भारतमा झडप: थप प्रदर्शनकारीको मृत्यु

तस्बिर स्रोत, Samiratmaj Mishra/BBC
उत्तरी भारतका प्रहरीले नागरिकताको नयाँ कानुनविरुद्ध चर्केको प्रदर्शनका क्रममा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको बताएको छ।
उत्तर प्रदेश राज्यको रामपुरमा सयौँ प्रदर्शनकारी तथा दङ्गा प्रहरीबीच झडप भएका छन्।
प्रहरीले लाठीचार्ज एवं अश्रुग्यासको प्रयोग गरेको छ।
ती प्रदर्शनकारीको मृत्य कसरी भयो भन्ने प्रस्ट भएको छैन।
कम्तीमा १२ को मृत्यु
गत केही दिनदेखि चर्किएको विरोध प्रदर्शनका क्रममा उत्तर प्रदेशमा कम्तीमा १२ जनाको ज्यान गएको बताइएको छ।
मृत्यु हुनेहरूमध्ये अधिकांशलाई गोली लागेको छ।

तस्बिर स्रोत, EPA
शनिवार भारतका अन्य कम्तीमा पाँच राज्यमा नागरिकता कानुनविरुद्ध प्रदर्शन भएका छन्।
दक्षिणी राज्य तामिलनाडुमा प्रदर्शनकारीहरूले रेलवे स्टेशन नजिकैको प्रहरी घेरा तोडेका छन्।
पूर्वी बिहारमा विपक्षी दलले एकदिने हडतालको आह्वान गरेको छ।
सो दलका समर्थकहरूले सडक तथा रेलसेवामा अवरोध उत्पन्न गराए।
नयाँ कानुनमा के को विवाद?
हाल विवादको केन्द्रमा रहेको नागरिकतासम्बन्धी नयाँ कानुन खासगरि मुस्लिम समुदायकाविरुद्ध विभेदकारी भएको आलोचकहरूले बताउने गरेका छन्।
सीएए भनिएको नागरिकता संशोधनसम्बन्धी नयाँ ऐनले मुस्लिमबाहेक अन्य आप्रवासीलाई धार्मिक आधारमा नागरिकता दिन सकिने व्यवस्था गरेको छ।
संशोधन हुनुअघि नागरिकतासम्बन्धी भारतको ६४ वर्ष पुरानो कानुनले गैरकानुनी आप्रवासीहरूलाई भारतीय नागरिक हुन दिँदैनथ्यो।
यसअघिको कानुनी व्याख्यामा गैरकानुनी आप्रवासीहरू भनेका वैध राहदानी वा यात्रासम्बन्धी कागजपत्र नभईकनै भारत प्रवेश गर्ने वा अनुमति दिइएकोभन्दा बढी समय भारतमा बिताउने मानिसहरू भन्ने थियो।
गैरकानुनी आप्रवासीलाई उनीहरूकै देश फिर्ता पठाउने वा जेल हाल्न सकिने अहिलेको व्यवस्था छ।
भारतको नागरिकता लिनको लागि त्यहाँ कम्तीमा ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने व्यवस्थालाई पनि अब फेरिनेछ।
अब हिन्दू, सिख, बौद्ध, जैन, पारसी र इसाई धर्म मान्ने समुदायका लागि उनीहरू पाकिस्तान, बाङ्ग्लादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्न सकेमा उक्त कानुनअन्तर्गत विशेष व्यवस्था हुनेछ।
६ वर्ष मात्र भारतमा बसेको वा काम गरेको भरमा उनीहरूले नागरिकता पाउन सक्नेछन्।








