इराक र सिरियामा आइएस सखाप भएको घोषणा छिट्टै हुनेछ: डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Getty Images
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इस्लामिक स्टेट आइएसले कब्जा गरेका सिरिया र इराकका सबै भूभाग फिर्ता भएको घोषणा गर्ने दिन नजिक आइरहेको बताएका छन्।
ट्रम्पको भनाइमा केही दिन पछि नै आइएस नियन्त्रित भूभाग शत प्रतिशत अमेरिकी गठबन्धन सेनाको नियन्त्रणमा आएको घोषणा गर्न सकिन्छ।
ट्रम्पले दुई महिनाअघि आफ्नो सेनाले सिरियाका जिहादीहरूलाई पराजित गरेको घोषणा गर्दै भनेका थिए अब अमेरिकी सेना त्यहाँबाट फिर्ता हुने समय आएको छ।
अहिले आइएसले कब्जामा लिएका थोरै भूभागमात्रै फिर्ता हुन बाँकी रहेको ट्रम्पले बताएका हुन्।
'औपचारिक जानकारीको प्रतीक्षा'
वासिङ्टनमा अमेरिकी नेतृत्वको गठबन्धन सदस्यरूको बैठकमा उनले अर्को सातासम्ममा आइएस पूरै पराजित भएको घोषणा गर्न सकिने सम्भावना रहेको बताए।
उनले भने, "सम्भवत: अर्को सातासम्म क्यालिफेट भनिने आइएस नियन्त्रित भूभाग शत प्रतिशत फिर्ता भएको घोषणा गर्न सक्ने छु। म खाली औपचारिक जानकारीको मात्र प्रतीक्षा गर्दैछु।"
उनका अनुसार अमेरिकी नेतृत्वको सेनाले रका र मोसुलसहित २ सय वर्ग माइल जति भूभाग फिर्ता लिइसकेको छ।

तस्बिर स्रोत, AFP
सन् २०१४ देखि अमेरिकी नेतृत्वको गठबन्धन सेना आइएसविरुद्ध लडिरहेको छ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले हालै ती भूभागलाई पूरै फिर्ता लिनको लागि रकमको अभाव भएको बताएका थिए।
उनले आइएस विद्रोही बनेका विदेशी लडाकूहरूलाई उनीहरूकै देश फिर्ता गरिनु पर्ने र त्यहाँका अदालतहरूमा उनीहरूविरुद्ध मुद्दा चलाइनु पर्ने बताएका थिए।
कैयौँ आइएस लडाकुहरूलाई कुर्द लडाकू फौजले आफ्नो नियन्त्रणमा लिइसकेका छन्।
के आइएस पराजित भएकै हो?
आइएसले कुनै बेला आफ्नो पकडमा लिएको इराकको मोसुल र सिरियाको रक्काबाट उसको नियन्त्रण गुमाइसकेको देखिएको छ।
तर उत्तर पूर्वी सिरियामा लडाइँ जारी छ। त्यहाँ कुर्द नेतृत्वको सिरियाली प्रजातान्त्रिक फौजले हालैका दिनहरूमा कयौँ विदेशी लडाकूलाई पक्रिएका छन्।
मंगलवार अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख जनरल जोसेफ भोटेलले सिरिया-इराक सीमा क्षेत्रको २० वर्ग माइल क्षेत्रमा अझै पनि १५०० आइएस लडाकूहरू रहेको बताएका थिए।








