विरोध प्रदर्शनकाबीच बग्दादस्थित अमेरिकी राजदूतावासमा रकेट आक्रमण

तस्बिर स्रोत, Reuters
इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावासमा कम्तीमा तीनवटा रकेट प्रहार भएका छन्।
एउटा रकेट त्यहाँको खाना खाने स्थलमा र अन्य दुईवटा केही टाढा खसेको समाचारसंस्था एएफपीलाई एउटा सूत्रले बताएको छ।
अर्को समाचारसंस्था रोएटर्सलाई सुरक्षास्रोतले जनाएअनुसार आक्रमणमा परी कम्तीमा तीन व्यक्ति घाइते भएका छन्।
दूतावासका कर्मचारी घाइते भएको यो पहिलो आक्रमण हुन सक्ने बताइएको छ। कुनै समूहले आक्रमणको जिम्मेवारी लिइसकेको छैन।
तर अमेरिकाले विगतमा इराकस्थित इरानबाट समर्थनप्राप्त सैन्य समूहहरूमाथि आरोप लगाउने गरेको थियो।
अमेरिकी विदेश मन्त्रालयले एउटा विज्ञप्तिमा इरान समर्थित सशस्त्र समूहबाट खतरा भएको उल्लेख गरेको छ। तर विज्ञप्तिमा हताहत भएका व्यक्तिबारे कुनै जानकारी दिइएको छैन।
इराकी प्रधानमन्त्रीले रकेट हमलाको निन्दा गरेका छन्। अदेल अब्दुल महदीले यस्ता घटनाहरूको निरन्तरताले इराकलाई लडाइँको मैदान बनाउन सक्ने बताए।
अमेरिकी विदेश मन्त्रालयले आफ्ना कूटनीतिक सेवाको सुरक्षाको निम्ति इराकको सरकारलाई दायित्व पूरा गर्न आग्रह गरेको जनाएको छ।
बग्दादको सुरक्षित मानिने ग्रीन जोन वा अन्तर्राष्ट्रिय निकायहरू भएका क्षेत्रमा रकेट आक्रमण भइरहन्छ।
तर लामो समययता पहिलो पटक रकेटको निसानामा अमेरिकी दूतावास परेको छ।
इरान-अमेरिका तनावमा इराक
केही समययता भएका आक्रमणहरूले दूतावास वा अमेरिकी सेना तैनाथ इराकी सैन्य शिविरहरूलाई निसाना बनाएका छन्।
विगत केही हप्तादेखि चुलिएको इरान र अमेरिकाबीच तनावमा इराक पनि तानिएको छ।

तस्बिर स्रोत, EPA
इराकका शक्तिशाली शिया नेता मोक्तदा अल-सद्रले अमेरिकी सेनालाई इराक छाड्न दबाव दिने उद्देश्यले अमेरिकाविरोधी प्रदर्शनहरू आयोजना गरेका छन्।
ज्यानुअरी ३ मा इरानका एक सैन्य नेता कासिम सुलेमानीको बग्दाद विमानस्थलमा अमेरिकाले गरेको ड्रोन आक्रमणमा मृत्यु भएपछि मोक्तदा अल-सद्रले समर्थकहरूलाई अमेरिकालक्षित विरोधमा ओर्लिन आह्वान गरेका थिए।
त्यसअघि उनीहरू सरकारविरुद्ध प्रदर्शनमा थिए।
प्रदर्शनकारीहरू सरकारविरोधी धर्नाबाट शनिवार फर्किएका थिए।








