कोरोनाभाइरस: चीनमा रहेका नेपालीका अभिभावकको प्रश्न, 'हाम्रा छोराछोरी बिरामी बनून् भनेर कुरेको?'

तस्बिर स्रोत, Getty Images
कोरोनाभाइरस शुरू भएको चीनको हुबे प्रान्तमा रहेका नेपालीहरूलाई उद्धार गर्ने निर्णय कार्यान्वयनमा ढिलाइ गरेको भन्दै त्यहाँ रहेका नेपालीहरूका आफन्तले सरकारप्रति आक्रोश व्यक्त गरेका छन्।
बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेर उनीहरूले आक्रोश व्यक्त गरेका हुन्।
मन्त्रालयमा पुग्नेमा अधिकांश चीनको हुबेमा अध्ययनरत नेपाली विद्यार्थीका अभिभावक र आफन्त रहेका छन्।
स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र स्वास्थ्य सचिव खगराज बराललाई भेट्न खोजे पनि उनीहरूले समय नदिएपछि अभिभावकहरूले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई भेटेका थिए।
उनले पनि पुरानै कुरा दोहोर्याएको भन्दै अभिभावकहरूले निराशा व्यक्त गरे।
निराश
एक अभिभावक दिनेश श्रेष्ठले भने, "उहाँहरूले खाली पुरानै कुरा दोहोर्याउनुभयो। हामी आशावादी भएर आएका थियौँ, झन् निराश भयौँ।"
अर्का अभिभावक भगवतीलाल कक्षपतिले सरकारले 'यस्तै आलटाल गरिराखे' ठूलो जनदबाव दिने बताए।
उनले भने, "हामीले बल्लबल्ल राज्यमन्त्रीलाई भेट्न पायौँ। यस्तो दु:ख परेका बेलामा पनि हामीले आफ्ना मन्त्रीलाई भेट्न नपाउने? यो कस्तो पारा हो?"
अर्की अभिभावक विमला श्रेष्ठले वुहानमा रहेका आफ्ना छोराले खाना र पानी पनि अभाव भएको बताएको सुनाइन्।
५६३जनाको मृत्यु
१,१५३जना निको
२८,०१८जनामा सङ्क्रमण भएको पुष्टि
२४,७०२जनामा सङ्क्रमण भएको आशङ्का
१,८६,३५४जना चिकित्सकीय निगरानीमा
आक्रोश
श्रेष्ठले भनिन्, "यस्तो डरलाग्दो अवस्थमा हाम्रा बच्चाहरू बसिरहेका छन्। सरकारले छिटोभन्दा छिटो ल्याओस्, अहिले निरोगी छन्। के सरकारले रोग लागोस् भनेर कुरेको हो?"
अर्की अभिभावक हस्न ताम्राकारले आफ्नो छोरीको पीडा सम्झेर निकै चिन्तित भएको बताइन्।
उनले भनिन्, "अहिले छोरीको अवस्थाले हामीलाई न राती निद्रा लाग्छ न दिउँसो निद्रा लाग्छ। सरकारले गर्छु गर्छु भन्छ खै त गरेको?"
आफ्ना मागहरू सुनुवाइ नभएको भन्दै अभिभावकहरूले वसन्तबहादुर भण्डारीको संयोजकत्वमा एउटा सङ्घर्ष समिति समेत बनाएको बताएका छन्।
भण्डारीले सरकारको कछुवाको गतिमा मात्र काम गरेको भन्दै हुबेमा रहेका आफ्ना आफन्तको तत्काल उद्धार नगरिए आन्दोलन समेत गर्न सक्ने चेतावनी दिए।
उनीहरूले वुहान सहरमा रहेका नेपाली विद्यार्थीहरू कस्तो अवस्थामा बसिरहेका छन् भनेर भिडिओ कल गरेर पनि अधिकारीहरूलाई देखाएको उक्त भेटमा सहभागी एक विद्यार्थीकी आफन्त सोमिला कक्षपतिले बताइन्।
सरकारको भनाइ
नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भने चीनमा रहेका नेपालीहरूको अभिभावकत्व सरकारले लिने आश्वासन दिएका छन्।
मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने हरेक बिहीवार सिंहदरबारमा हुने नियमित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो आश्वासन दिएका हुन्।

तस्बिर स्रोत, Getty Images
कोरोनाभाइरस सङ्क्रमणबारे अहिले विश्व नै संवेदनशील रहेको र आफूहरू पनि संवेदनशील रहेको उनले बताए।
उनले भने, "अहिले चीनमा रहनुभएका नेपालीहरूका अभिभावकहरू चिन्तित हुनुहुन्छ। सरकार पनि अभिभावकसरह चिन्तित छ। नेपाली नागरिकको जीवनरक्षा गर्ने कुरा संवेदनशील र जोखिमपूर्ण रहेको छ।"
उनले चीनले अहिले त्यहाँ रहेका नेपाली नागरिकहरूलाई पनि आफ्नै नागरिकले पाएकै जस्तो सुविधा दिइरहको बताए।
बास्कोटाले भने, "यो अत्यासलाग्दो वातावरणबारे हामी सचेत छौँ, तर हामीलाई चिनिनयाँ अधिकारीहरूले आश्वस्त गराएका छन्। दुर्भाग्यभित्रको सौभाग्य मान्नुपर्छ त्यहाँ नेपालीहरू सुरक्षित छन्।"
सरकारले वुहानमा रहेका नेपालीहरूको उद्धारको तयारी गरिरहेको र चार स्थानमा राख्ने तय पनि भइसकेको जानकारी दिए।
उनले १८० जनालाई ल्याउँदा सबै नेपाली बिरामी पर्छन् भन्ने खालको हल्ला फैलाइएको भन्दै त्यस्तो नगर्न पनि आग्रह गरे।
चार स्थानमा राखिने
सरकारले बिहीवारै चीनको हुबे प्रान्तबाट उद्धार गरिने १८० जना नेपालीहरूलाई 'क्वारन्टीन' गर्ने चार स्थानको टुङ्गो लगाएको अधिकारीहरूले बताएका छन्।
सरुवा रोग फैलिएको स्थानबाट आउने मानिसलाई निश्चित अवधिका लागि चिकित्सकीय निगरानीमा अलग्गै राख्ने कामलाई क्वारन्टीन भनिन्छ।
प्रस्तावित केही स्थानमा आवश्यक पूर्वाधार पनि नरहेको तथा कतिपय स्थानमा स्थानीयवासीको अवरोध रहेका कारण सरकार अन्तिम टुङ्गोमा पुग्न सकेको थिएन।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शिवपुरीस्थित नेपाली सेनाको तालिम केन्द्र, इचङ्गुनारायणस्थित सुकुम्बासीका लागि बनाइएको अपार्टमेन्ट, कृषि तालिम केन्द्र सूर्यविनायक र भक्तपुरस्थित खरीपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रसहित चार स्थानमा क्वारन्टीनस्थल व्यवस्थित गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।










