प्रचण्ड-ओली सम्बन्ध: प्रचण्डले सुनाए पूर्वमाओवादी नेतालाई प्रधानमन्त्री ओलीसँग भएको ‘नयाँ समझदारी’को विवरण

ओली-प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्षस्थ दुई नेताबीच मतभेद चुलिएको चर्चा चुलिएका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको कुराकानी सकारात्मक भएको खबर आफू निकट नेताहरूलाई सुनाएका छन्।

त्यस्तो सन्देश पाएका एक नेता हुन् देवेन्द्र पौडेल। उनी प्रचण्डलाई भेट्न उनको निवास पुगेका थिए।

उनले बीबीसीसँग कुरा गर्दै भने, "दुई अध्यक्षबीच मिलेर जाने, सहमतिका आधारमा काम गर्ने, आफूहरूले हिजो गरेका सहमतिका विषयलाई आधार मानेर अघि बढ्ने कुरामा पुन: समझदारी भएको छ।"

पार्टी एकताका क्रममा दुई नेताबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको दाबी प्रचण्डले गरेका थिए।

'जबज' तरङ्ग

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आ-आफ्ना कतिपय राजनीतिक विचार र मान्यतालाई छलफलमा लग्नेगरी तत्कालका निम्ति एकीकृत दलको राजनीतिक प्रतिवेदनमा 'जनताको जनवाद' राख्ने सहमति भएको सार्वजनिक भएको थियो।

अध्यक्षद्वयलाई अन्तिम रूप दिने जिम्मेवारी दिइएको तयार भइसकेको राजनीतिक प्रतिवेदनमा पूर्व सहमतिअनुसार 'जनताको जनवाद' उल्लेख छ।

तर पछिल्ला दिनमा प्रतिवेदनमा 'जनताको बहुदलीय जनवाद' (जबज) राख्नु पर्ने आशय प्रधानमन्त्री ओलीले व्यक्त गरेको बताइएको थियो।

नेकपा

तस्बिर स्रोत, Rss

त्यसले पार्टीभित्र ठूलै तरङ्ग उत्पन्न गरिदिएको देखिन्छ।

तर नेता पौडेल जनताको जनवाद राख्नेमा ओली तयार भएको बताउँदै भन्छन्, "दुई दलबीच भएको सहमतिकै आधारमा जाने कुरा भएको छ। बाँकी रहेका एकीकरणका कुरा टुङ्ग्याउने समझदारी बनेको छ।"

प्रचण्डका पारिवारिक सदस्य तथा अर्का नेता नारायण दाहालले पनि जनताको जनवादलाई यथावत राखेर अघि बढ्नेमा प्रधानमन्त्री तयार भएको जानकारी दिए।

आलोपालोमा प्रचण्ड दृढ

ओली र प्रचण्डबीचको लिखित सहमतिमा 'समानता र समान अवधिका आधारमा आवश्यकता अनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने' उल्लेख छ।

एउटा अन्तर्वार्ताका क्रममा प्रचण्डले त्यसबारेको प्रसङ्गमा भनेका थिए, "म के विश्वास गर्छु भने केपी ओलीले समय आएपछि सत्ता हस्तान्तरण गर्न अप्ठेरो मान्नुहुन्न। मैले लिन नि अप्ठ्यारो मान्दिनँ।"

प्रचण्ड

तस्बिर स्रोत, Prachanda/facebook

तर उनले त्यो अडान छाड्न विकल्पको रूपमा 'आफ्नो भूमिका परिभाषित हुनुपर्ने' खाँचो औंल्याएका थिए। प्रचण्डको भनाइ थियो, "…हामीले सहमति गरेको हुनाले प्रधानमन्त्री फेरिनुपर्छ भन्नेमा म छैन। तर म पनि एउटा नेताको हैसियतले मेरो जिम्मेवारी पनि राम्रोसँग परिभाषित त हुनुपर्छ।"

नेता देवेन्द्र पौडेलका भनाइमा प्रचण्ड त्यसबारे अडिग रहेको बुझिन्छ। उनले 'सबैले प्रभावकारी भूमिका निर्वाह गर्ने गरी कार्यविभाजन हुनुपर्ने' पक्षमा प्रचण्ड छन्।

दुई अध्यक्षबीचको कुराकानीबारे प्रचण्डले दिएको जानकारी सुनाउँदै नेता पौडेल भन्छन्, "जे सहमति भएको त्यसमा जानुपर्छ। अहिले त्यो समय भएको छैन। अहिले केपी ओली नै प्रधानमन्त्री हुनुहुन्छ। तर दुई पार्टीबीच एकता हुँदा वैचारिक, सङ्गठनात्मक र सरकारको साझेदारीबारे जे सहमति भएको छ त्यसैअनुसार अगाडि बढ्नुपर्छ भन्ने कुरा भएको छ।"

मन्त्रहेरफेर

दुवै अध्यक्षबीच मन्त्रीहरू हेरफेर गर्नेबारे पनि कुराकानी भएका खबरहरू आएका छन्।

नेता पौडेलले मन्त्री हेरफेरबारे कुरा चलेको बताए। तर त्यसबारे अध्यक्षहरू निष्कर्षमा नपुगेको उनले जानकारी दिए।

'मन्त्रिपरिषद् पूनर्गठन गर्ने वा यसैलाई प्रभावकारी बनाएर जाने गरी सरकारलाई गति दिने कुरा दुवै अध्यक्षबीच भएको' नेता पौडेलको भनाइ छ।

उनका बिचारमा संसद्‍बाट बजेट पारित भएपछि त्यो प्रसङ्गमा विस्तृत कुराकानी हुने छ।