कुर्दहरूलाई लक्ष्य गर्दै उत्तरी सिरियामा सैन्य आक्रमण रोक्न दबाव दिँदै टर्कीमाथि अमेरिकी प्रतिबन्ध
उत्तरी सिरियामा कुर्दहरूमाथि सैन्य आक्रमण गरेपछि अमेरिकाले त्यसको सशक्त विरोध गरेको छ।
अमेरिकाले टर्कीका दुईवटा मन्त्रालय र तीन वरिष्ठ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको छ।
अमेरिकाले स्टीलमा कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्ताहरू समेत रोकेको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीका राष्ट्र्पति रेजेप ताइयिप एर्दोआनलाई फोन गरेर तत्काल युद्धविराम गर्न भनेको उपराष्ट्रपति माइक पेन्सले बताएका छन्।
पेन्सले आफू उक्त क्षेत्रमा यथासम्भव चाँडो जाने बताएका छन्।
ह्वाइट हाउसमा बोल्दै पेन्सले भने, "जबसम्म टर्कीले युद्धविराम गर्दैन र यो विषयलाई समाधान गर्न दीर्घकालीन उपायबारे छलफल गर्न सहमत हुँदैन तबसम्म आज घोषणा भएका प्रतिबन्धहरू अझ कडा हुँदै जानेछन्।"
सङ्घर्षको जोखिम
पूर्वोत्तर सिरियामा सिरियाली सेना गएको छ। टर्कीको सेना र सिरियाली सेनाबीच सङ्घर्ष हुन सक्ने देखिएको छ।
सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएअनुसार सिरियाली सेनाले मेन्बिज सहरमा प्रवेश गरिसकेको छ।

टर्कीले त्यहाँबाट कुर्द लडाकुहरूलाई धपाएर आफ्नो "सुरक्षित क्षेत्र" निर्माण गर्न खोजेको छ।
सिरियाली सैनिकहरू तल तमेर र ऐेन इस्सामा आइपुग्दा खुसी हुँदै त्यहाँका मानिसहरूले उनीहरूको स्वागत गरेका थिए।
सिरिया र टर्कीका सेनाहरूको उपस्थिति भएका स्थानमा सङ्घर्ष हुने जोखिम देखिएको छ।
टर्कीका राष्ट्रपति एर्दोआनले जस्तोसुकै परिणाम आए पनि आफूहरू लक्ष्य पूरा नभएसम्म पछि नहट्ने बताएका छन्।
एकजुट
यसअघि सिरियाको उत्तरी सीमामा टर्कीले गरेको आक्रमणको प्रतिकार गर्न बशर अल-असदको सरकार सेना परिचालन गर्न सहमत भएको सिरियाली कुर्दहरूले बताएका थिए।

तस्बिर स्रोत, AFP
उनीहरूबीच भएको सहमतिलाई सिरियाका राष्ट्रपतिको आत्मबल बढाउने अवसरको रूपमा हेरिएको छ।
त्यहाँ सन् २०१२ यता पहिलोपटक सरकारी सेना फर्किएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा विवादास्पद कदमका रूपमा उत्तरी सिरियाबाट एक हजार अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरेको केही दिनमा नयाँ घटनाक्रम विकसित भएको हो।
सिरियामा जिहादी समूह इस्लामिक स्टेटलाई परास्त गर्ने अमेरिकी अभियानमा कुर्द नेतृत्वको सिरियन डेमक्रेटिक फोर्सेस (एसडीएफ) ले सघाएको थियो।
तर टर्कीले एसडीएफलाई टर्कीविरुद्ध विद्रोहको समर्थन गर्ने "आतङ्कवादी" मान्छ। अमेरिकी सैनिक फर्किएपछि टर्कीले कुर्दहरूलाई लक्षित गर्दै स्थल तथा हवाई आक्रमण थाल्यो।
आलोचना र चिन्ता
टर्कीको आक्रमण र अमेरिकी सेनाको फिर्तीको आलोचना भएको छ।
बीबीसीका मध्यपूर्व सम्पादक जेरमी बोवेन भन्छन्: "अमेरिकाले सेना फिर्ता गरेसँगै सिरिया युद्धले नयाँ रूप लिएको छ। आठ वर्षको सिरिया युद्धले मध्यपूर्वलाई बदलेजस्तै यो साता पनि सिरियाका लागि नयाँ मोड बनेको छ।"

तस्बिर स्रोत, AFP
त्यहाँ सिर्जित अस्थिर अवस्थाका कारण भाग्न सफल भएका सन्दिग्ध आईएस लडाकुहरूका कारण आईएसको पुनरुदय हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।
टर्कीले सीमापारि सिरियामा कुर्दहरूको नियन्त्रण रहेको क्षेत्रमा आक्रमण थालेपछि झन्डै एक लाख मानिसहरू घर छोडेर भाग्न बाध्य भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
अन्य सहायता समूहहरूले झन्डै साढे चार लाख मानिसहरू घर छोडेर भाग्न बाध्य भएको दाबी गरेका छन्।
युरोपेली सङ्घ ईयूका विदेशमन्त्रीहरूले टर्कीलाई गरिने हतियार निर्यात सीमित पार्ने सहमति गरेका छन्।
टर्की के चाहन्छ?
अङ्करा हाल टर्कीमा रहेका ३० लाखभन्दा बढी सिरियाली शरणार्थीलाई पुनर्स्थापित गराउन चाहन्छ। तीमध्ये धेरैजसो गैरकुर्द छन्।
कतिपय आलोचकहरूले टर्कीको कदमबाट स्थानीय कुर्दहरूको जातीय नरसंहार हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
कुर्द नेताहरूले पनि आफ्नो नरसंहार हुनुभन्दा असदसँग 'पीडादायी सम्झौता' गर्नुपरेको बताएका छन्।
टर्कीका राष्ट्रपतिले अहिलेसम्म २१ गाउँसमेत १०९ वर्ग किलोमिटर क्षेत्र आफ्नो नियन्त्रणमा लिइसकिएको आइतवार बताएका थिए।
बीबीसीका संवाददाता जनथन मार्कुसका भनाइमा पूर्वोत्तर सिरियाको सङ्कट व्यावहारिक र राजनीतिक मूल्यमा उत्तर एटलान्टिक सन्धि सङ्घठन (नेटो)को पनि सङ्कट हो।
"यो आक्रमणलाई रोक्न निकै कम काम गरेका ट्रम्पले अहिले टर्कीको अर्थतन्त्र ध्वस्त पार्ने चेतावनी दिइरहेका छन्। जुन एउटा नेटो सदस्यले अर्कोलाई दिएको निकै अर्थपूर्ण अभिव्यक्ति हो।"