आर्सनल क्लबका मेसुट ओजिलले चीनलाई चिढ्याउनेगरी के भने

ओजिल

तस्बिर स्रोत, Getty Images

आर्सनल क्लबले आफ्ना एक खेलाडी मेसुट ओजिलले चीनमा उइगर मुस्लिम समुदायप्रति गरिने व्यवहारबारे गरेको टिप्पणीसँग आफ्नो सम्बन्ध नभएको स्पष्टीकरण दिएको छ।

अधिकारवादी समूहहरूका अनुसार अधिकांश मुस्लिम उइगर समुदायका गरी १० लाख मानिसहरूलाई चीनमा कुनै सुनुवाइ नगरीकनै उच्च सुरक्षा दिइएका बन्दी शिविरमा राखिएको छ।

चीनका अनुसार तिनलाई हिंसात्मक धार्मिक कट्टरताविरुद्ध लड्न 'व्यावसायिक प्रशिक्षण केन्द्र'मा राखिएको छ।

"आर्सनल सधैँ गैरराजनीतिक सङ्गठन रहेको छ," लन्डनस्थित उक्त क्लबले जनाएको छ।

"शुक्रवार मेसुट ओजिलले सामाजिक सञ्जालमा सन्देशहरू राखेपश्चात् आर्सनल फुटबल क्लबले ती सबै उनका व्यक्तिगत धारणा हुन् भनेर स्पष्ट पार्नैपर्छ।"

आर्सनलको विज्ञप्ति चीनको अग्रणी सामाजिक सञ्जाल वाइबोमा प्रकाशित गरिएको छ।

के भने ओजिलले?

आफू स्वयं मुस्लिम समुदायका ओजिलले सामाजिक सञ्जालको पोस्टमा उइगरहरूलाई "दमनविरुद्धका लडाकुहरू" भन्दै चीनको तथा त्यस विषयमा मौन बसेका मुस्लिमहरूको आलोचना गरेका थिए।

चीनले बारम्बार उइगर मुस्लिमहरूलाई दुर्व्यवहार नगरिएको भन्दै आएको छ।

आर्सनलको विज्ञप्तिमाथि हजारौँ टिप्पणी गरिएका छन्। कैयौँ टिप्पणीमा आर्सनल क्लबको आलोचना गर्दै उसको त्यो भनाइ अपर्याप्त भनिएको छ।

उइगर शिविर
तस्बिरको क्याप्शन, चीन सरकारले उइगर समुदायका मानिसहरूलाई पढाउन शिविर सञ्चालन गरिएको बताउने गरेको छ

अक्टोबर महिनामा अमेरिकाको राष्ट्रिय बास्केटबल सङ्घ (एनबीए)का एक कार्यकारी अधिकृतले गरेको टिप्पणीका कारण चीनसँग उसको सम्बन्ध बिग्रिएपछि उसले निकै आर्थिक घाटा बेहोर्नुपरेको थियो।

हङ्‌कङका प्रजातन्त्रवादी प्रदर्शनकारीहरूको समर्थनमा ह्यूस्टन रकेट क्लबका व्यवस्थापक ड्यारिल मोरेले ट्वीट गरेका थिए।

परिणामस्वरूप चिनियाँ कम्पनीहरूले प्रायोजन एवम् टेलिकास्ट सम्झौता स्थगित गरिदिएका थिए।