नेपाल-बाङ्ग्लादेश: यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर हुनुका कारण

- Author, उमाकान्त खनाल
- Role, बीबीसी न्यूज नेपाली, झापा
बाङ्ग्लादेशसँगको नेपालको व्यापार सुरु भएको २० वर्ष भन्दा बढी समय भएपनि अहिलेसम्म व्यापार समान हुन नसकेको व्यवसायी एवं वाणिज्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुले बताएका छन्।
नजिकको तेस्रो मुलुक बाङ्ग्लादेशले नेपाली बस्तुमा लिने अधिक भन्सार महसूल र सवारी साधनको अव्यवस्थित आवागमन दुई देशबीचको समान व्यापारिक सम्बन्धका बाधक मानिने गरेको छ।
ती समस्यालाई हल गरेमात्र नेपाली वस्तुको बाङ्ग्लादेश निर्यातमा बृद्धि हुने उनीहरुको भनाइ छ।
पहिला निर्यातमुखी, अहिले आयातमुखी
व्यवसायीहरू नेपाल-बाङ्ग्लादेशबीचको व्यापारमा असन्तुलन बढ्दो रहेको भन्दै चिन्ता व्यक्त गर्छन्।
सिधा व्यापार सम्झौता भएको सुरुका केही वर्ष नेपालले बाङ्ग्लादेशतर्फ निर्यातहरू धेरै गर्नेगर्थ्यो।

तस्बिर स्रोत, RSS
"अहिले बाङ्ग्लादेशमा नेपाली वस्तुमा भन्सार तथा अन्य शूल्क अत्याधिक लिइने गरिएका कारण निर्यात क्षमता बढ्न सकेको छैन," नेपाल बाङ्ग्लादेश चेम्बर अफ ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैनले भने।
"बाङ्ग्लादेशले लिने भन्सार शूल्क घटाउने वा मिनाहा गर्ने कुरा चलेको दस वर्षभन्दा बढी भइसक्यो। बाङ्ग्लादेशले कुचोमा समेत ५७ प्रतिशत भन्सार शूल्क लिने गरेको छ।"
नेपालबाट बाङ्ग्लादेश निर्यात हुने वस्तुमा मुसुरोको दाल, चिराइतो, डाबर नेपालका उत्पादन, कुचो, रिठ्ठो आदि पर्छन्।
'कृषिजन्य बस्तु निर्यात हुनसक्छ'
बाङ्ग्लादेशसँगको व्यापारमा देखिएका समस्या सल्टिँदै गए नेपालमा उत्पादित कृषिजन्य वस्तुका निकासी सहज हुने वाणिज्य क्षेत्रका विज्ञहरुको भनाइ छ।
बङ्ग्लादेशसँगको थुप्रै व्यापार बैठकहरुमा सहभागि भएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व सहसचिव रविशंकर सैंजुका भनाइमा फूलबारीमा नेपालबाट गएका सवारी साधनबाट सामान अर्को सवारी साधनमा स्थानान्तरण गर्नुपर्ने समस्या समेत मुख्य हो।
शुल्क तथा सवारी साधनको अव्यवस्थालाई व्यवस्थित बनाउन सके नेपालबाट ताजा तरकारी लगायतका कृषि वस्तु तथा धागो बाङ्ग्लादेश पठाउन सकिने उनी बताउँछन्।
"हाम्रोबाट इस्कुस, फर्सीजस्ता कृषि उत्पादनहरु पनि निर्यात हुनसक्ने सम्भावना धेरै छ। तर पहिले यी समस्या समाधान गर्नुपर्छ।"
सहुलियतपूर्ण व्यापार सम्झौता
बाङ्ग्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमणमा यस्ता विषयमा छलफल हुने कार्यसूचि नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरू बताउँछन्।
निकट भविष्यमा बाङ्ग्लादेशसँग सहुलियतपूर्ण व्यापार सम्झौता गर्ने गृहकार्यमा सरकार भने यसअघि देखि नै लागेको मन्त्रालयका सचिव वैकुन्ठ अर्यालले बताए।

उनले भने: "सबै कुरा एउटै बैठकमा समाधान हुने होइन। हामीले यिनै समस्या समाधानका लागि बाङ्ग्लादेशसँग यसअघि सहसचिव स्तरीय बैठक गरेका छौं।"
सहुलियतपूर्ण व्यापार सम्झौताका लागि वस्तुको छनोट गर्न दुई देशका अर्थ मन्त्रालयबीच समन्वय गरेर भन्सार महसुल पुनर्विचार गर्न गृहकार्यमा लागेको सचिव अर्यालले बताए।
नेपालले पनि चालु आर्थिक बर्षको सुरुवातदेखि बाङ्ग्लादेशबाट नेपाल आयात हुने बस्तुमा ५० प्रतिशतसम्म भन्सार शूल्क बृद्धि गरेकाले बाङ्ग्लादेशबाट तयारी खानेकुराको आयात करिब शून्यमा झरेको छ।








