बांग्लादेश-नेपाल व्यापार: महँगो भन्सार दरले घाटा चुलिदैँ

- Author, उमाकान्त खनाल
- Role, बीबीसी नेपाली सेवा
दक्षिण एशियाली छिमेकी बांग्लादेशसँग १६ वर्ष अगाडी सीधा व्यापार शुरू हुँदा नेपाल नाफामा थियो तर अहिले नेपालले घाटा बेहोर्दै आएको छ जुन चुलिने क्रममा छ।
शुरूका केही वर्षमा नेपालले बांग्लादेशसँगको व्यापारमा नाफा कमाउँदै आएको थियो।
त्यसपछि केही वर्ष उक्त व्यापार सन्तुलनमा रह्यो।
तर आर्थिक वर्ष २०७१/७२ देखि बांग्लादेशसँगको व्यापारमा नेपालले घाटा बेहोर्दै आएको छ।
निर्यात घट्यो
नेपालले बांग्लादेशसँग आर्थिक वर्ष २०५४/०५५ देखि सीधा व्यापार सुरु गरेको थियो। पूर्वी नाका काँकरभिट्टाबाट भारत पश्चिम बंगालको फुलबारी नाका हुँदै गरिने नेपालसँगको व्यापारमा बांग्लादेशले हाल आएर निर्यातजन्य वस्तु वृद्धि गरेको छ।
नेपालले निर्यात गर्ने वस्तुको मात्रा तथा प्रकार भने बर्सेनि घट्दो क्रममा छ।
बांग्लादेशबाट आर्थिक वर्ष ०७४/७५ मा ४ अर्ब ३७ करोड रुपैयाँको सामान नेपाल आयात भएकोमा १ अर्ब ९ करोड रुपैयाँको वस्तु मात्र बांग्लादेशतर्फ नेपालले निर्यात गर्न सकेको थियो।
चालु आर्थिक वर्षको कात्तिक महिनासम्मको बांग्लादेशसँगको व्यापारको तथ्यांकमा नेपालले करिब ७० करोड रुपैयाँ बराबरको घाटा बेहोरिसकेको छ।
नेपालबाट बांग्लादेश निकासी हुने वस्तुमा मुसुरोको दाल, चिराइतो, डाबर नेपालका उत्पादन, र रिठ्ठो पर्छन्।
तर ती वस्तुहरूको बांग्लादेश निर्यात पनि घट्ने क्रममा रहेको नेपाली व्यवसायीहरू बताउँछन्।

महँगो भन्सार
नेपालबाट निर्यात हुने वस्तुमा बांग्लादेशले १ सय १० प्रतिशतसम्म भन्सार महसुल लिने गरेको नेपाल बांग्लादेश वाणिज्य संघका पूर्व अध्यक्ष पन्नालाल जैन बताउँछन्।
उनका अनुसार बांग्लादेशबाट आयात हुने वस्तुमा ज्यादै न्यून भन्सार महसुल दर छ।
जैनले भने, "नेपालबाट निर्यात हुने सामानमा बांग्लादेशले लगाएको अत्यधिक भन्सार दर घटाउने हो भने हामी फेरि नाफामा जाने सम्भावना छ।"
भन्सार महसुलमा कटौती भए बांग्लादेशमा उच्च माग रहेका तरकारीजन्य वस्तु, फलफूल र अन्य कृषि उत्पादनको आपूर्ति नेपालबाट गर्न सकिने व्यवसायी बताउँछन्।
अदुवा, अलैंची, अम्लिसो तथा जडीबुटी निर्यातको सम्भावना उच्च भए पनि अत्यधिक भन्सार महसुलकै कारण बांग्लादेश निर्यात गर्न नसकिएको व्यवसायीहरूको भनाइ छ।
बांग्लादेशले निर्यातकर्तालाई १० देखि ३० प्रतिशत अनुदान दिने गरेको तर नेपालमा त्यो प्रावधान नभएकाले सामान निर्यातका लागि प्रोत्साहन नमिलेको उनीहरू बताउँछन्।
नेपाली सामान महँगोः बांग्लादेशकी राजदूत
नेपाली वस्तुका लागि मात्र भनेर भन्सार महसुल नलगाइएको नेपालका लागि बांग्लादेशकी राजदूत मासफी विन्टे साम्सले बताइन्।

बांग्लादेश आयात गरिने सामानका उत्पादक विश्व व्यापार संगठनमा आबद्ध मुलुकहरूका लागि एउटै भन्सार महसुल दर राखिएको उनले बताइन्।
उनले भनिन्, "नेपाल र बांग्लादेश विश्व व्यापार संगठनमा आबद्ध छन्। सबैलाई एउटै महसुल दर छ।"
"तर नेपालबाट बांग्लादेश निर्यात हुने केही वस्तुलाई प्राथमिकता दिनुपर्छ भनेर हामीले ती वस्तुको सूची नेपाल सरकारलाई दिएका छौँ। त्यसबारे छिट्टै निर्णय होला।"
भुटानका वस्तुमा भने भन्सार महसुल दर कम लगाइएको राजदूत साम्सले बताइन्।
उनले भनिन्, "भुटान विश्व व्यापार संगठनको सदस्य नभएकाले उसलाई प्राथमिकता दिएका हौँ।"
नेपालका सामान भन्दा अन्य मुलुकबाट आयात गरिएको सामान बांग्लादेशमा सस्तो पर्न गएकाले बांग्लादेशका सामान आयातकर्ताहरूले नेपाली सामान आयात गर्न चासो नदेखाएको उनले बताइन्।








