लन्डन ब्रिज: आक्रमणकारी आतङ्कवादसम्बन्धी मुद्दामा जेल परेका थिए

तस्बिर स्रोत, @GeorgeBarden_
ब्रिटेनको राजधानीको केन्द्रमा अवस्थित लन्डन ब्रिजमा शुक्रवार चक्कु प्रहार गर्ने व्यक्ति आतङ्कवादसँग सम्बन्धित अपराधमा दोषी प्रमाणित भएर कारागार बसेको पुष्टि भएको छ।
शुक्रवारको घटनामा एक पुरुष र एक महिला गरी दुई जनाको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए।
प्रहरीले गोली प्रहार गर्दा ती सन्दिग्ध व्यक्तिको पनि मृत्यु भएको थियो।
प्रहरीले २८ वर्षीय ती आक्रमणकारीको नाम उस्मान खान भएको र उनी गत वर्ष कारागारबाट ससर्त बाहिर आएको बताएको छ।
लन्डन ब्रिजमा चक्कु प्रहार भइरहेको देखेपछि सर्वसाधारणहरूले उनलाई नियन्त्रणमा लिएका थिए। पछि प्रहरीले गोली चलाउँदा उनको मृत्यु भयो।
प्रहरीले लन्डन ब्रिजमा 'आतङ्कवादी घटना' भएको बताएको छ।
प्रहरीका अनुसार खान सन् २०१२ मा आतङ्कवादीसम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए।
मेट पुलिसका आयुक्त नील बसुले प्रकाशित गरेको विज्ञप्तिमा खान गत वर्ष डिसेम्बरमा कारागारबाट सर्तसहित बाहिर आएको र अहिले उनले किन यस्तो आक्रमण गरे भन्नेबारे छानबिन गरिने उल्लेख छ।

तस्बिर स्रोत, West Midlands Police
द टाइम्स पत्रिकाका अनुसार सधैँ एउटा विद्युतीय उपकरण लाउने र आफ्ना गतिविधि निगरानीमा राख्ने सहमत भएपछि उनी गत वर्ष मुक्त भएका थिए।
खानको स्याफोर्डशरस्थित निवासमा प्रहरीले खानतलासी गरेको छ।
प्रहरीले अहिले अनुसन्धान प्रारम्भिक चरणमा भएको र उक्त आक्रमणमा अरू पनि कोही संलग्न थिए कि भनेर खोजी भइरहेको जनाएको छ।
आक्रमण दिउँसो १:५८ बजे लन्डन ब्रिजको उत्तरी भागमा भएको थियो। नजिकै एउटा भवनमा केम्ब्रिज यूनिभर्सिटीले कैदीहरूको पुनर्वासको विषयमा एउटा कार्यक्रम आयोजना गरिरहेको थियो।

तस्बिर स्रोत, AFP/Getty Images

तस्बिर स्रोत, Alexandra Carr
ती सन्दिग्ध व्यक्ति पनि उक्त कार्यक्रममा सहभागी थिए।
प्रहरी आयुक्त बसुका अनुसार कार्यक्रम भइरहेको भवनमा नै निजले आक्रमण गर्न थालेको थिए। लन्डन ब्रिजमा पुगेपछि उनलाई अरूले रोक्न खोजे र पछि प्रहरीले गोली प्रहार गर्यो।
अरू मृतक को हुन्?
प्रहरीले ती सन्दिग्धले आक्रमण गर्दा एक पुरुष र एक महिलाको मृत्यु भएको पुष्टि गरेका छन्।

तस्बिर स्रोत, PA Media
घाइते हुने तीन जनामा एक पुरुष र दुई महिला छन्। उनीहरूलाई अस्पताल लगिएको थियो।
शनिवारसम्म पीडितहरूको परिचय खुलेको छैन।
घाइतेमध्ये एक जनाको स्थिति गम्भीर तर स्थिर भएको स्वास्थ्यसेवा एनएचएसका प्रमुखले शुक्रवार बताएका थिए।
अरू दुई जनामध्ये एक जना स्थिर अवस्थामा भएका र अर्का व्यक्तिलाई सामान्य पटक लागेको बताइएको छ।








