सभापति देउवाको कार्यकाल एक वर्ष थप हुने: कांग्रेस प्रवक्ता

देउवा

तस्बिर स्रोत, RSS

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनको कार्यकाल एक वर्ष बढाउन नदिने संस्थापन इतर खेमाको लामो समयदेखिको प्रयास अन्तत: खेर जाने देखिएको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बीबीसीसँग कुरा गर्दै केन्द्रीय समितिको म्याद एक वर्ष थप हुने बताउँदै त्यो सङ्केत दिएका हुन्।

देउवा र उनको नेतृत्वको केन्द्रीय समितिको चार वर्षीय कार्यकाल आउँदो फागुनमा पूरा हुँदै थियो।

तर 'असाधारण स्थिति भएका केन्द्रीय कार्यसमितिले सोको कारण खोलेर बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने' पार्टी विधानको प्रावधानको सभापति देउवाले सदुपयोग गर्ने देखिएको छ।

महाधिवेशन हैन अधिवेशन भएका छैनन्

औपचारिक रूपमा त्यो निर्णय कहिले हुन्छ भन्नेबारे प्रवक्ता शर्माले खुलाएनन्।

तर उनले भने, "यो त पूर्व निश्चितै छ। अर्को फागनुसम्मको एक वर्षको समयावधि थप हुन्छ। हामीले अघिल्लो बैठकमा महाधिवेशनका लागि कार्यतालिका बनाउँदा कार्तिक मसान्तसम्ममा अन्तरिम संरचना बनाउने निर्णय नै भएको छ।"

त्यो कामले अझैँ पूर्णता पाएको छैन। जबकी कांग्रेसको विधानमा 'महाधिवेशनभन्दा कम्तिमा एक वर्ष अगावै स्थानीय तहका सबै अधिवेशन र कार्यसमितिहरू गठन गरिने' उल्लेख छ। त्यसपछि मात्र हो- प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि चयन हुने।

ती सबै निर्वाचन प्रक्रियापछि मात्र महाधिवेशनको आधार तयार हुनेछ। तर अहिलेसम्म ती काम नै भएका छैनन्।

'असाधारण स्थिति' के पर्‍यो?

केन्द्रीय समितिको म्याद बढाउँदा समयमा महाधिवेशन गर्न बाधक बनेको 'असाधरणा स्थिति' खुलाउनु पर्ने विधानमा उल्लेख छ।

विधान

चार वर्षभित्र महाधिवेशन हुन नसक्दा पाँचौँ वर्षलाई उपयोग गर्ने विगतदेखिको अभ्यास र परम्परा भएको प्रवक्ता विश्वप्रकाश शर्माको तर्क छ।

उनले भने, "असाधारण भन्ने मुलुकको त्यस्तो परिस्थिति आयो भन्ने होइन्। तर यसबीचमा निर्वाचन वा अन्य प्रक्रिया सहित राष्ट्रिय राजनीतिका कतिपय कामहरूका कारणले गर्दा विभिन्न संरचना बनाउन ढिलाइ गर्‍यौँ।"

संविधानमा राजनीतिक दलहरूले बढीमा साढे पाँच वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने व्यवस्था छ।

एक वर्ष थपिएमा देउवाको कार्यकाल पाँच वर्षको हुनेछ। तर महाधिवेशन त्यो एक वर्षभित्रै गरिने प्रवक्ता शर्माले बताए।

उनले भने, "महाधिवेशन गर्न एक वर्षै लगाउनुपर्छ भन्ने छैन। तर स्थानीय तहको सबै अधिवेशन यही वर्षको फागुनसम्ममा गर्न सक्यौँ भने आउँदो वर्षको फागुनमा महाधिवेशन हुन्छ नै।"

प्रयास विफल

उनले २०७८ साल पुरै २०७९ सालमा हुने चुनावको तयारी लाग्न आवश्यक पर्ने बताउँदै त्यसभन्दा पछि महाधिवेशन नधेकेल्ने तर्क गरे।

पार्टीभित्रका सबै समूहले २०७७ सालभित्रै महाधिवेशन गर्ने मनस्थिति बनाइसकेको उनको भनाइ थियो।

विश्वप्रकाश शर्मा

तस्बिर स्रोत, .

तर संस्थापन इतर समूहले केन्द्रीय समितिको जारी बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न दबाब दिइरहेका छन्।

उनीहरूले देउवामाथि महाधिवेशन टार्न आलटाल गर्ने भन्दै यो वर्षको सुरुदेखि नै महाधिवेशनको कार्यतालिका माग गर्दै आएका थिए।

तर महाधिवेशनको आधार बनाउन बाँकी रहेको बताउने देउवा पक्षले तत्काल त्यो सम्भव नहुने तर्क गर्दै आएको छ।

त्यसबाट असन्तुष्टहरूले बिहीवारको केन्द्रीय समिति बैठक नै बहिष्कार गरेका छन्।

देउवाका विपक्षमा रहेका जिल्ला सभापतिहरूले त विशेष महाधिवेशन बोलाउन समेत दबाब दिएका थिए। त्यो प्रयास पनि विफल भएको थियो।

अडिओ क्याप्शन सुरु हुँदैछ, तीन कोइराला: पौडेललाई काँध थाप्लान कि आफै अघि बढ्ने?