इराकबाट अमेरिकी सेना फिर्ता नहुने अमेरिकी रक्षामन्त्रीको भनाइ

अमेरिकी सेना

तस्बिर स्रोत, AFP

इराकबाट अमेरिकी सेना फिर्ता हुँदैछन् भन्ने कुरालाई अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका छन्।

एकजना अमेरिकी सैन्य जेनेरलले इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रपश्चात् उनले इराकबाट अहिलै फौज फिर्ता गर्ने बेला नभएको स्पष्ट पारेका हुन्।

ती अमेरिकी सैन्य जेनेरलले लेखेको पत्रमा अमेरिकाले "आगामी दिन र साताहरूमा फौजलाई स्थानान्तरण गर्ने" उल्लेख गरिएको थियो।

इराकी संसद्ले इराकबाट अमेरिकी फौज फिर्ता हुनुपर्ने भनी सङ्कल्प प्रस्ताव पारित गरेपछि उक्त पत्र लेखिएको थियो।

अमेरिकी रक्षामन्त्रीले चाहिँ उक्त पत्र "अहिले अमेरिकाले राखिरहेको अडानसँग नमिल्ने" बताए।

पत्रको भाषा

अमेरिकी सेनाका एकजना वरिष्ठ सैन्य अधिकारीले पनि उक्त पत्रको "भाषा नमिलेको र गल्तीले पठाइएको" बताएका छन्।

इराकमा इरानी सैन्य जेनेरल कासिम सुलेमानीको हत्यापश्चात् अमेरिकी सेनामाथि बढेको खतराबीच यस्तो अन्योल सिर्जना भएको हो।

इरान

तस्बिर स्रोत, AFP/GETTY

तस्बिरको क्याप्शन, सुलेमानीलाई इरानमा दोस्रो शक्तिशाली व्यक्ति मानिन्थ्यो

राष्ट्रपति ट्रम्पको आदेशमा गत शुक्रवार सुलेमानी मारिएका थिए।

उक्त घटनापश्चात् मध्यपूर्व क्षेत्रमा तनाव बढेको छ।

ट्रम्पको चेतावनी

इरानले आफ्ना सैन्य जेनेरलको हत्याको बदला लिने बताएको छ।

इराकको संसद्ले पारित गरेको संकल्प प्रस्ताव त्यहाँको सरकारका लागि बाध्यकारी भने हुँदैन।

तर इराकी प्रधानमन्त्रीले आफू पनि अमेरिकी सेना फिर्ता हुनुपर्ने पक्षमा रहेको बताइसकेका छन्।

राष्ट्रपति ट्रम्पले चाहिँ इराकबाट आफ्नो सेना फिर्ता गर्नुपरेमा इराकमाथि कडा प्रतिबन्धहरू लगाउने बताएका छन्।