगी नै हौँ। यस्तो बेलामा पनि सरकार र नेपालीहरूले साथ नदिने भए हामीलाई कसले साथ दिन्छ?

म भक्तपुरका मानिसहरूलाई विनम्र अनुरोध के गर्छु भने तपाईंहरू डराउनुपर्दैन। हामी रोगी भएर आउन लागेका होइनौँ।

'हामीलाई बुझाइएको छैन'

मेरो नाम प्रकाश लामिछाने हो। म भक्तपुर खरिपाटीको बासिन्दा हुँ।

हामीले समाचारबाट यहाँस्थित तालिम केन्द्रमा चीनबाट ल्याइएका मानिसहरूलाई राख्ने भन्ने थाहा पायौँ।

कोरोनाभाइरस

तस्बिर स्रोत, Prakash Lamichhane

त्यसले हामीलाई निकै त्रसित बनायो। हामीले छलफल गर्‍यौँ। त्यसले हामीलाई निकै तनाव दियो।

तालिम केन्द्रनजिकै हाम्रो खानेपानीको ट्याङ्की रहेको छ। हामीले स्थानीय तहलाई पनि जानकारी गरायौँ।

खासै वास्ता नभएपछि हामीले आन्दोलन गर्ने निर्णय गर्‍यौँ।

रोग लागेको होला वा नहोला तर चीनबाट मानिसहरू ल्याएर राखे यहाँका ७५ प्रतिशत मानिसहरू घर छाड्न तयार भएका छौँ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस: क्वारन्टीन गरिने स्थाननजिकैका मानिसको त्रास र आक्रोश

आन्दोलन भएपछि प्रमुख जिल्ला अधिकारीले बोलाउनु भयो। उहाँले पनि यहाँ आएर हेर्छौँ भन्नु भएको थियो तर आउनु भएको छैन।

यदि उहाँहरू बिरामी होइन भने पनि कमसेकम सरकारी अधिकारीहरू आएर हामीलाई 'काउन्सिलिङ' त गरिदिनुपर्‍यो।

यहाँ त मानिसलाई 'वनको बाघले खाओस् कि नखाओस् मनको बाघले खायो' जस्तो भएको छ।

त्यसलाई त सरकारले हटाइदिनुपर्‍यो नि!

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरसका कारण बन्द वुहानको अवस्था