कोरोनाभाइरस: महामारी फैलिएको हुबेबाट नेपाली नागरिकलाई स्वदेश फर्काउन दुई वायुसेवाका विमान 'तम्तयार अवस्थामा'

नेवानिको एअरबस विमान

तस्बिर स्रोत, Keshav P. Koirala/BBC

तस्बिरको क्याप्शन, नेपाली दूतावासका अनुसार १८० नेपाली स्वदेश फर्किन आवेदन दिएका छन्

कोरोनाभाइरस सङ्क्रमणको त्रास बढ्दै गर्दा चीनको हुबे प्रान्तमा छरिएर रहेका नेपालीहरूलाई स्वदेश फर्काउने बन्दोबस्त "आफ्नोतर्फबाट लगभग पूरा भएको" बेइजिङस्थित नेपाली राजदूतावासले बताएको छ।

चीनको राजधानीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालका अनुसार हुबेमा रहेका १८० जना नेपालीबाट उद्धारका लागि आवेदन प्राप्त भएको छ।

स्वदेश फर्किन इच्छुक व्यक्तिहरू कोरोनाभाइरस महामारीको केन्द्रबिन्दुमा रहेको वुहान र वरपरका स्थानमा बस्दै आएका छन्।

वुहानबाट सुरु भएको भनिएको नयाँ कोरोनाभाइरसको प्रकोप फैलिएपछि चीनमा अहिलेसम्म ४२५ जनाको मृत्यु भइसकेको छ भने २०,००० मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ।

अन्य एक दर्जनभन्दा बढी देशका १५० भन्दा बढी मानिसमा पाइएको सङ्क्रमणमा चीनबाहिर फिलिपिन्समा एक र हङ्‌कङमा एक जनाको मृत्यु भएको छ।

बेइजिङको बन्दोबस्त

"नेपालबाट निर्देशन प्राप्त हुनासाथ हामी उहाँहरूलाई नेपाल फिर्ता पठाउँछौँ," मङ्गलवार लम्सालले बीबीसी न्यूज नेपालीसँग भने।

सुरक्षा

तस्बिर स्रोत, Getty Images

तर हुबेका विभिन्न स्थानमा छरिएका नेपालीहरूलाई वुहान ल्याउन एकदेखि दुई दिनसम्म लाग्ने बताइएको छ।

लम्सालले भने, "कुनै स्थान वुहानदेखि १० घन्टासम्म बस यात्रा गनु पर्ने दूरीमा छन्। उहाँहरूलाई वुहान ल्याउन हामीलाई केही समय चाहिन्छ।"

अध्ययन तथा काम गर्न गएका नेपालीहरूले आफूलाई उद्धार गरी स्वदेश फिर्ता गर्न सरकारसँग आग्रह गरेका थिए।

झन्डै २०० जना नेपालीहरू वुहान र त्यसवरपर बस्ने भए पनि दूतावासले उद्धारका लागि सूचना प्रकाशित गर्दा कुल १८० जनाले मात्र आवेदन दिएका थिए।

राख्ने ठाउँबारे निर्णय हुन बाँकी

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपाल वायुसेवा निगम र हिमालय एअरलाइन्सका दुई विमान चीनको वुहानबाट ती नेपालीको उद्धार गर्न "तम्तयार अवस्थामा" छन्।

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

तर चीनबाट ल्याइने नेपालीलाई केही दिनसम्म कहाँ अलग्गै निगरानीमा राख्ने भनेर सरकारले अहिलेसम्म निर्णय गरिसकेको छैन।

यसअघि अमेरिका, ब्रिटेन, अस्ट्रेलिया, भारत र अन्य देशले वुहान र वरपर रहेका आफ्ना नागरिकलाई फिर्ता लगेका थिए।

पछिल्लो विवरणअनुसार ताइवानले पनि वुहानबाट आफ्ना झन्डै ५०० नागरिकको उद्धार गरेको छ।

उनीहरू ताइपेई पुगिसकेका छन् र उनीहरूलाई दुई सातासम्म अलग्गै राखेर स्वास्थ्य परीक्षण गरिने बताइएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस: चीनमा यसरी बन्यो १० दिनमा अस्पताल