अबु बकर अल-बग्दादी: ‘आईएस प्रमुखविरुद्ध अमेरिकी कारबाही’

तस्बिर स्रोत, Reuters
अमेरिकी सेनाले इस्लामिक स्टेटका नेताविरुद्ध कारबाही गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
तर अबु बकर अल-बग्दादीविरुद्धको कारबाहीका समाचार पुष्टि भइसकेका छैनन्।
ह्वाइट हाउसले भनेको छ- राष्ट्रपति डोनल्ड ट्रम्पले आइतवार 'महत्त्वपूर्ण घोषणा' गर्नेछन्। तर त्यसको विस्तृत विवरण दिइएको छैन।
के भने ट्रम्पले?
यसअघि ट्रम्पले एउटा अस्पष्ट ट्वीट गर्दै 'हालै केही ठूलो घटना भएको' भनेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
पहिचान नखुलाइएका अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले शनिवार सिरियाको उत्तर-पश्चिमी क्षेत्रमा अमेरिकी फौजले आईएसका नेतालाई निशानामा पारेको उल्लेख गरेका छन्।
ठोस जासुसी सूचना प्राप्त गरेपछि अमेरिकी विशेष फौजले कारबाही गरेको न्यूजवीकले जनाएको छ। उसले सो कारबाहीबारे जानकार सूत्रहरूको हवाला दिएर विवरण दिएको छ।
एकजना अमेरिकी अधिकारीले रोयटर्स समाचार संस्थालाई कारबाही भएको तर बग्दादी मारिएको वा नमारिएको पुष्टि गर्न नसकिने बताए।

विगतमा पनि बग्दादी मारिएका भनेर गलत समाचार आएका थिए।
ह्वाइट हाउसले कारबाही भएको वा त्यसको परिणामबारे केही बताएको छैन।
को हुन् अबु बकर अल-बग्दादी?
आईएसका नेता बग्दादी विश्वका सबैभन्दा खोजी गरिएका व्यक्ति ठानिन्छन्।

तस्बिर स्रोत, AFP
सन् २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारीक रूपमा आतङ्ककारी तोक्दै उनको पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा एक करोड डलरको पुरस्कार घोषणा गरेको थियो।
बग्दादी एक अत्यन्तै व्यवस्थित र क्रूर विद्रोही योद्धाको रूपमा कुख्यात छन्।
सन् १९७१ मा बग्दादको उत्तरस्थित समरामा उनको जन्म भएको थियो।
विवरणहरूका अनुसार अमेरिकाले सन् २००३ मा इराकमा अतिक्रमण गर्दा ताका बग्दादी त्यहीको एक मस्जिदमा धर्मगुरु थिए।

कतिपयका अनुसार सद्दाम हुसैनको शासनताका नै बग्दादी विद्रोही जिहादी भइसकेका थिए।
अरूका भनाइमा चाहिँ दक्षिण इराकस्थित अमेरिकी शिविर क्याम्प बुक्कामा चार वर्ष बन्दी बनाइएपछि बग्दादी कट्टरपन्थी भएर निस्किए।
सो शिविरमा कैयौँ अल कायदा कमाण्डरहरूलाई राखिएको थियो।
सन् २०१० मा बग्दादी इराकमा अल कायदाको नेताको रूपमा उदाए।
आइएसमा पछि सो समूह समाहित भएको थियो। सिरियाको अल नुसरा गुटसँग जोडिने प्रयास भइरहेका बेला बग्दादी सङ्गठनको उच्च नेतृत्वमा उदाए।
यसै वर्षको शुरूमा आईएसले बग्दादी भनेर चिनाउँदै एउटा भिडिओ सार्वजनिक गरेको थियो।
त्योभन्दा अगाडि सन् २०१४ देखि नै बग्दादीलाई यसरी सार्वजनिक देखिएको थिएन।
त्यतिखेर बग्दादीले मोसुलमा बोल्दै सिरिया र इराकका भूभाग समेटेर केलिफेट निर्माणको घोषणा गरेका थिए।








