आइएस नेता बगदादी 'मारिएका हुन सक्छन्'

बगदादी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अबु बकर अल बगदादी सन २०१४ मा धार्मिक उपदेश दिँदै गरेको देखिएका थिए

रुसी सेनाले गत महिना सिरियामा गरिएको हवाइ कारवाहीमा इश्लामिक स्टेटका बरिष्ठ नेताहरु सहित थुप्रै लडाकुहरु मारिएको बताएको छ।

उत्तरी सिरिया स्थित रक्का शहरमा भएको बृहत भेलालाई लक्ष गरेर हवाइ कारवाही गरिएको थियो।

रुसी रक्षा मन्त्रालयको विज्ञप्तीमा जनाइए अनुसार तीन सय भन्दा बढि लडाकुहरु मारिएका थिए।

मारिएका मध्ये अबु बकर अल बगदादी पनि परेको भन्ने तथ्य परिक्षण भइरहेको रुसी सेनाले बताएको छ।

अपुष्ट

आइएस विरुद्धको लडाइमा संलग्न अमेरिकी नेतृत्वको गठबन्धनले उक्त कुरा पुष्टि भइनसकेको बताएको छ।

यस अघि पनि बगदादी मारिएका खबर आएको थियो।

तर समाचार एजेन्सी रोयटर्सले बगदादी मोसुल या रक्कामा रहेको भन्दा पनि हजारौं माइल क्षेत्रफलको मरभूमिमा बसिरहेको विश्वास गरिएको समाचार प्रकाशित गरेको छ।