प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद्मा हेरफेर, को को बने नयाँ मन्त्री

तस्बिर स्रोत, RSS
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन्।
ओलीको सिफारिसमा केही मन्त्रीहरूलाई हटाइएको छ भने केही नयाँ मन्त्रीलाई मन्त्रिपरिषद्मा संलग्न गराइएको छन्। केही मन्त्रीको जिम्मेवारी परिवर्तन भएको छ।
केही दिनदेखि मन्त्रिपरिषद् पुनर्गठन हुने चर्चा चलिरहेको थियो।
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा प्रधानमन्त्रीलाई नै दिइएको जनाएको थियो।
कोको बने मन्त्री?
राष्ट्रपतिको कार्यालयले बुधवार अबेर जारी गरेको वक्तव्यअनुसार थपिएका मन्त्रीहरूमा हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ रहेका छन्।
त्रिपाठीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यस्तै भुसाल कृषि तथा पशुपन्छी विकास, भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात र गुरुङ, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेका छन्।
त्यसैगरी तीन जनालाई नयाँ राज्यमन्त्री नियक्त भएका छ।
राज्यमन्त्रीहरूमा मोतीलाल दुगडले उद्योग वाणिज्य तथा आपूर्ति, नवराज रावतले स्वास्थ्य तथा जनसङ्ख्या र रामवीर मानन्धरले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।
उपप्रधान र स्वास्थ तथा जनसङ्ख्यामन्त्री रहेका उपेन्द्र यादवलाई कानुन, न्याय तथा संसदीय व्यवस्था मान्त्रालय र कानुन, न्याय तथा संसदीय मन्त्री रहेका भानुभक्त ढकाललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेदारी दिइएको छ।
राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा "नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्य विभाजन गरिएको" उल्लेख छ।
को बाहिरिए?
केही मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरी पुरानालाई हटाइएको छ।
यसरी हटाइएका मन्त्रीहरूमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ छन्।
त्यस्तै कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, उद्योग वाणिज्य तथा अपूर्तिमन्त्री मात्रिका यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापालाई पनि मन्त्रिपरिषद्बाट बाहिरिएका छन्।
राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा मन्त्रीहरूको सूचीमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, कृषि राज्यमन्त्री रामकुमारी चौधरी र स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवको नाम पनि छैन।








