माछा मार्ने डुङ्गामा '१६ जनाको हत्या' गरेर दक्षिण कोरिया भागे दुई उत्तर कोरियाली माझी

समुद्रमा माछा मार्न प्रयोग हुने उत्तर कोरियाली डुङ्गाको फाइल तस्बिर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, समुद्रमा माछा मार्न प्रयोग हुने उत्तर कोरियाली डुङ्गाको फाइल तस्बिर

माछा मार्ने डुङ्गामा आफ्ना १६ जना सहकर्मीको हत्या गरेको आशङ्का गरिएका दुई उत्तर कोरियाली माझीलाई दक्षिण कोरियाले उत्तरका अधिकारीहरूलाई जिम्मा लगाएको छ।

उत्तरबाट दक्षिण कोरियाको सामुद्रिक सीमामा शनिवार प्रवेश गरेपछि उनीहरूलाई दक्षिण कोरियाले नियन्त्रणमा लिएको थियो।

उत्तरबाट भागेर आफ्नो देशमा आएका मानिसहरूलाई प्राय: दक्षिण कोरियाले शरण दिने गरेको छ।

तर ती दुई पुरुषबाट आफ्नो राष्ट्रिय सुरक्षामा खतरा पर्न सक्ने भन्दै यो घटनामा उसले त्यसो गरेन।

उनीहरूलाई शरण खोज्न आएका व्यक्तिका रूपमा भन्दा पनि अपराधी मानियो र तदनुरूप व्यवहार गरियो।

माछा मार्न प्रयोग हुने डुङ्गामा चढेर सीमा पार गरेको दुई दिनपछि उनीहरू पक्राउ परेका थिए।

समाचारसंस्था योन्हापका अनुसार अर्का एकजना व्यक्तिसँग मिलेर उनीहरूले डुङ्गाका प्रमुख चालकलाई अक्टोबर महिनामा मारेको स्वीकार गरेका छन्। आफूसँग नराम्रो व्यवहार गरिएको भनाइ उनीहरूको रहेको दक्षिणका अधिकारीहरूले जनाएका छन्।

चालकको हत्याको विरोध गर्ने अन्य १५ कर्मचारीलाई पनि उनीहरूले मारिदिएका थिए।

उनीहरूले सबै शवलाई समुद्रमा फालिदिएका थिए।

पहिला तीनै जना उत्तर कोरिया फर्किए। तर एक जनालाई प्रहरीले बन्दरगाहमा समातेपछि ती दुई जना डुङ्गामै दक्षिणतिर भागे।

दुई जनालाई दुई देशबीच रहेको पाम्मुन्जमको असैनिकीकृत क्षेत्रमा हस्तान्तरण गरिएको थियो

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, दुई जनालाई दुई देशबीच रहेको पाम्मुन्जमको असैनिकीकृत क्षेत्रमा हस्तान्तरण गरिएको थियो

आफूले उनीहरू भागेर दक्षिण आउनुको कारणमा विश्वास गर्न नसकेको र ती "अपराधी" लाई बस्ने अनुमति नदिएको दक्षिण कोरियाको एकता मन्त्रालयले जनाएको छ।

ती सन्दिग्धहरू २० वर्षको छेकोमा रहेका छन्।

पहिलो चोटि फिर्ता

उनीहरूलाई सीमावर्ती पाम्मुन्जम गाउँनजिकै दुई देशबीच रहेको असैनिकीकृत क्षेत्रमा हस्तान्तरण गरिएको थियो।

दुई देशबीच सुपुर्दगीसम्बन्धी कुनै सहमति भएको छैन।

दक्षिणले पाम्मुन्जमबाट पहिलो चोटि उत्तर कोरियाली नागरिकलाई फिर्ता पठाएको हो।

उत्तरमा कठोर तानाशाही कम्युनिस्ट शासन भएकाले उत्तर कोरियाबाट मानिसहरू दक्षिणतिर भागेर जाने गरेका छन्। केही उत्तर कोरियाली सैनिकहरू पनि त्यसरी भाग्ने गर्छन्।

त्यसो गर्दा उनीहरूले आफ्नो ज्यानको बाजी राख्नुपर्छ।

यस्तो छ तथ्याङ्क

सोलका अनुसार सन् १९५३ मा कोरियाली युद्ध सकिएयता ३० हजारभन्दा बढी उत्तर कोरियालीहरू गैरकानुनी रूपमा दक्षिण कोरिया आएका छन्।

दक्षिण कोरियाली तथ्याङ्कअनुसार पछिल्ला वर्षमा चाहिँ उत्तर कोरियाली भगौडाहरूको सङ्ख्यामा केही कमी आएको छ।

सीमामा दुवै देशका हजारौँ सैनिक खटेका छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सीमामा दुवै देशका हजारौँ सैनिक खटिएका छन्

सन् २०११ मा २,७०६ जना भागेर आएकोमा सन् २०१७ मा यो सङ्ख्या घटेर १,१२७ रहेको थियो।

केही घटनामा त गोलीको समेत परवाह नगरी सैनिकहरू हिँडेरै सीमा कटेका छन्।

अधिकांश भगौडा चीन भएर दक्षिण कोरिया पुग्छन्। उत्तर कोरियासँग चीनको लामो सीमा जोडिएको छ।

कडा सुरक्षा भएको दुई कोरियाबीचको असैनिकीकृत क्षेत्रबाट भाग्नुभन्दा त्यसरी जानु सहज मानिन्छ।

चीनले भगौडाहरूलाई गैरकानुनी आप्रवासीको रूपमा लिइन्छ र प्राय: उनीहरूकै देश फर्काइदिन्छ।